दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरु गरेको छ। संसदका दुई तिहाइ सदस्यले महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि युन निलम्बित भएका छन्।
अब यो अदालतले ६ महिनाभित्र युनलाई पदबाट हटाउने कि बहाल गर्ने भनेर निर्णय दिनुपर्ने छ।
सुनुवाइमा लामो समय लाग्न सक्ने भए पनि अदालतलाई चाँडो सक्न दबाब छ। किनकि त्यतिञ्जेल मुलुक राजनीतिक अनिश्चितताको भुमरीमा रहने छ।
प्रदर्शनकारीहरूले सुनुवाइ चलिरहँदा पनि युनलाई हटाउन दबाब दिइरहने बताएका छन्।
विगतमा दुईपटक राष्ट्रपतिविरुद्ध महाभियोग लाग्दा संवैधानिक अदालतले एकजनालाई पदमा थमौती गरिदिँदा एकजनालाई बर्खास्त गरिदिएको थियो।
अर्कोतिर अदालतमा ९ जनामध्ये हाल ६ जना मात्र न्यायाधीश छन्। ३ जना हालै अवकाश भएका छन्। तर, अदालतले ६ जनाले नै सुनुवाइ गर्न सक्ने भन्दै २७ डिसेम्बरको तारिख दिएको छ।
अदालतले युनलाई हटाउने फैसला गरे त्यसको ६० दिनभित्र राष्ट्रपतीय चुनाव गरिसक्नु पर्छ। त्यतिञ्जेलका लागि प्रधानमन्त्री हान दक सु कार्यवाहक राष्ट्रपति बनेका छन्।
युन आफैँ अदालतमा हाजिर हुन्छन्, हुँदैनन् स्पष्ट छैन। सरकारी वकिलहरूले सोधपुछका लागि आइतबार उनलाई बोलाएका थिए। तर, उनी गएनन्।
यो साताभरि उनी हाजिर नभए प्रहरीले उनलाई पक्रिन सक्छ।
उता, युनको दल पीपीपीमा भाँडभैलो देखिएको छ। सोमबार सो पार्टीका प्रमुख हान दोङ हुनले राजीनामा दिएका छन्। पार्टीको सर्वोच्च परिषदका पाँचैजनाले राजीनामा दिएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया