ग्लोबल


भारतका कुनै पनि आक्रमणको उचित जवाफ दिन १०० प्रतिशत स्थितिमा छौँ: पाकिस्तान

भारतका कुनै पनि आक्रमणको उचित जवाफ दिन १०० प्रतिशत स्थितिमा छौँ: पाकिस्तान

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार ८:२, काठमाडौँ

जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच द्वन्द्व बढेको छ। 

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन आफूहरू तयार रहेको बताएका छन्।

भारतले सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्दलगायत आफूविरुद्ध पाँच निर्णय गरेपछि पाकिस्तान रुष्ट भएको छ।

बीबीसी उर्दुका अनुसार, एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै पाकिस्तानका रक्षामन्त्री आसिफले भारत लामो समयदेखि सिन्धु जल सन्धिबाट बाहिर निस्कन चाहेको टिप्पणी गरेका हुन्। 

यसै क्रममा उनले भनेका छन्, ‘पाकिस्तान कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन १०० प्रतिशत स्थितिमा छ।’

यद्यपि उनले जम्मु-कश्मीरमा भएको हमला निन्दनीय भएको र आतंकवादलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने बताएका छन्।

पाकिस्तानका रक्षामन्त्रीका अनुसार, ‘भारतको संरक्षणमा बलुचिस्तानमा आतंकवाद फस्टाउँदै छ। जाफर एक्सप्रेस घटनामा के भयो भन्ने सबैलाई थाहा छ। भारतले पृथकतावादीहरूलाई आश्रय दिएको छ। बलुचिस्तानका पृथकतावादीहरू उपचारका लागि भारत जान्छन्। यसका धेरै प्रमाण छन्।’

ख्वाजा आसिफले भारतले पहलगाम घटनाका लागि अरूलाई दोष दिनुको सट्टा आफैँलाई जिम्मेवार बनाउनुपर्ने सुझाव पनि दिएका छन्।

उनले भने, ‘यो पनि सम्भव छ कि पहलगाम आक्रमण भारत आफैँले गरेको 'झुटा अपरेसन' थियो।’

उनले थपे, ‘कसैले भारतलाई सोध्नु पर्छ- यदि कश्मीरमा निर्दोष मानिसहरू मारिरहेका छन् भने दशकौँदेखि त्यहाँ उपस्थित सात लाख सैनिक के गरिरहेका छन्?’

मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसमेत २८ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस आक्रमणमा भारतले पाकिस्तानको हात रहेको आशंका गरेको छ। 

भारतले बुधबार साँझ सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठक राखेर पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन तथा अटारी सीमा बन्द गर्नेलगायत निर्णय गरेको छ।

बैठकले सार्क भिसा छुट कार्यक्रमअन्तर्गत अब पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिइको छ।

यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र भारत छाड्न भनिएको छ। साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि भारतले गरेको छ।

जवाफमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले पनि आज राष्ट्रिय सुरक्षा समितिको बैठक राख्दै छन्। 

जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार २८ जना मारिने गरी भएको आतंकवादी हमलामा ५ आतंककारी संलग्न रहेको खुलासा भएको दाबी भारतीय सञ्चारमाध्यमले गरिरहेका छन्। 

तीमध्ये दुई जना स्थानीय व्यक्ति र तीन जना पाकिस्तानी रहेको तथ्य प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको दाबी गरिएको छ। 

सुरक्षा र गुप्तचर एजेन्सीहरूले संदिग्ध आतंककारीहरूको स्केच जारी गर्दै उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको बताएका छन्। 

गुप्तचर स्रोतहरूले आक्रमणको मास्टरमाइन्ड लश्कर-ए-तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको बताएका छन्, जो पाकिस्तानमा छन्।

यद्यपि यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणमा आफ्नो देशको कुनै सम्बन्ध नरहेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad