दशकौँदेखि अमेरिका आफ्ना मित्रहरूको साथमा खडा रह्यो र उसले शत्रुहरूलाई रोकिराख्यो। अमेरिकाको त्यो दृढता अहिले उल्टिएको छ। किनकि डोनाल्ड ट्रम्प आफ्ना सहयोगीहरूलाई धम्क्याउँछन् र विरोधीहरूसँग सौदा गर्न खोज्छन्। मार्च ३ मा युक्रेनलाई दिँदै आएको सम्पूर्ण सहयोग रोकेको उनको प्रशासनले युक्रेन सैद्धान्तिक रूपमा ३० दिने युद्धविरामका लागि सहमत भएपछि सहयोग फुकुवा गरेको छ।
यो युद्धविराम स्वीकार्न भ्लादिमिर पुटिनलाई ह्वाइट हाउसले कति दबाब दिन्छ, स्पष्ट छैन। ट्रम्पले हालै क्यानडामा भन्सार महसुल अझ थपेका छन्। क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले ‘हाम्रो जल, हाम्रो जमिन, हाम्रो देश’ हात पार्न चाहेको चेतावनी दिएका छन्।
अनि एसियालाई पनि बिर्सिनु भएन। १९६० मा आइजनहावरले जापानसँग गरेको रक्षा सन्धिको महत्त्वप्रति ट्रम्पले सन्देह उत्पन्न गरेका छन्। विश्वभर सहयोगी मुलुकहरू यो सोचेर डराउन थालेका छन्– अमेरिका पहिलो भन्नुको मतलब हामी दोस्रो, तेस्रो वा अन्तिम स्थानमा मात्र आउँछौँ।
ट्रम्प र उनका सहयोगीहरूलाई दृढ विश्वास छ– उनको उन्मत्त कामकारबाहीले अमेरिकी शक्ति वृद्धि गर्छ, गतिरोध अन्त्य गर्छ र मरेतुल्य वा परजीवी सहयोगीहरूलाई तंग्य्रयाउँछ। युक्रेनमा प्रस्तावित युद्धविराम ट्रम्पले मुलुकहरूको व्यवहार बदल्न सक्छन् भन्ने कुराको प्रमाण हो। तर, कुन मूल्यमा?
उनको व्यापार युद्धले वित्त बजारमा आतंक फैलाइरहेको छ। १९४५ देखि आफ्नो सुरक्षाको जिम्मा अमेरिकाको हातमा सुम्पेका ४० हाराहारी मुलुकहरू विश्वासको संकटसँग जुधिरहेका छन्। उनीहरू ट्रम्पको छिनछिनमा कुरा फेर्ने तरिकासँग डराउँछन्। गाजाको युद्धविराम जुनसुकै बेला भंग हुन सक्छ।
स्वदेशमा ट्रम्पले सन्तुलन र नियन्त्रणको सामना गर्नुपर्छ। विदेशमा उनलाई अंकुश लगाउने केही छैन। अमेरिकाका सहयोगीहरू सोधिरहेका छन्– भइपरी आउँदा ट्रम्प वा उनका उपराष्ट्रपति जेडी भान्स उनीहरूको साथमा उभिएलान् त? दुर्भाग्यवश, यसको जवाफ हुन्छ– उनीहरू ढुक्क छैनन्।
सहयोगीहरूमाथि नै जबर्जस्ती गर्नु ट्रम्पको मूल्यविहीन एजेन्डाको अवश्यंभावी नतिजा हो। सहयोगी मुलुकहरू एकअर्कामाथि निर्भर हुन्छन्। यसको अर्थ के हो भने रुस र चीनजस्ता शत्रुहरूको तुलनामा सहयोगी मुलुकहरूलाई अमेरिकाले ज्यादा प्रभावित पार्न सक्छ। दशकौँदेखि क्यानडा, युरोप र एसियाली मुलुकहरूले अमेरिकासँग महाशक्ति हैसियत अर्थात् रक्षा सन्धि, व्यापार सम्झौता, आणविक हतियार र डलर प्रणालीमा विश्वास गरेका छन्। किनकि यो पारस्परिक रूपमा लाभदायक छ। दुःखको कुरा, ट्रम्प यसलाई बोझका रूपमा लिन्छन्।
ट्रम्प प्रशासनको आर्थिक राष्ट्रवाद र विश्व सुरक्षामा उसको भूमिका परित्याग गर्ने क्रम अझ अघि बढ्न सक्छ। विदेशी कम्पनीहरूलाई पुँजी अमेरिकामा सार्न धम्क्याइँदै छ। ह्वाइट हाउसका केही सल्लाहकार पारस्परिक भन्सार लगाउन चाहन्छन्। जुन संरक्षणवादको कट्टरपन्थी स्वरूप हो। वाल स्ट्रिटमा डलरको भाउ घटाउने योजनाको चर्चा चल्दैछ। इलोन मस्क अमेरिकाले नेटो छाड्नुपर्ने बताउँछन्। ट्रम्प अहिले नै त्यहाँसम्म पुगिसकेका छैनन्। तर, उनले मस्कको भनाइ खण्डन गरेका छैनन्।
युरोपेलीहरू नयाँ र कुनै बेला अकल्पनीय जोखिमका बारेमा सोचिरहेका छन्– के अमेरिकासँग सम्पूर्ण एफ–३५ लडाकु विमान बन्द गराउने ‘स्विच’ होला त? के अमेरिकाले बेलायतको आणविक हतियार कायम राख्न अस्वीकार गर्न सक्छ?
ट्रम्प अब आफूविरुद्ध खनिने डर एसियाली सहयोगीहरूलाई छ। अस्ट्रेलिया, जापान, दक्षिण कोरिया चीनविरुद्ध ट्रम्पको दुस्मनी गहिरियोस् भन्ने चाहन्छन्, ताकि उनले तिनलाई नत्यागून्। तर, ट्रम्पको व्यापार र रक्षा सन्धिबारेको गुनासोको कुनै भौगोलिक सीमा छैन। युक्रेन मामिलामा रुससँग तेस्रो विश्वयुद्धबाट बच्ने उनको दृढ संकल्प देख्दा चीन वा उत्तर कोरियासँगको सौदाबाजीमा उनले सहुलियत दिन सक्छन्, जसले सहयोगीहरूलाई कमजोर र ताइवानलाई अझ असुरक्षित बनाउन सक्छ।
तपाईं अमेरिका अनि युरोप र प्रशान्त महासागर क्षेत्रमा उसको गठबन्धनको प्रशंसा गर्नुहुन्छ भने अहिलेको बदलाव यति चरम र अपरिचित छ कि यो बदलाव भइरहेको छ भन्ने कुरै अस्वीकार गर्न अथवा ट्रम्प पछि हट्छन् भन्ने मान्न मन लाग्छ। तर, जब आफ्ना जनताको सुरक्षा दाउमा लागेको हुन्छ, तब आँखा चिम्लेर कुनै फाइदा हुँदैन।
अमेरिकाका सहयोगी मुलुकहरूको कुल जीडीपी ३७ ट्रिलियन डलरको छ। तर, उनीहरूसँग ‘हार्ड पावर’को अभाव छ। ओभल अफिसमा गएर चापलुसी गर्दा र अमेरिकी सामान किन्ने वाचा गर्दा अब ज्यादा फाइदा छैन। जति सहुलियत दियो, उति माग बढ्छ। जुन कुरा हालै पानामाले थाहा पाएको छ। यदि अमेरिकाका सहयोगीहरूले आफ्नो रक्षा आफैँ गर्न सकेनन् भने केहीले चीन र रुससँग सम्झौताको कोसिस गर्नेछन्।
अमेरिकाका सहयोगीहरूले आजैबाट त्यस्तो निराशाजनक परिणामबाट बच्ने कोसिस गर्नुपर्छ। एउटा उपाय भनेको अमेरिकालाई आपसी नोक्सान गर्नबाट रोक्नु हो। यसको अर्थ के हो भने अमेरिकी कदमको बदलामा उनीहरूले त्यस्तो खतरनाक उपाय अपनाउनु हुँदैन, जसले १९३० को दशकको जस्तो मन्दी ल्याउन सक्छ। त्यसका एउटा विकल्प हो– अन्य मुलुकमाथिको प्रतिबन्ध र निर्यात नियन्त्रणमा सहकार्य कम गर्ने।
सहयोगी देशहरूले व्यापारमा अमेरिकालाई अप्ठेरो पार्ने विन्दुहरूको उपयोग गर्न सक्छन्। जुन अमेरिकाको आयातको २७ प्रतिशत हुन आउँछ। र, त्यसमा परमाणु इन्धन, धातु र फर्मास्युटिकल्स पर्छन्। टोकियो इलेक्ट्रोन र युरोपको एएसएमएलजस्ता कम्पनीहरू ठूला अमेरिकी कम्पनीका लागि महत्त्वपूर्ण आपूर्तिकर्ता हुन्। ट्रम्पको पहिलो कार्यकालमा मूर्खतापूर्ण भन्सारविरुद्ध लिइएको चलाखीपूर्ण बदलाले युरोपका लागि काम गरेको थियो। सहयोगी मुलुकहरूले रेडार तथा सैन्य अखडाजस्ता सैन्य हिसाबले दबाब पर्ने स्थान पनि पहिचान गर्नुपर्छ। तर, चरम अवस्थामा भन्दाबाहेक तिनको उपयोग गर्नु हुँदैन।
अमेरिकाको महाशक्ति स्तरकै समानान्तर सहयोगी मुलुकहरूले पनि आफ्नो आर्थिक र सैन्य पूर्वाधार निर्माण गर्नुपर्छ। यसमा वर्षौं लाग्न सक्छ। युरोपले अतिरिक्त रक्षा खर्चका लागि थप संयुक्त ऋण जारी गर्ने सम्भावना छ। त्यस्तै, ट्रम्पले हटाए पनि युरोपले रुसमाथिको नाकाबन्दी कायम राख्न सक्छ।
यसले अमेरिका र युरोपको पुँजी बजारलाई विभाजित गर्न सक्छ। र, अन्ततः अन्तर्राष्ट्रिय मुद्राका रूपमा युरोको भूमिका वृद्धि गर्न सक्छ। रक्षा क्षेत्रमा युरोपेले आफ्नो सेनाको कमी पूरा गर्न थालेको छ। फ्रान्स र बेलायत सम्मिलित महादेशीय परमाणु निवारक निर्माण गर्ने चर्चा पनि छ। एसियामा दक्षिण कोरिया र जापान चीन र उत्तर कोरियालाई रोक्न परमाणु ‘थ्रेसहोल्ड’निकट पुग्न सक्छन्।
अमेरिकाका सहयोगीहरूले आफ्नो संख्यामा शक्ति खोज्नु पर्छ। नेटोको नेतृत्व सम्हाल्ने एसियाली व्यापार सम्झौता सीपीटीपीपीमा सहभागी हुने अनि सैन्य तथा गैरसैनिक प्रविधिमा जापान र दक्षिण कोरियासँग सहकार्य गर्ने योजना युरोपलाई चाहिएको छ। यसले विशाल परिमाण तयार गर्नुका साथै प्रतिद्वन्द्विता व्यवस्थापन गर्न सघाउने छ। यसले वैकल्पिक उदार व्यवस्था पनि कायम राख्ने छ। तथापि, त्यो पहिलेको भन्दा निकै कमजोर हुने छ।
सहयोगी मुलुकहरू २०२९ मा नयाँ राष्ट्रपति आएपछि अमेरिकालाई स्वागत गर्न पनि तयार रहनु पर्छ। यद्यपि, संसार उस्तै रहने छैन। परमाणु प्रसार व्यापक हुन सक्छ। चीन अझ शक्तिशाली बन्ने छ। र, अमेरिकी शक्ति र विश्वसनीयतामा नराम्रो क्षति पुगिसकेको हुने छ। अमेरिकाका सहयोगीहरूले गुनासो गर्नुको कुनै तुक छैन। उनीहरू बलियो भएर आफ्नो काममा लाग्न जरुरी छ।
(दि इकोनोमिस्टबाट)
Shares

प्रतिक्रिया