ad ad

ग्लोबल


यी हुन् इजरायल र इरानका सबैभन्दा खतरनाक हतियार

यी हुन् इजरायल र इरानका सबैभन्दा खतरनाक हतियार

इजरायली एफ-३५


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १८:११,

गत साता इरानले पहिलो पटक ३ सयभन्दा ज्यादा ड्रोन र क्षेप्यास्त्रद्वारा इजरायलमाथि सोझै हमला गर्‍यो। केहीबाहेक सबै क्षेप्यास्त्र खसाउन इजरायल सफल भए पनि यो अभूतपूर्व आक्रमण थियो।

सिरियामा आफ्नो दूतावासमा इजरायलले हमला गरी सैन्य अधिकारीहरूको हत्या गरेको बदलामा इरानले यो आक्रमण गरेको थियो। जसले पश्चिम एसियामा अनियन्त्रित युद्धको त्रास फैलाएको छ।

त्यसयता शुक्रबार इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको खबर छ। यद्यपि, इरानले त्यसलाई प्रभावहीन भन्दै सामान्य बनाउने कोसिस गरेको छ।

सैन्य शक्ति र हतियारका आधारमा यी दुई मुलुक कति बलिया छन् त?

तुलनात्मक रूपमा हेर्दा, अमेरिकी लगानी रहेको इजरायली सेनाले क्षमता र प्रविधिमा इरानलाई सजिलै पछि पार्छ। इजरायलसँग अत्याधुनिक हवाई शक्ति र हतियार प्रणाली छ भने इरानसँग लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको भण्डार छ। 

तर, आधुनिक हतियार र अमेरिकाको बलियो समर्थन हुँदाहुँदै पनि इरानले युद्ध भएमा इजरायलसामु बलियो चुनौती पेस गर्न सक्छ।

बजेट
इजरायलको रक्षा बजेट इरानको भन्दा झण्डै तीन गुणा बढी छ। २०२३ मा इजरायलले सेनामा १९.२ अर्ब डलर खर्च गरेको थियो। यसको एउटा ठूलै हिस्सा अमेरिकाले दिएको सहयोग थियो।

अर्कोतिर तेहरानले करिब ७.४ अर्ब डलर सेनामा खर्च गरेको थियो।

इरानी सैनिक

सैन्य संख्या
सैन्य संख्यामा भने इरान निकै अघि छ।

इजरायलको नियमित सेना १ लाख ७० हजार जति छ। जबकि इरानसँग ६ लाख १० हजार सैनिक छन्। 

ठूलो युद्ध भए दुवै मुलुकले जगेडा सैनिकलाई अघि सार्नेछन्। इजरायलसँग झण्डै ५ लाख जगेडा सैनिक भएको बताइन्छ। उसको जम्मा जनसंख्या ९५ लाख हाराहारी छ।

इरानको जनसंख्या भने ८.८ करोड छ।

इजरायलको जेरिको २

हतियार
हवाई शक्तिको कुरा गर्दा इजरायलसँग विश्वकै आधुनिक मानिने लडाकु विमान छन्। 

इजरायलसँग जम्मा ३४० वटा विमान छन्। जसमा ३९ वटा एफ–३५ विमान छ। यो पाँचौँ पुस्ताको स्टिल्थ लडाकु विमान हो। इजरायलसँग रहेका अन्य विमानमा एफ–१६ र एफ–१५ हुन्। 

इरानसँग पनि २९० विमान छन्। तर, ती अधिकांश थोत्रा छन्। १९७० र १९८० को दशकका प्रविधिमा आधारित एफ–४, एफ–५ र एफ–१४ विमान इरानसँग छन्।

इजरायलसँग अपाचेलगायत ४० हेलिकोप्टर छन् भने इरानसँग कोब्रालगायत ५० हेलिकोप्टर छन्। ती पनि पुराना प्रविधिकै हुन्।

इरानी एफ-१४

क्षेप्यास्त्र संख्याको हकमा इरान धेरै अगाडि छ। उसँग सो क्षेत्रमै सबैभन्दा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र भण्डार रहेको बताइन्छ। लामो दुरीमा प्रहार गर्नसक्ने ब्यालिस्टिक र क्रुजगरी करिब २ हजार क्षेप्यास्त्र र हजारौँ ड्रोन इरानसँग छ।

इजरायलको लामो दुरीमा मार हान्ने शक्ति कति छ, स्पष्ट छैन। उसको जेरिको नामक ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम एकदम गोप्य राखिएको छ।

आणविक हतियारमा भने इजरायल निकै अघि छ। उसँग करिब ८० आणबिक बम छन्। त्यसमध्ये ३० वटा विमानबाट खसाउने खालका बम हुन् भने ५० वटा जेरिको २ क्षेप्यास्त्रमार्फत प्रहार गरिने। इरान आणविक हतियार विकासका लागि संघर्षरत छ।

इजरायलको आइरन डोम प्रतिरक्षा प्रणाली

त्यसबाहेक, इजरायलसँग दुनियाँकै सफल मानिने हवाई प्रतिरक्षा प्रणाली छ। जसमा आइरन डोम, डेविड्स स्लिङ, एरो र प्याट्रियट सिस्टम पर्छन्। यिनै प्रणालीका सहयोगमा इजरायलले गतसाताको आक्रमणलाई निस्तेज तुल्याएको थियो।

स्थलशक्तिको कुरा गर्दा इजरायलसँग ४०० ट्यांक छन्। त्यस्तै युद्धमा प्रयोग गर्न मिल्ने ८०० बख्तरबन्द सवारी र इन्फेन्ट्री भेइकल छन्। त्यसका अलावा १७० तोप पनि इजरायलसँग छ।

अर्कोतिर इरानसँग करिब १६ सय ब्याटल ट्यांक, १२ सय ५० इन्फेन्ट्री भेइकल र २ हजार तोप रहेको बताइन्छ।

नौसैनिक शक्तिको कुरा गर्दा इजरायलसँग ५१ वटा साना युद्धपोत छन् भने इरानसँग २०० वटा। 

इरानी ब्यालिस्टिक क्षेप्यास्त्र

समग्रमा संख्यामा इरानसँग ज्यादा हतियार भए पनि प्रविधि इजरायलको चुस्त छ। गुणस्तरका हिसाबले हरेक क्षेत्रमा इजरायलले इरानलाई पछि पारेको देखिन्छ। त्यस्तै, इजरायललाई अमेरिकाको भर छ। नभए आणविक हतियारको धम्की दिएर पनि उसले अमेरिकी सहयोग हात पार्न सक्ने देखिन्छ।

इरानसँग रहेको सैन्य शक्ति र हतियार पनि कम होइन। उसलाई हेजबुल्लाहजस्ता समूहहरूको सहयोग पनि रहनेछ। तर, आमनेसामने युद्धका हकमा इजरायल बलियो देखिन्छ। (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .