अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक क्यानडालाई करबाट बच्ने भए अमेरिकाकै 'एक राज्य' बन्न सुझाव दिएका छन्।
फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले क्यानडासँग अमेरिकाको ठूलो व्यापार घाटा भइरहेको उल्लेख गर्दै यसलाई अब निरन्तरता दिन नसकिने बताए।
उनले भने, ‘तपाईंलाई थाहा छ मै सधैँ भन्ने गरेको छु- क्यानडा (अमेरिकाको) एक राज्य बन्न सक्छ। यदि क्यानडा एक राज्य बन्यो भने व्यापार घाटा हुनेछैन र हामी क्यानडालाई शुल्क लगाउने छैनौँ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले वर्षौंदेखि क्यानडासँग व्यवहार गर्न गाह्रो भइरहेको टिप्पणी गरे।
उनले भने, ‘२०० अर्ब डलर वा २५० अर्ब डलरको व्यापार घाटा हुनु उचित होइन। हामीलाई हाम्रा कार बनाउन उनीहरू (क्यानडा) को आवश्यकता छैन।’
उनले क्यानडाबाट तेल र ग्यास नचाहिने उल्लेख गर्दै यी चिज आफैँसँग प्रशस्त भएको दाबी पनि गरे।
उनले भने, ‘यदि क्यानडा अमेरिकाको ५१औँ राज्य बनेमा, कर ६० प्रतिशतभन्दा बढीले घटाउन सकिन्छ।’
ट्रम्पले हालै जबसम्म अमेरिकी सीमा पार गरेर अवैध आप्रवासी र अवैध रूपमा उत्पादन हुने फेन्टानिलको प्रवाह रोकिँदैन, तबसम्म क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाइने घोषणा गरेका छन्।
Shares

प्रतिक्रिया