हालै भारतका जेडीएस सांसद हसन प्रज्वल रेवन्नाले धेरै जना महिलालाई यौन उत्पीडन गरेको भिडिओ सार्वजनिक भए र ती कर्नाटकभर फैलिए।
यो कुरा बाहिर आएपछि रेवन्नालाई पार्टीबाट निष्कासन गरी अनुसन्धानका लागि एसआईटीको जिम्मा लगाइएको छ।
भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसका अनुसार सार्वजनिक भिडिओबाट आफ्नो परिचय खुलेपछि पीडित महिलाहरूलाई आफ्नै गाउँ-सहरमा बस्न गाह्रो भएको छ। जसका कारण उनीहरू परिवारसहित घर छाड्न बाध्य भएका छन्।
रिपोर्टका अनुसार, हसन जेडीएस सांसद प्रज्वल रेवन्नाले यौन उत्पीडनको आरोप लगाएका धेरै महिलाले आफ्ना भिडिओ क्लिप भाइरल भएपछि पछिल्ला १० दिनमा आफ्ना घर छाडेका छन्। ती महिला हसन जिल्लाका हुन्।
हसन जेडीएसको गढ हो र प्रज्वल रेवन्ना पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाति हुन्। यसपटक पनि उनी हसन सिटबाट चुनाव लड्दै छन्।
प्रज्वलले अप्रिल २६ मा हासनमा मतदान गरेलगत्तै देश छाडेपनि उनका बुबा तथा होलेनरसीपुरका विधायक एचडी रेवन्नालाई पक्राउ गरिएको छ।
महिला अपहरणको मुद्दामा पक्राउ परेका उनी महिलालाई एसआईटीमा जानबाट रोक्न खोजेको आरोप छ।
‘थाहा छैन, ती महिला फर्किन सक्छन् कि सक्दैनन्’
भिडिओ क्लिप फैलिएर महिलाको परिचय खुल्न थालेपछि धेरै परिवारले हसन जिल्ला छाडेका छन्।
जब एसआईटी टोली रेवन्नाको निवासमा पुग्यो, बाहिर जम्मा भएका पार्टी कार्यकर्ताहरूले महिलाबारेमा कुरा गरेको सुनिन्थ्यो।
एक जनाले भने, ‘म यी महिलालाई चिन्छु, उनी हाम्रो घर नजिकै बस्छिन् र जेडीएस कार्यमा धेरै सक्रिय थिइन्। उनको घरमा ताला लगाइएको छ। उनका साना बच्चाहरू छन्।’
अर्कोले भन्यो, ‘उनी मेरा छिमेकीकी आफन्त हुन् र हाम्रो पारिवारिक समारोहमा पनि सहभागी भएकी थिइन्।’
एक पसलले भने, ‘महिलाको परिचय खुलाउनु साँच्चै गलत थियो। तीमध्ये म केहीलाई चिन्छु, जो लुकेका छन्। थाहा उनीहरू फर्किन सक्छन् कि सक्दैनन्? यो परिवारले मुद्दा दर्ता गर्न पनि चाहेको थिएन, किनकि रेवन्ना परिवारसँग मुद्दा लड्दा हसनमा बस्न असम्भव छ।’
Shares
प्रतिक्रिया