ग्लोबल


‘सफ्ट पावर’का भरमा मुलुकको हैसियत उचालेका चलाख राजा

‘सफ्ट पावर’का भरमा मुलुकको हैसियत उचालेका चलाख राजा

कतारी राजा शेख तमिम बिन हमाद अल थानी (तस्बिर : एपी)


नेपालखबर
बैशाख ११, २०८१ मंगलबार ७:५,

विषम छिमेकमा एउटा सानो मुलुकलाई कसरी जीवित राख्ने? त्यो मुलुकको श्रीवृद्धि कसरी गर्ने? यसको उत्तर कतारी राजा शेख तमिम बिन हमाद अल थानीलाई भन्दा ज्यादा अरु कसलाई थाहा होला! जो मंगलबार दुई दिने नेपाल भ्रमणमा आउँदैछन्। 

उनलाई मध्यपूर्वकै सबैभन्दा चलाख शासक भन्नेहरू पनि छन्। 

नभनून् पनि किन? साउदी अरब र इरानजस्ता दुईतिर मुख फर्काएका शक्तिशाली मुलुकको माझमा बसेर उनले आफ्नो मुलुकलाई क्षेत्रीय खेलाडी बनाएका छन्। यी दुईको बीचमा जीवित रहनु छ भने विश्वमञ्चमा कतारको हैसियत उच्च हुनुपर्छ भन्ने उनलाई थाहा छ। अझ छिमेकीहरूले नै लगाएको वर्षौं लामो नाकाबन्दी बेहोरेपछि उनले त्यति कुरा बुझ्ने नै भए।

भिडिओ

र, यसैलाई नै उनले आफ्नो मूल मन्त्र बनाएको देखिन्छ। देशको सम्बन्ध र हैसियत विस्तार गर्नै कतारले विश्वकप आयोजनादेखि द्वन्द्वमा मध्यस्थतासम्मका काम गर्दै आएको छ। करिब २७ लाख जनसंख्या भएको कतार कूटनीतिक हिसाबले यति प्रभावशाली छ कि विश्वको जतिसुकै पुराना द्वन्द्वमा पनि मध्यस्थता गर्न पुगिरहेको हुन्छ।

बेलायत पढेका
उनी कतारको राजधानी दोहामा १९८० मा जन्मिएका थिए। उनी यसअघिका राजा शेख हमाद बिन खलिफा अल थानीका तीनमध्ये दोस्री पत्नी शेख मोजाहबाट जन्मेका छोरा हुन्। शेख मोजाह सो क्षेत्रकै सबैभन्दा प्रभावशाली महिलामध्ये एक हुन्। 

तमिमले बेलायतको सेरबोर्न स्कुलमा पढेका थिए। सो स्कुलको एक मात्र विदेशी ब्रान्च अहिले दोहामै छ।

हाइस्कुल पास गरेपछि आफ्नो बाबुको पदचाप पछ्याउँदै उनले बेलायती सैन्य एकेडेमी स्यान्डहर्स्टमा अध्ययन गरे। १९९८ मा अध्ययन पूरा गरी घर फर्केपछि उनले कतारी सेनामा काम गरे।

उनका जेठा दाजु जासिमले गद्दीमा दाबी छाडेपछि २००३ मा तमिम राजा बन्ने निश्चित भएको थियो। 

त्यसपछिको दशकमा उनले एकपछि अर्को महत्त्वपूर्ण पदमा रहेर काम गरे। अर्थतन्त्र, कूटनीति र राष्ट्रिय सुरक्षा लगायतका क्षेत्रमा उनले काम गरे। 

२००९ मा उनी सेनाको उपकमान्डर तोकिए। 

मात्र ३३ वर्षको उमेरमा उनी २०१३ मा कतारको आमिर बने। उनका बुवाले नयाँ पुस्ताका लागि ठाउँ छाड्ने भन्दै गद्दी त्यागेका थिए। खाडीका राजाहरूको नमरुञ्जेल गद्दीमा बस्ने परम्परा उनले तोडेका थिए। 

मध्यपूर्वको राजनीति एकदम जटिल छ। उनले सो क्षेत्रमा प्रभाव राख्ने पश्चिमी शक्तिहरूसँग निकटता राख्नुपर्ने हुन्छ। अर्कोतिर, पश्चिमा खेमाबाट प्रताडित विभिन्न सशस्त्र समूहलाई पनि कतारले आश्रय र सहायता दिँदै आएको छ।

पश्चिमाहरूसँगको सम्बन्ध कायम राख्नमा उनलाई बेलायतको पढाइले सघाएको छ। तमिमले आफ्नो मुलुकलाई प्रगतिशील रुपमा खुलापन अपनाउँदै गएको मुलुकका रुपमा चित्रित गरेका छन्।

तर, मुलुकमा उनले आन्तरिक शक्ति बाँडफाँट गरेका छैनन्। मुख्यमुख्य पदमा अल थानी परिवारको पकड छ।

नाकाबन्दीको सामना
२०१४ मा साउदी अरब, यूएई र बहराइनले कतारको विदेशनीतिमा असहमति जनाउँदै आआफ्ना राजदूत फिर्ता बोलाए। कतारले मुस्लिम ब्रदरहुडसँग सम्बन्ध राखेकोमा उनीहरूको आपत्ति थियो। 

२०१७ मा यी मुलुकका साथै इजिप्टले समेत कतारसँगको सम्बन्ध तोड्दै नाकाबन्दी लगाए।

तर, नाकाबन्दीलाई निष्प्रभावी बनाउन कतार सफल भयो। उसले तुरुन्तै व्यापार मार्ग परिवर्तन गर्‍यो। तमिमले टर्की, इरान, कुवेत र ओमानतर्फबाट व्यापार बढाए। २०१८ र २०१९ को गल्फ कोअपरेसन काउन्सिलको बैठकमा उनी गएनन्। २०१९ मा त उनले कतारलाई ओपेकबाट निकाले। जुन समूहको कतार १९६१ देखि सदस्य थियो। 

तर, तमिम २०२१ मा काउन्सिलको बैठकमा फर्किए र छिमेकीहरूसँग सम्बन्ध पुनर्स्थापना गरे। अनि नाकाबन्दी हट्यो।

सफ्ट पावर विस्तार
राजकुमार छँदै तमिमले कतारको अन्तर्राष्ट्रिय हैसियत बढाउने प्रयास गरेका थिए। उनले ठुल्ठूला खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै ठूला टिम पनि खरिद गरेका थिए। २००६ को दोहामा भएको एसियन गेम्सको आयोजक समिति अध्यक्ष उनै थिए। २०३० मा फेरि एसियन गेम्स दोहा फर्किंदै छ।

२०११ मा उनले फ्रान्सेली फुटबल क्लब पीएसजी किने। जसमा पछि गएर लियोनल मेस्सी, नेयमार र एम्बाप्पेजस्ता विश्वप्रसिद्ध खेलाडीहरूले खेले।

तर, उनको सबैभन्दा ठूलो उपलब्धि भने २०२२ को विश्वकप फुटबल नै थियो। जसलाई विश्वकै सबैभन्दा महँगो विज्ञापन अभियानका रुपमा लिने गरिन्छ।

विश्वकप आयोजना गर्न पाए कतारको छवि चम्किने र छिमेकका प्रतिस्पर्धीसामु आफ्नो हैसियत अझ बलियो हुने तमिमको अपेक्षा थियो। त्यस्तै, यसले मुलुककै कट्टरपन्थीहरूलाई पनि शान्त पार्ने थियो, जो पश्चिमबाट भइरहेको आलोचनाका कारण क्रुद्ध थिए।

नभन्दै कतार विश्वकप सफल भयो। मानव अधिकार उल्लंघन, महिला र लैंगिक अल्पसंख्यकमाथिको उत्पीडनजस्ता मुद्दाबाट विश्वको ध्यान हट्यो।

विश्वकपले विश्वका अर्बौं मानिससामु कतारको आकर्षक तस्बिर प्रस्तुत गर्‍यो। तर, सो क्षेत्रको शक्ति सन्तुलन बदल्ने काम भने उनका बुवाले नै गरेका थिए, १९९० को दशकमा। उनले अरबको सबैभन्दा सानो मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाएका थिए।

१९९६ मा राजा भएपछि उनले प्राकृतिक ग्यासको उत्पादन वृद्धि गरे। १९९७ मा सो ग्यास निर्यात गर्न थाले। अहिले कतार प्रतिव्यक्ति आयका हिसाबले विश्वकै धनी मुलुक मानिन्छ। २०२२ मा सो मुलुकको प्रतिव्यक्ति आय ८७ हजार डलर थियो।

१९९६ मै उनले अल जजिरा स्थापना गरे। जसले सो क्षेत्रमा कतारको विस्तार गर्न सघायो।

तमिमको सफलताले अल थानी वंशको पकड झनै बलियो भएको छ। जसका सदस्य करिब २ हजार जना रहेको बताइन्छ। उनीहरूको सम्पत्ति ३३५ अर्बभन्दा ज्यादा रहेको अनुमान गरिन्छ। राजा एक्लैको २ अर्ब डलरभन्दा ज्यादा छ। उनी विश्वका आठौँ धनी राजा मानिन्छन्।

यो परिवारले विश्वभर लगानी गरेको छ। लन्डनको सार्ड टावर, ह्यारड्स डिपार्टमेन्टल स्टोर, चेल्सी ब्यारेक नामक रियल स्टेट परियोजनादेखि न्युयोर्कको एम्पाएर स्टेट बिल्डिङमा पनि यो परिवारको लगानी छ। त्यस्तै बार्क्लेज ब्यांक, ब्रिटिस एयरवेज र फक्सवागनमा पनि शाही परिवारको सेयर छ।

तीन जनासँग विवाह गरेका तमिमका १३ सन्तान छन्। विलासी जीवन बाँच्ने उनी १ अर्ब डलरको दरबारमा बस्छन्। 

कतारी जनसंख्याका करिब १५ प्रतिशत हिस्सा मात्र सोही मुलुकका मानिस हुन्। अरु विदेशीहरू हुन्, जो कतारमा काम गर्न आएका हुन्। उनीहरूलाई बराबर अधिकार दिइएको छैन।

विश्वकप २०२२ नजिकिँदै गर्दा कतारसँगसँगै नेपालको नाम पनि विश्वका सञ्चारमाध्यममा छाएको थियो। कतार विश्वकपका लागि पूर्वाधार तयार गरिँदै गर्दा ज्यान गुमाउने श्रमिकहरू नेपाली थिए। तिनलाई पर्याप्त सुरक्षाबिनै काममा लगाइएको थियो। 

कतारको श्रीवृद्धिमा नेपाली श्रमिकको रगत र पसिना बगेको छ। तसर्थ यो भ्रमणमा नेपालका अपेक्षाहरूलाई सम्बोधन गर्नु कतारी राजाको कर्तव्य हुनजान्छ, खासगरी कतारमा नेपाली श्रमिकको अवस्था सुधार्ने सवालमा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .