ग्लोबल


अमेरिकी संसद्‌मा ट्रम्पको पहिलो सम्बोधन: यी हुन् महत्त्वपूर्ण १० कुरा

अमेरिकी संसद्‌मा ट्रम्पको पहिलो सम्बोधन: यी हुन् महत्त्वपूर्ण १० कुरा

अमेरिकी संसद्‌मा सम्बोधन गर्दै ट्रम्प।


नेपालखबर
फागुन २१, २०८१ बुधबार ११:३४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली समयअनुसार बुधबार बिहान अमेरिकी संसद् (कंग्रेस) को संयुक्त सत्रलाई सम्बोधन गरेका छन्।

गत जनवरी २० मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ खाएयता ट्रम्पले पहिलोपटक संसद्‌मा सम्बोधन गरेका हुन्।

अमेरिकी संसद्‌मा सम्बोधन गर्दै ट्रम्प।

उनले १ घण्टा ४४ मिनेटको लिखित भाषण दिएका हुन्। पहिलो कार्यकालमा उनले जम्मा १ घण्टा मात्र भाषण दिएका थिए।

उनले आफ्नो भाषण 'अमेरिका इज ब्याक' अर्थात् अमेरिकाको युग फर्किएको छ भन्ने शब्दबाट सुरु गरे।

संसद्‌मा सम्बोधन गर्दै ट्रम्पले बितेका ४३ दिनमा आफूले जे जति काम गरे, त्यति काम यसअघिका धेरैवटा सरकारले आफ्नो ४ वा ८ वर्षको कार्यकालमा पनि गर्न नसकेको दाबी गरे। 

राष्ट्रपति ट्रम्पको पहिलो भाषणका १० महत्त्वपूर्ण कुरा यस्ता छन्:

१. टिट फर ट्याट ट्यारिफ: टिट फर ट्याट ट्यारिफ अप्रिल २ देखि लागू हुनेछ। अन्य देशले हामीलाई भारी कर र भन्सार लगाउँछन्, अब हाम्रो पालो हो। कुनै कम्पनीले अमेरिकामा उत्पादन गरिरहेको छैन भने उसले पनि शुल्क तिर्नु पर्नेछ।

२. युक्रेन युद्ध: जेलेन्स्की युक्रेन युद्ध सकेसम्म चाँडो अन्त्य गर्न वार्तामा आउन तयार छन्। हामीले रुससँग गम्भीर वार्ता गरेका छौँ। हामीले मस्कोबाट शान्तिका लागि तयार रहेको बलियो संकेत पाएका छौँ।

३. आप्रवासन समस्या: पछिल्ला चार वर्षमा २ करोड १० लाख मानिस अवैध रूपमा अमेरिका प्रवेश गरेका छन्। हाम्रो सरकारले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो सीमा र आप्रवासन कारबाही सुरु गरेको छ।

४. जो बाइडेन: बाइडेन अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति हुन्। उनको कार्यकालमा हरेक महिना लाखौँ अवैध मानिस देशमा प्रवेश गरे। उनको नीतिका कारण देशमा मुद्रास्फीति बढ्यो।

५. गोल्ड कार्ड भिसा: हामी गोल्ड कार्ड भिसा प्रणाली लागू गर्दैछौँ। यो ग्रिन कार्डजस्तै हो तर अझ उन्नत छ। यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नेछ र कम्पनीहरूलाई फाइदा पुर्‍याउनेछ।

६. पानामा नहर र ग्रिनल्यान्ड: हामी कुनै न कुनै रूपमा पानामा नहरको नियन्त्रण प्राप्त गर्नेछौँ। साथै हामी कुनै न कुनै रूपमा ग्रिनल्यान्डलाई हाम्रैमा समावेश गर्नेछौँ। हामी त्यहाँका मानिसहरूको सुरक्षा गर्नेछौँ।

७. इलोन मस्क र डज: इलोन मस्क नेतृत्वको डज (सरकारी दक्षता विभाग) ले अघिल्लो संघीय सरकारका धेरै घोटाला पर्दाफास गरेको छ। मस्कका लागि यो विभाग सिर्जना गर्नु आवश्यक थिएन, तर उनले यो देशका लागि गरे।

८. अभिव्यक्ति स्वतन्त्रता: हामीले सबै सरकारी सेन्सरसिप समाप्त गरेका छौँ र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याएका छौँ। हामीले हतियारका रूपमा प्रयोग हुने सरकारी संयन्त्रलाई ध्वस्त पारेका छौँ।

९. तेल र ग्यास: अमेरिकासँग विश्वका अन्य कुनै पनि देशसँग भन्दा धेरै 'तरल सुन' (तेल र ग्यास) छ। हामी अलास्काभरि विशाल प्राकृतिक ग्यास पाइपलाइन निर्माण गर्नेछौँ। धेरै देश यसमा अर्बौं रुपैयाँ लगानी गर्न चाहन्छन्।

१०. अन्तरिक्ष कार्यक्रम: हामी विज्ञानमा नयाँ सीमा पार गर्नेछौँ। मानिसहरूलाई अन्तरिक्षमा डोऱ्याउनेछौँ। र, मंगल ग्रहमा अमेरिकी झण्डा फहराउनेछौँ। हामी संसारले देखेको सबैभन्दा उन्नत र शक्तिशाली सभ्यता सिर्जना गर्नेछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad