ग्लोबल


यी हुन् ट्रम्पका रक्षा र विदेशमन्त्रीका प्रमुख दाबेदार

यी हुन् ट्रम्पका रक्षा र विदेशमन्त्रीका प्रमुख दाबेदार

रिचर्ड ग्रेनेल, टम कटन र माइक पोम्पेओ


नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १८:२४,

चुनाव जितेपछि डोनाल्ड ट्रम्पको अबको प्रमुख काम क्याबिनेटका उच्च पदमा नियुक्तिको टुंगो लगाउनु हुनेछ। जसको तयारी उनको टिमले सुरु गरिसकेको छ।

अघिल्लोपालि राष्ट्रपति हुँदा ट्रम्पले आफ्नो वरिपरि व्यावसायिक हस्ती, वाल स्ट्रिटका कार्यकारीहरू र पूर्वजर्नेलहरूलाई राखेका थिए। तीमध्ये धेरैलाई सरकार चलाएको अनुभव थिएन। त्यसैले कतिपय बीचमै पद छाडेर हिँड्न बाध्य भए। 

ट्रम्पले फेरि पनि वासिङ्टनका भित्रियाहरूलाई पाखा लगाएर मन्त्रीहरू छान्ने सम्भावना छ। तर, आप्रवासीहरूको सामूहिक निकालाजस्ता अप्ठ्यारा कार्यक्रम लागू लगाउने बेलामा पनि आफूप्रति वफादार रहने मान्छे छान्नु उनका लागि चुनौती हुनेछ। 

खासगरी ट्रम्पले रक्षा र कूटनीतिको नेतृत्व सम्हाल्न कसलाई रोज्लान् भन्ने चासो बढी छ। 

विदेशमन्त्रीमा मुख्य दाबेदार रिक ग्रेनेल मानिन्छन्। उनले विदेशमन्त्री बन्ने इच्छा व्यक्त गर्दै आएका छन्। उनी अघिल्लोपालि ट्रम्पको प्रशासनमा नेसनल इन्टेलिजेन्स डाइरेक्टर थिए। सञ्चारमाध्यमसँग झगडा मोल्ने व्यक्तिका रुपमा परिचित उनी ट्रम्पको बचाउमा खरो रुपमा प्रस्तुत हुने गर्छन्।

रिचर्ड ग्रेनेल

सो पदका अन्य दाबेदारहरूमा टेनिसीका सिनेटर बिल हेगर्टी र ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेन हुन्। 

ट्रम्पका वफादार कास पटेल उनको राष्ट्रिय सुरक्षा सल्लाहकार बन्न सक्ने चर्चा पनि छ। 

रक्षामन्त्रीमा भने अरकान्सका सिनेटर टम कटन मुख्य दाबेदार हुन्। सेनाका पूर्वअधिकारी उनले इराक र अफगानिस्तानको युद्धमा सहभागिता जनाएका थिए।

त्यस्तै सो पदका लागि फ्लोरिडाबाट प्रतिनिधि सभा सदस्य माइक वाल्ज, ट्रम्पका पूर्वविदेशमन्त्री माइक पोम्पेओ र पहिले भेटरान अफयर्स मन्त्रालय सम्हालेका रोबर्ट विल्की पनि दाबेदार मानिन्छन्।

माइक पोम्पेओ

यसका अलावा आफैँ राष्ट्रपति पदमा उठेका तर पछि ट्रम्पलाई समर्थन गरेका रोबर्ट केनेडी जुनियरले स्वास्थ्य सेवा सम्हाल्ने सम्भावना छ। यद्यपि, उनी खोपविरोधी अभियन्ता पनि हुन्। 

आर्थिक मामिलाको नेतृत्वमा भने दुई हेज फन्ड म्यानेजरको प्रतिस्पर्धा छ। कि स्क्वायर क्यापिटल म्यानेजमेन्ट चलाइरहेका स्कट बेसेन्ट र अर्बपति जोन पौलसन दुवैले ट्रम्पको आयातमा कर थप्ने योजनालाई समर्थन गरेका छन्।

केनेडी जुनियर

त्यस्तै फेडेरल रिजर्भको नेतृत्वमा यसअघि ट्रम्पको आर्थिक सल्लाहकार परिषद प्रमुख रहेका केभिन ह्यासेटको दाबेदारी छ। 

ट्रम्पको चिफ अफ स्टाफमा भने सुजी वाइल्सको नाम चर्चामा छ। ६७ वर्षीया वाइल्सले यसपालि ट्रम्पको चुनावी अभियानको नेतृत्व गरेकी थिइन्।

यसका अलावा ट्रम्पका सन्तानले पनि यो प्रशासनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। अघिल्लो पालि उनकी छोरी इभान्का र ज्वाइँ जारड कुस्नरलाई उनले सल्लाहकार बनाएका थिए।

ट्रम्पका छोराबुहारी

तर, गत वर्ष नै ट्रम्पले आफ्ना सन्तानलाई आफ्नो दोस्रो कार्यकालमा कुनै नियुक्ति दिन नचाहेको बताएका थिए। सोही कारण इभान्का र जार्ड यसपालि राजनीतिबाट टाढै छन्।

तर, उनका दुई छोरा डोनाल्ड जुनियर र एरिकले चुनावी अभियानमा महत्त्वपूर्ण भूमिका खेले। एरिककी पत्नी लाराको त अमेरिकी राजनीतिमा ठूलो प्रभाव छँदै छ। किनकि उनी रिपब्लिकन पार्टीकी सहअध्यक्ष हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad