अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकालको बारेमा पनि विचार गरिरहेको बताएका छन्।
आइतबार एक अन्तर्वार्तामा उनले आफू तेस्रोपटक पनि राष्ट्रपति बन्ने विचार गरिरहेको र यो कुनै ठट्टा नभएको बताएका हुन्।
यस क्रममा उनले तेस्रोपटक राष्ट्रपति हुन रोक्ने संवैधानिक अवरोध पार गर्ने उपाय खोज्ने संकेत पनि गरेका छन्।
अमेरिकी संविधानको २२औँ संशोधन र तेस्रो कार्यकाल
१९५१ मा अमेरिकी संविधानमा गरिएको २२औँ संशोधनअन्तर्गत संयुक्त राज्य अमेरिकामा कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति निर्वाचित हुन सक्दैन।
यस्तो अवस्थामा ट्रम्पको यो भनाइलाई कानुनी रूपमा शंकास्पद मानिएको छ र विज्ञहरूका अनुसार यसलाई कार्यान्वयन गर्न लगभग असम्भव हुनेछ।
ट्रम्पले सोचेको उपाय
तर उनले त्यो कस्तो तरिका हो त भन्ने विषयमा विस्तृत रूपमा व्याख्या गरेनन्।
पत्रकारले उपराष्ट्रपति जेडी भान्सलाई राष्ट्रपति पदका लागि उम्मेदवारी दिन लगाउने र जितेपछि तपाईंलाई सत्ता हस्तान्तरण गर्ने तरिका हो त भने सोध्दा ट्रम्पले भने, ‘हो, त्यो पनि एउटा तरिका हुन सक्छ। तर अरू पनि तरिका छन्।’
कानुनविद्हरूको प्रतिक्रिया
नर्थइस्टर्न युनिभर्सिटीका संवैधानिक कानून विज्ञ जेरेमी पल भन्छन्, ‘ट्रम्प तेस्रोपटक राष्ट्रपति बन्न सक्ने कुनै कानुनी आधार छैन।’
यस्तै नोट्रे डेम विश्वविद्यालयका निर्वाचन कानुनका प्राध्यापक डेरेक मुलरले १२औँ संशोधनअन्तर्गत कुनै व्यक्ति राष्ट्रपति बन्न अयोग्य छ भने ऊ उपराष्ट्रपति पनि बन्न नसक्ने बताए।
मुलरले भने, ‘राष्ट्रपतिको कार्यकालको सीमा पार गर्ने कुनै चामत्कारिक तरिका छैन।’
ट्रम्पको भनाइले हलचल
अन्तर्वार्तामा ट्रम्पले आफू अमेरिकाको अहिलेसम्मकै सबैभन्दा लोकप्रिय रिपब्लिकन नेता भएको दाबी पनि गरेका छन्।
तर ग्यालप पोल डेटाअनुसार ९/११ पछि जर्ज डब्ल्यू बुसको लोकप्रियता ९० प्रतिशत पुगेको थियो, जसले ट्रम्पको दाबीलाई गलत साबित गर्छ।
ट्रम्प साँच्चै तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन चाहन्छन्?
ट्रम्पले यसबारे अहिले विचार गर्नु हतार हुने बताएका छन्। तर उनको भनाइले राजनीतिक र कानुनी वृत्तमा हलचल मच्चाएको छ।
दोस्रो कार्यकालको अन्त्यमा ट्रम्प ८२ वर्षका हुनेछन्। उनलाई सोधिएको थियो, ‘त्यसबेला पनि तपाईं ‘देशको सबैभन्दा कठिन काम’को सेवा जारी राख्न चाहनुहुन्छ?’
जवाफमा उनले भने, ‘मलाई काम गर्न मन पर्छ।’
ट्रम्प पहिलोपटक सन् २०१७–२०२१ मा अमेरिकाको राष्ट्रपति बनेका थिए भने दोस्रोपटक २०२५ जनवरी २० मा पद सम्हालेका हुन्। अमेरिकी राष्ट्रपतिको कार्यकाल ४ वर्षको हुन्छ।
Shares

प्रतिक्रिया