ग्लोबल


सातौँ पटक राष्ट्रपति चुनिन लागेका यी नेता, जसलाई विरोधी उम्मेदवारले पनि गर्छन् समर्थन

नेता बदले मुलुक युक्रेन बन्ने त्रासमा बेलारुसी जनता
सातौँ पटक राष्ट्रपति चुनिन लागेका यी नेता, जसलाई विरोधी उम्मेदवारले पनि गर्छन् समर्थन

स्टिभ रोजेनबर्ग
माघ १३, २०८१ आइतबार १६:३,

आइतबार बेलारुसमा राष्ट्रपतीय निर्वाचनको मतदान भइरहेको छ। अन्य मुलुकमा चुनाव आउँदा राजनीति तात्ने गर्छ। तर, यसपालि बेलारुसमा त्यसो भएन।

राजधानी मिन्स्कवरिपरि यात्रा गर्दा उम्मेदवारहरूको तस्बिर टाँगिएका बिलबोर्डहरू देखिन्छन्। तर, चुनाव प्रचार छैन। 

धमिलो आकाश र हिउँ अनि पानी मिश्रित झरीका कारण सबथोक ठप्प लाग्छ।

र, यो चुनावको नतिजाबारे कसैलाई कुनै पनि शंका छैन। ३० वर्षभन्दा बढी बेलारुसमा कठोर शासन चलाएका अलेक्जेन्डर लुकासेन्को फेरि निर्वाचित हुँदै छन्। यो उनको सातौँ कार्यकाल हुने छ। कुनैबेला उनलाई ‘युरोपका अन्तिम तानाशाह’ भन्ने गरिन्थ्यो।

उनका समर्थकहरू चुनावलाई बेलारुसी लोकतन्त्रको अभ्यास भन्छन् भने विरोधीहरू तमासा। 

लुकासेन्को स्वयं आफूलाई समेत यो चुनावमा चासो नभएको दाबी गर्छन्।

‘मैले चुनावी अभियान पछ्याइरहेको छैन। मसँग समय नै छैन,’ हालै उनले मिन्स्क अटोमोबाइल प्लान्टका कामदारहरूलाई भने। 

ती कामदारहरूले उनलाई एउटा उपहार दिए, दाउरा चिर्ने बञ्चरो।

‘चुनावअघि नै यसले दाउरा चिरी हेर्छु,’ लुकासेन्कोले वाचा गरे। तालीको गड्गडाहट सुनियो।

साढे चार वर्षअघि स्थिति केही अलग थियो। २०२० मा चुनाव जितेको एक सातापछि उनले मिन्स्क ह्विल्स ट्र्याक्टर प्लाट भ्रमण गरेका थिए। कामदारहरूले उनीविरुद्ध नाराबाजी गरेका थिए।

त्यो चुनावमा उनले ८० प्रतिशत मत पाएर जितेपछि आक्रोश फैलिएको थियो र देशभर उनीविरुद्ध प्रदर्शन भएको थियो। सडकमा ओर्लिएकाले उनलाई धाँधलीको आरोप लगाएका थिए।

त्यसपछिको बर्बर प्रहरी दमनमा हजारौँ सरकारविरोधी प्रदर्शनकारी पक्राउ परे। दमनले प्रदर्शन दब्यो। रुसको सहयोगमा लुकासेन्को सत्तामा रहे।

बेलायत, ईयू र अमेरिकाले उनलाई बेलारुसको वैध राष्ट्रपति मान्न अस्वीकार गरे।

लुकासेन्कोका चर्का विरोधीहरू कि त जेलमा छन् कि निर्वासनमा। त्यसैले युरोपेली संसदले हालै यो चुनावको नतिजालाई अस्वीकार गर्ने संकल्प पारित गरेको छ। 

गत अक्टोबरमा चुनावको मिति घोषणा भएको दिन मैले उनीसँग अन्तर्वार्ता लिएको थिएँ।

‘विपक्षी नेताहरू जेल वा विदेशमा भएको बेला यो चुनाव कसरी स्वतन्त्र र लोकतान्त्रिक हुन सक्छ?’ मैले सोधेँ।

‘तपाईंलाई साँच्चै थाहा छ त, विपक्षीका नेता को हुन्?’ उनले जवाफ दिए, ‘विपक्षी भनेको एउटा समूह हो, जसले कम्तीमा यो देशको सानो जनसंख्याको हितमा कुरा गर्नुपर्छ। तपाईंले भनेका नेता कहाँ छन्? ब्युँझनुस्!’

यो चुनावमा लुकासेन्को एक्लो उम्मेदवार होइनन्। अरु चारजना उम्मेदवार छन्। तर, उनीहरू कोही पनि उनलाई चुनौती दिँदैनन्।

तीमध्ये एकजनालाई भेट्न म मिन्स्कबाट चार घण्टा धाएर गएँ। उनी कम्युनिस्ट पार्टी अफ बेलारुसका नेता सेर्गेइ स्य्रान्कोव हुन्। भितेब्स्क सहरमा उनको एउटा चुनावी कार्यक्रममा म पनि सहभागी भएँ। हँसिया हथौडा चिह्नसँगै उभिएर उनले ठूलो हलमा दर्शकहरूको सानो समूहलाई सम्बोधन गरे। 

उनको चुनावी नारा अचम्मको छ : ‘लुकासेन्कोको सट्टामा होइन, उनीसँगै!’

खुल्लमखुला विपक्षी उम्मेदवारलाई सघाउँदै छन् उनी।

‘हाम्रो देशको नेताका रूपमा अलेक्जेन्डर लुकासेन्कोको कुनै विकल्प छैन,’ स्य्रान्कोव भन्छन्, ‘त्यसैले हामी यो चुनावमा उनीसँगै सहभागी भएका छौँ।’

‘विकल्प किन छैन?’ मैले सोधेँ।

‘किनकि लुकासेन्को जनताका मान्छे हुन्, माटोको मान्छे हुन्। जसले हाम्रोमा युक्रेनजस्तो स्थिति हुन नदिन सबथोक गरेका छन्।’

‘तपाईं आफैँ सत्तामा पुग्न चुनाव लड्दै हुनुहुन्छ तर अर्को उम्मेदवारलाई समर्थन गर्दै हुनुहुन्छ। अनौठो भएन र,’ मैले भनेँ।

‘लुकासेन्कोले सानदार विजय हासिल गर्नेमा म ढुक्क छु। तर, उनले जित्दा र मैले हार्दा पनि त्यो कम्युनिस्टहरूको जित हुनेछ,’ उनी भन्छन्, ‘हाम्रो देशको प्रमुख कम्युनिस्ट भनेको हाम्रो राष्ट्रप्रमुख हुन्। सोभियत कम्युनिस्ट पार्टीको सदस्यता कार्ड लुकासेन्कोसँग अझै छ।’

दक्षिणपन्थी लिबरल डेमोक्र्याटिक पार्टी अफ बेलारुसका नेता ओलेग गाइदुकेभिच पनि उम्मेदवार छन्। तर, उनी पनि जित्नका लागि उठेका होइनन्।

‘चुनावको नतिजा थाहा छैन कसैले भन्छ भने त्यो ढँटुवा हो,’ उनले भने, ‘लुकासेन्कोले जित्ने निश्चित छ। उनको समर्थन व्यापक छ। हामी हाम्रो शक्ति बढाउन र अर्को चुनावको तयारीका लागि प्रतिस्पर्धामा छौँ।’

भितेब्स्को सहरको किनारामा ओक्तियाब्रास्काया भन्ने सानो ठाउँ छ। त्यहाँका मान्छेहरूसँग कुरा गर्दा उनीहरूमा नेता बदलिए अस्थिरता आउने चिन्ता पाइयो।

‘म मेरो तलब स्थिर होस्, देशमा स्थिरता होस् भन्ने चाहन्छु,’ वेल्डरको काम गर्ने सेर्गेइले भने, ‘अरु उम्मेदवार वाचा गर्छन् तर पूरा नगर्न सक्छन्। मसँग जे छ, त्यसलाई गुमाउन चाहन्नँ।’

‘आजको अवस्था निकै तनावपूर्ण छ,’ जेनैदा भन्छिन्, ‘सत्तामा जानलायक अरु मान्छे पनि होलान्। तर, युवा नेता कुर्सीमा गएर बसेर अरु देशसँग बलियो सम्बन्ध गाँस्दासम्म र आफ्नै मान्छेहरूसँग सम्बन्ध कायम गर्दागर्दै लामो समय लाग्छ।’

‘हे ईश्वर हाम्रो हालत युक्रेनजस्तो नहोस्,’ उनी पुकार्छिन्।

बेलारुसमा आज अस्थिरताको डर, अज्ञात भविष्यको डर र सरकारको डर छ। यी सबैले लुकासेन्कोको पक्षमा काम गरेका छन्। बीबीसीबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad