ग्लोबल


ट्रम्पले ग्रिनल्यान्ड किन्न सक्छन्? किन चाहियो उनलाई यो टापु?

ट्रम्पले ग्रिनल्यान्ड किन्न सक्छन्? किन चाहियो उनलाई यो टापु?

जनवरी ७ मा ट्रम्पपुत्र ग्रिनल्यान्ड पुगेका थिए


नेपालखबर
पुस २७, २०८१ शनिबार १०:५५,

डोनाल्ड ट्रम्पले हालै ग्रिनल्यान्ड कब्जा गर्न सेना परिचालनसमेत गर्न सकिने संकेत गरे। 

यो आर्कटिक टापुमा दोस्रो विश्वयुद्धपछि नै अमेरिकी सैन्य अखडा कायम छ। त्यति हुँदाहुँदै ट्रम्पलाई ग्रिनल्यान्ड किन चाहिएको हो त?

यो प्रश्नको जवाफ हो– भूराजनीति, सुरक्षा र आर्थिक फाइदा।

डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्डमा मात्र ५७ हजार बासिन्दा छन्। तर, डेनमार्कभन्दा ग्रिनल्यान्ड ५० गुणा ठूलो छ। 

यसको भूरणनीतिक महत्त्व पनि अत्यधिक छ। त्यही भएर नै यहाँ डेनमार्कको भन्दा अमेरिकाको सैन्य उपस्थिति ज्यादा छ।

ग्रिनल्यान्डमा डेनमार्कले ७५ सैनिक, केही जहाज र कुकुरले तान्ने स्लेड अनि एउटा निगरानी विमान तैनाथ गरेको छ। 

तर, ग्रिनल्यान्डको उत्तरी भेगमा पिटुफिक स्पेस बेसमा २ सय अमेरिकीका साथै उसका सहयोगी मुलुकका ४५० सैनिक छन्। जहाँ अमेरिकाको क्षेप्यास्त्र चेतावनी प्रणाली, अन्तरिक्ष निगरानी र स्याटलाइट कमान्ड समेत छ।

उत्तर ध्रुवबाट मात्र १५ सय किमिको दूरीमा रहेको यो अमेरिकी अखडाले ग्रिनल्यान्ड अमेरिकाको सुरक्षाका लागि कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ। 

‘अमेरिकाका लागि आर्कटिकमा चिनियाँ र रुसी चासो समस्या हो। अमेरिकाले आर्कटिकलाई भूराजनीतिक प्रतिस्पर्धाको थलोको रुपमा लिन थालेको छ। ग्रिनल्यान्डबाट अरु महाशक्तिलाई बाहिर राख्नु अमेरिकाका लागि महत्त्वपूर्ण छ,’ डेनिस इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका अध्येता मिकेल रुन्ज ओलेसेनको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ।

जलवायु परिवर्तनले आर्कटिकको हिउँ पग्लिँदै जाँदा यो ठाउँको भूरणनीतिक महत्त्व झनै बढ्दै गएको छ। जसका कारण यहाँबाट नयाँ व्यापार मार्ग खुल्ने छन्, जसले अमेरिका, चीन र रुसबीच यहाँ नयाँ खालको टक्करलाई जन्म दिँदैछ।

२०१९ मा पहिलोपटक ट्रम्पले आर्थिक पक्षलाई जोड दिँदै ग्रिनल्यान्ड किन्ने प्रस्ताव गरेका थिए। अहिले उनको ध्यान फेरिएको छ।

‘राष्ट्रिय सुरक्षाका कारण ग्रिनल्यान्ड हामीलाई चाहिएको छ,’ गत मंगलबार उनले भने।

त्यसमाथि, ग्रिनल्यान्डमा ठूलो खनिज र तेल भण्डार रहेको पनि बताइन्छ। सोहीकारण ट्रम्प जसरी पनि ग्रिनल्यान्ड हात पार्न चाहन्छन्।

त्यसका लागि उनीसँग के कस्ता विकल्प छन् त?

किन्ने
जानकारहरुका अनुसार ट्रम्पको वरिपरिका मान्छेहरुले ग्रिनल्यान्ड अमेरिकाको हिस्सा हुनेगरी कुनै सम्झौता हुने विषयमा गम्भीरतापूर्वक सोच्न थालेका छन्।

‘मलाई लाग्दैन यो कुरा असम्भव छ,’ ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा परिषदको चिफ अफ स्टाफ रहेका एलेक्स ग्रेको भनाइ पोलिटिकोले उधृत गरेको छ।

उनले यसको उदाहरण पनि दिए। १७ औँ शताब्दीमा डेनमार्कले फ्रान्सबाट सेन्ट क्रोइ किनेको थियो। सो स्थानलाई १९१६ मा अमेरिकाले किन्यो। जुन अहिले भर्जिन आइल्यान्ड्सको हिस्सा छ।

तर, ग्रिनल्यान्ड किन्न सकिने भए पनि त्यहाँका थुप्रै बासिन्दामा अमेरिकाको हिस्सा बन्ने चाहना नहुन सक्छ। ग्रिनल्यान्डका प्रधानमन्त्रीले यो टापुलाई स्वतन्त्र बनाउन जोड दिइरहेका छन्। उनले ग्रिनल्यान्ड बिक्रीमा नरहेको बताएका छन्।

कब्जा गर्ने
ट्रम्पले सैन्य आक्रमणको सम्भावना नकारेका छैनन्। तर, त्यसले विश्वमा खलबली निम्त्याउनेछ।

‘त्यो त सद्दाम हुसेन वा पुटिनको शैली भयो,’ अमेरिकी विदेश मन्त्रालयमा लामो समय कानुनी सल्लाहकार रहेका ब्रायन फिनुकेन भन्छन्, ‘ट्रम्प राष्ट्रपति हुँदै छन्। त्यसैले उनका शब्दले स्वतः विदेश सम्बन्धमा असर गर्छ।’

सम्झौता गर्ने
ग्रिनल्यान्डले स्वतन्त्र हुने निर्णय गरे पनि अमेरिकाले उसलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ। यस्तो सम्झौता उसले माइक्रोनेसिया, मार्सल आइल्यान्ड र पालाउसँग पनि गरेको छ।

त्यस्तो सम्झौताले त्यहाँको सैन्य अधिकार अमेरिकालाई दिनेछ। र, त्यसो हुँदा आर्कटिक जलमार्गमा चिनियाँ पहुँच र मुरमान्स्कस्थित रुसी हवाइ तथा सैन्य अखडामा निगरानी गर्न अमेरिकालाई सहज हुनेछ।

यो भनेको लगभग हाल ग्रिनल्यान्ड र डेनमार्कबीच रहेको व्यवस्थाजस्तै हो। 

थप सैन्य अखडा स्थापना
यदि ट्रम्पले ग्रिनल्यान्ड किन्न सकेनन् वा कुनै रक्षा सम्झौता पनि भएन भने उनले त्यहाँ सैन्य अखडा थप्न सक्छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad