ग्लोबल


भारतमा बलात्कारपछि हत्या गर्ने ५ जनालाई मृत्युदण्ड

भारतमा बलात्कारपछि हत्या गर्ने ५ जनालाई मृत्युदण्ड

प्रतीकात्मक तस्बिर


नेपालखबर
माघ १०, २०८१ बिहिबार २०:४३, रायपुर, भारत

भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र बीभत्स हत्याका साथै उनका बुबा र भतिजीसमेत मारेको कसुरमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। 

सन् २०२१ जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरेका थिए।

सरकारी वकिल सुनीलकुमार मिश्रले एएफपीलाई बताएअनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनकी तीन वर्षीया भतिजीको हत्या गरिएको थियो। 

केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेकी किशोरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको मिश्रले बिहीबार बताए।

छैटौँ व्यक्तिलाई ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो, तर बलात्कारमा उसको संलग्नता प्रमाणित भएन, त्यसैले उसलाई हत्या कसुरमा आजिवन जेल सजाय सुनाइएको’ उनले बताए। 

भारतमा मृत्युदण्डको व्यवस्था भए पनि व्यवहारमा यो विरलै दिइने सजाय हो।

एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा सन् २०२२ मा दैनिक औसतमा ९० वटा बलात्कारका घटना भएका छन्।

पूर्वी सहर कोलकाताको एक अदालतले गत वर्ष ३१ वर्षीया एक डाक्टरको बलात्कार र हत्या गरेको कसुरमा एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ। 

गत अगस्टमा सरकारी अस्पतालमा उनको रगताम्य शव फेला परेपछि राष्ट्रव्यापी आक्रोश र महिला हिंसाको दीर्घकालीन मुद्दाका विषयमा विरोध प्रदर्शन भएको थियो।

सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको बीभत्स प्रकृतिको तुलना गरिएको थियो।

सन् २०२० को मार्चमा बस आक्रमणमा दोषी ठहरिएका चार जनालाई मृत्युदण्ड दिइएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad