लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वी बेका उपत्यकामा इजरायली आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको जनाएको छ। जसमा दुई बालबालिका पनि छन्।
यो क्षेत्र हिजबुल्लाहको गढ हो। स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका १२ स्थानमा भएका आक्रमणमा ५८ जना घाइते भएका छन्।
इजरायली सेनाका तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।
गत पाँच हप्तामा इजरायलले लेबनानका विभिन्न क्षेत्रमा हजारौं हवाई आक्रमण गरेको छ। यसले हिजबुल्लाहका आधार, पूर्वाधार र हतियारलाई निशाना बनाएको बताएको छ।
इजरायल र प्यालेस्टिनी समर्थक हिजबुल्लाहबीच २०२३ अक्टोबर ८ देखि लेबनानको सीमानामा द्वन्द्व चलिरहेको छ। यस दिन लेबनानी सशस्त्र समूह हिजबुल्लाहले लेबनानसँग जोडिएको उत्तरी इजरायलमा रकेट प्रहार गरेको थियो।
त्यसको एक दिनअघि २०२३ अक्टोबर ७ मा हिजबुल्लाहको सहयोगी हमासले दक्षिणी इजरायलमा ठूलो हमला गरेको थियो।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा लेबनानमा इजरायली हमलामा २६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी घाइते भएका छन्।
Shares

प्रतिक्रिया