युक्रेनको रुसी सेनाको ए–५० जासुसी विमान झारिदिएको दाबी गरेको छ। पाँच हप्तामा युक्रेनले दोस्रो पटक यस्तो दाबी गरेको हो।
जनवरीमा पनि सोही प्रकारको विमान खसाएको दाबी युक्रेनले गरेको थियो।
यसपटक विमान रुसी सहर रोस्तोव अन दोन र क्रास्नादोरको बीचमा खसाइएको युक्रेनको भनाइ छ। सो स्थान लडाइँको मोर्चाबाट २०० किमि टाढा पर्छ।
रुसले सो दाबीबारे कुनै टिप्पणी गरेको छैन।
तर, विमान दुर्घटना भएको रुसी अधिकारीहरुले जनाएका छन्। केही रुसी टेलिग्राम च्यानलले रुस आफैँले भुलवश सो विमान खसाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
रुससँग यस्तो विमान ६ वटा भएको विश्वास गरिन्छ। यो विमानले दुश्मनको हवाई प्रतिरक्षा प्रणाली पत्ता लगाएर रुसी जेटले गर्ने आक्रमणका लागि निसाना तय गर्छ।
विमान बनाउन करोडौँ डलर पर्ने बताइन्छ।
शनिबार रुसले युक्रेनमा आक्रमण सुरु गरेको दुई वर्ष पूरा भएको छ। दुवै पक्षले ठूलो क्षति बेहोरे पनि युद्धको नतिजा के हुने, अझै स्पष्ट भएको छैन। एजेन्सी
Shares
प्रतिक्रिया