ग्लोबल


युनले आत्मघाती गोल गर्दा लीको उदायो भाग्य

दुर्घटना, आमरण अनशन र छुरा प्रहारपछि ली अब राष्ट्रपतिको दाबेदार
युनले आत्मघाती गोल गर्दा लीको उदायो भाग्य

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १८:५८,

दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको महाभियोगले उनका राजनीतिक प्रतिद्वन्द्वी ली जे म्युङलाई सत्तामा पुग्ने बाटो सहज बनाइदिएको छ।

शनिबार आफ्नै दलका केही सांसदहरूले युनविरुद्ध महाभियोगको पक्षमा मत दिएका थिए। यससँगै अबको राष्ट्रपतिको प्रमुख दाबेदारका रूपमा विपक्षी नेता ली उदाएका छन्।

यो लीको भाग्यमा देखिएको नाटकीय परिवर्तन हो। किनकि मुलुकको सर्वोच्च पदमा पुग्ने उनको आकांक्षा हालै मात्र चकनाचूर भएका थियो। गत महिना निर्वाचन कानुन उल्लंघन गरेको भन्दै उनलाई निलम्बित जेल सजाय सुनाइएको थियो। लीको अपिल खारेज भए उनलाई राष्ट्रपतिको उम्मेदवार बन्न बाधा पर्न सक्छ।

पुराना श्रमिक नेता लीले जीवनमा अनेक संकट बेहोरेका छन्। उनीमाथि भ्रष्टाचार आरोप लागेको थियो, उनी आमरण अनशन बसेका थिए, कारखानामा घाइते भएका थिए र उनीमाथि छुरा समेत प्रहार भएको थियो। यी सबका बाबजुद उनले चुनौतीलाई जित्दै आएका छन्।

‘युनको आत्मघाती गोलले लीलाई पुनर्जीवजन दिएको छ,’ योन्सेइ युनिभर्सिटीका प्राध्यापक चोइ योङ जुन भन्छन्, ‘ली निस्सन्देह युनलाई विस्थापित गर्ने सबैभन्दा प्रमुख दाबेदार हुन्।’

लीले सो फैसलाविरुद्ध अपिल गरेका छन्। जसले उनलाई अग्रिम राष्ट्रपति निर्वाचनमा भाग लिने मौका दिनेछ। तर, चुनाव तब मात्रै हुन्छ, जब संवैधानिक अदालतले महाभियोग सही ठहर्‍याउँदै युनलाई बर्खास्त गर्छ। यो प्रक्रियामा केही सातादेखि महिनौँसमेत लाग्न सक्छ।

लीलाई पुनर्जीवन भने युनले दिए, जब उनले डिसेम्बर ३ का दिन दुनियाँलाई छक्क पार्दै मुलुकमा जंगी शासन लगाउने घोषणा गरे। दक्षिण कोरियामा ४० वर्षयता पहिलोपटक सैनिक शासन लगाउने प्रयास भएको थियो। युनले हेलिकोप्टरमा सैनिकहरू संसदमा पठाए। तर, करिब १९० सांसद संसद पुगेर सो घोषणालाई रोक्ने पक्षमा एकमतले मतदान गरे। ६ घण्टापछि सैनिक शासन अन्त्य भयो।

युनको यस्तो कदमले दसौँ लाख दक्षिण कोरियाली क्रुद्ध भए। दशकौँ लामो सैनिक शासनलाई आन्दोलनको बलमा फालेर बलियो लोकतन्त्र निर्माण गरेकोमा गर्व गर्ने दक्षिण कोरियालीहरू सैनिक शासन फर्काउने प्रयासबाट आक्रोशित हुनु स्वाभाविक थियो। 

आगामी राष्ट्रपतीय निर्वाचनमा उठे भने लीले यही लोकतन्त्रवादी भावनाका बलमा चुनाव जित्ने विश्लेषण भइरहेको छ। २०२२ मा युनसँग झिनो मतान्तरले उनी पराजित भएका थिए। 

अहिले चुनाव भए लीले सजिलै जित्ने सर्वेक्षणहरूले देखाएका छन्। उनले ३७ प्रतिशतको मत पाउँदा सत्तारुढ दल पीपीपीका नेता हान दोङ हुनले मात्र ७ प्रतिशत मत पाएका छन्।

कामदार वर्गको परिवारमा हुर्किएका लीले किशोरावस्थामा कारखानामा काम गरे। जहाँ मेसिनमा चेपिँदा उनको बायाँ हात सधैँका लागि बांगो भयो। 

२००५ मा उनी राजनीतिमा प्रवेश गरे र २०१० मा सोङनामको मेयर भए। त्यहाँ कुकुर मार्ने ठाउँ बन्द गराएको र सामाजिक कल्याणका कार्यक्रम वृद्धि गरेको जस उनलाई दिइन्छ। निशुल्क स्कुल पोसाक र खानाको नीति लोकप्रिय भयो र दोस्रो पटक उनी निर्वाचित भए। तर, कतिपयले पपुलिस्ट बनेको भन्दै उनको आलोचना पनि गरे।

उनले २०१६ को एक अन्तर्वार्तामा आफू जनताको इच्छा पूरा गर्ने विनम्र सेवक भएको बताएका थिए। त्यो वर्ष उनले तत्कालीन राष्ट्रपति पार्क ग्युन हेलाई हटाउने अभियानको नेतृत्व गरे। तर, राष्ट्रपतिको उम्मेदवारीका लागि डेमोक्र्याटिक पार्टीमा मुन जे इनसँग भिड्दा पराजित भए।

निम्न वर्गीय पृष्ठभूमिका बाबजुद उनको अमेरिकाका डोनाल्ड ट्रम्पसँग तुलना हुने गरेको छ। राजनीतिक सम्भ्रान्तहरूप्रति तिरस्कार भाव राख्ने उनको यही जनवरीमा घाँटीमा छुरा प्रहार भएको थियो। उनी सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्न रुचाउँछन्।

सैन्य शासन घोषणा भएको रात आफू संसद् भवनको पर्खाल नाघेर भित्र पस्दै गरेको दृश्य उनले प्रत्यक्ष प्रशारण गरेका थिए।

तर, ली आफूलाई अमेरिकी प्रगतिशील नेता बर्नी स्यान्डर्ससँग दाँज्ने गर्छन्। आयमा रहेको असमानताको उनले आलोचना गर्दै आएका छन्। उनले दक्षिण कोरियालाई सबैलाई आधारभूत आयको व्यवस्था गर्ने पहिलो एसियाली मुलुक बनाउन जोड गरेका छन्।

विदेशनीतिमा पनि उनले उत्तर कोरियाप्रति नरम नीति अख्तियार गर्ने सम्भावना छ। 

युनको नीतिको विरोधमा उनी गत वर्ष २४ दिने भोक हड्तालमा बसेका थिए। 

युनविरुद्धको महाभियोगमा संवैधानिक अदालतले १८० दिनमा फैसला गर्नुपर्छ। २०१७ मा राष्ट्रपति पार्कलाई हटाउने फैसला गर्न सो अदालतलाई ९१ दिन लागेको थियो।

फैसलाको ६० दिनभित्र राष्ट्रपतीय निर्वाचन हुनुपर्छ। 

राष्ट्रपति भए भने लीविरुद्धको मुद्दा थाती रहनेछ। ब्लुमबर्ग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad