कस्मिरमा मंगलबार आतंकवादी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानमा सैन्य आक्रमण गर्ने चिन्ता बढेको छ।
भारतीय अधिकारीहरूले सैन्य आक्रमणको सम्भावनालाई नकारेका छैनन्। टेलिभिजनहरूमा रक्षा विश्लेषक तथा प्रस्तोताहरूले बदलाको आवाज उठाइरहेका छन्। यसले दुई आणविक शक्तिसम्पन्न मुलुकबीचको शत्रुता झनै बढाएको छ।
भारत सरकारले आक्रमणको पछाडि कुनै निश्चित समूहलाई जिम्मेवार ठहर्याएको छैन। तर, उसले पाकिस्तानविरुद्ध विभिन्न कदम चालेको छ। जसमा महत्त्वपूर्ण जलसम्झौता निलम्बन गर्नुका साथै पाकिस्तानीहरूको भिसा पनि रद्द गरिएको छ। बदलामा पाकिस्तानले उस्तै कदम चालेको छ। उसले द्विपक्षीय सम्झौताहरू निलम्बन गरेको छ।
दुवै मुलुकले दाबी गर्दै आएको कस्मिरको भारत अधीनस्त क्षेत्रमा पर्यटकहरूमाथि हमला लगत्तै भारतीय सञ्चारमाध्यमले पाकिस्तानतर्फ औँला सोझ्याएका थिए। पाकिस्तानले संलग्नता अस्वीकार गरेको थियो।
यसअघि यति ठूलो आक्रमण २०१९ मा भएको थियो। त्यतिबेला दर्जनौँ सैनिक मारिएपछि भारतले पाकिस्तानभित्र हवाई हमला गरेको थियो।
केही पाकिस्तानी विश्लेषकहरूले यसपालि तनाव २०१९ को भन्दा ज्यादा हुने चेतावनी दिएका छन्।
‘गत रातिदेखि नै भारतले तनाव चर्काउन थालिसक्यो। यो २०१९ को भन्दा ठूलो हुनेछ,’ इस्लामावादका सुरक्षा विश्लेषक सइद मुहम्मद अलीले बुधबार भने।
यो आक्रमणलाई भारतले अमेरिकासँग ऐक्यबद्धता कायम गर्न र डोनाल्ड ट्रम्पको करको खतरालाई टार्न उपयोग गरिरहेको उनको भनाइ छ।
हालसम्म भारतले सेना परिचालन गरेको कुनै प्रमाण नदेखिएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ। पाकिस्तानी सेना लाइन अफ कन्ट्रोलमा सतर्क रहेको उनीहरूले बताए।
एक वरिष्ठ पाकिस्तानी सुरक्षा अधिकारीले पाकिस्तानले जस्तालाई तस्तै गर्ने सवालमा होसियारी अपनाउने बताए। तर, भारतीय घुसपैठ भए त्यसलाई रोक्ने उनले बताए।
‘उनीहरूले बिनाप्रमाण पाकिस्तानलाई दोष दिइरहेका छन्,’ पाकिस्तानी सेनाका अवकाशप्राप्त ब्रिगेडियर जर्नेल अहमद सइद मिनहाजले भनेका छन्, ‘यदि भारतले फेरि कोसिस गर्ने हो भने हामीले २०१९ मा अभिनन्दनलाई चिया पिलाएकै हौँ। यसपटक बिस्कुट पनि खुवाउन सक्छौँ।’
२०१९ मा पाकिस्तानमा हवाई हमला गर्न गएको भारतीय वायु सेनाको एउटा विमान पाकिस्तानले खसाएको थियो र पाइलट अभिनन्दन वर्तमानलाई समातेको थियो। पाकिस्तानले उनलाई रिहा गर्दा तनाव कम गर्न सहयोग पुगेको थियो।
पाकिस्तानी अधिकारीहरू अहिलेको अवस्था २०१९ भन्दा फरक रहेको बताउँछन्। २०१९ को आक्रमण सेनाविरुद्ध थियो। मंगलबार निशस्त्र सर्वसाधारणमाथि भएको छ। यसको जिम्मेवारी लिने सवालमा पनि कयौँ प्रश्न अनुत्तरित छन्।
२०१९ मा युद्ध नचर्किए पनि योपटक त्यस्तो नहुन सक्ने विश्लेषक तथा सरकारी अधिकारीहरूको चेतावनी छ।
‘त्यतिबेला भारत र पाकिस्तान दुवैको भाग्यका कारण युद्ध भएन,’ पूर्वमन्त्री मुर्तजा सोलांगी भन्छन्, ‘यसपालि हामी ज्यादा खतरनाक चरणमा छौँ। भताभुंग विश्वव्यवस्था र उग्र मिडियाले मोदीलाई तर्कसंगत कदम चाल्न कठिन बनाउने छ। यो पागलपनलाई भारतले नरोक्ने हो भने दुवै मुलुक हार्ने छन्।’
(न्युयोर्क टाइम्सबाट)
Shares

प्रतिक्रिया