संसदको विशेष चुनावमा नाटकीय जितपछि बिहीबार बेलायतमा भएको स्थानीय चुनावमा सयौँ सिटमा यूके रिफर्म पार्टीले विजय हात पारेको छ।
तर, त्यसभन्दा पनि ठूलो कुरा यो पार्टीले बेलायतको दुई दलीय व्यवस्थामा ठूलो भ्वाङ पारिदिएको छ।
गएको एक शताब्दीमा लगभग पूरै समय बेलायतको सत्तामा लेबर पार्टी र कन्जरभेटिव पार्टीको हालिमुहाली रह्यो। लेबर पार्टीका नेता किअर स्टार्मर अहिले प्रधानमन्त्री छन्। विपक्षी कन्जरभेटिवले गत वर्ष केमी बाडनकलाई नेता चुनेको छ।
तर, नाइजल फराजको नेतृत्वमा रहेको रिफर्म यूकेले समर्थन वृद्धि गर्दै लगेको छ। अरु साना पार्टीले पनि प्रभाव विस्तार गरिरहेका छन्। यसले सत्तामा दुई दलको हालिमुहालीमा खतरा पैदा गरेको छ।
‘डाउनिङ स्ट्रिटको सय वर्षे कार्यकालबाट दुई मुख्य पार्टीले सम्भावित निस्कासनको सूचना पाएका छन्,’ युनिभर्सिटी अफ म्यान्चेस्टरस्थित राजनीतिशास्त्रका प्राध्यापक रोबर्ट फोर्ड भन्छन्।
गतवर्ष सत्ताबाट निकालिएको कन्जरभेटिव पार्टीले चुनावमा अर्को धक्का बेहोरेको छ। अर्थतन्त्र सुस्त भएकाले सरकारी खर्च कटौती र कर वृद्धि गरेकोमा लेबर पार्टीसँग पनि मतदाता क्रुद्ध छन्।
मतदाताले दुवै मुख्य पार्टीलाई अस्वीकार गरेको फोर्डको भनाइ छ। यस्तै नतिजा आम चुनावमा आउने हो भने संसदमा कन्जरभेटिव पार्टीको अस्तित्व नै समाप्त हुनसक्ने उनले बताए।
स्टार्मरका पूर्व नीति निर्देशक क्लेयर एन्स्ली यो नतिजाले दीर्घकालीन प्रवृत्तिलाई दर्शाएको बताउँछन्। मतदातामा परम्परागत वर्गीय वफादारी टुट्न थालेको, राष्ट्रवादी राजनीतिप्रतिको आकर्षण बढेको र मध्यपन्थी लिबरल डेमोक्र्याट, ग्रिन र स्वतन्त्र उम्मेदवारप्रतिको समर्थन बढेको उनको भनाइ छ।
‘हामी समाजको विखन्डन देखिरहेका छौँ। र, त्यो हाम्रो राजनीतिमा पनि प्रकट भइरहेको देखिन्छ,’ एन्स्ली भन्छिन्।

फलस्वरूप मुख्य दुई दलले आपसमा मात्र होइन, अन्य दल र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्दा कठिनाइ महसुस गरिरहेका छन्।
यी दुई दलमा जनताको मोहभंग हुँदा साना पार्टीहरूले स्थानीय तहमा सिट हात पारेका छन्। लिबरल डेमोक्र्याटले १६३ काउन्सिल सिट जितेको छ भने ग्रिनले ४४। तर, यसको सबैभन्दा ठूलो फाइदा चाहिँ फराजको रिफर्म पार्टीले पाएको छ। सो पार्टीले १६ सयमध्ये ६७७ सिट जितेको छ।
बेलायतको आम चुनाव २०२९ सम्म हुने छैन। त्यसैले रिफर्म पार्टीले आफ्नो बढ्दो प्रभावको परीक्षण तत्काल संसदमा गर्न पाउने छैन।
यसअघिका चुनावमा दुई पार्टीलाई टक्कर दिने तेस्रो दलको प्रयास असफल हुँदै आएको छ। १९८० को दशकको सुरुमा लेबर पार्टीका असन्तुष्टहरूले खोलेको सोसल डेमोक्र्याटिक पार्टीले बेलायती राजनीतिको ढाँचा बदल्ने वाचा गरेको थियो। अर्को मध्यपन्थी पार्टीसँग गठबन्धन गरेको सो पार्टीले केही समय सर्वेक्षणहरूमा ५० प्रतिशतभन्दा ज्यादा मत पाएको थियो। तर, चुनावी नतिजा आउँदा त्यो झुटो साबित भयो।
तथापि, अहिले २ पार्टीको हालिमुहाली रहेको व्यवस्थामा ५ पार्टीबीच मत तानातान भइरहँदा बेलायतको राजनीति निकै अप्रत्याशित बनेको छ।
ट्रेड युनियन आन्दोलनबाट जन्मेको लेबर पार्टीलाई कुनै समय कामदार वर्ग पार्टी मानिन्थ्यो। जसको पकड देशको उत्तर र मध्य भागमा थियो। कन्जरभेटिव पार्टीले धनीमानी र मध्यम वर्गको प्रतिनिधित्व गर्थ्यो। उसको पकड मुख्यगरी दक्षिणमा थियो।
तर, यी पार्टीले त्यो वर्गसम्बन्ध र क्षेत्रीय पकड गुमाएका छन्। गत वर्षको आम चुनावमा १९२२ यता पहिलोपटक लेबर र कन्जरेभेटिव दुवैको जम्मा मत ६० प्रतिशतभन्दा तल झर्यो। लेबर पार्टीले मात्र ३४ प्रतिशत मत पाएर भारी बहुमत ल्यायो।
अहिले लेबर प्रधानमन्त्री स्टार्मरले दायाँ ढल्केर फराजलाई सहानुभूति दिनेहरूलाई फकाउन खोज्दा उनले प्रगतिशील मत गुमाउने छन्। एन्स्ली सरकारले जीवनयापनको खर्च वृद्धिका कारण कठिनाइमा परेका मतदातालाई हेर्नुपर्ने बताउँछिन्।

कन्जरभेटिव पार्टी त अझै ठूलो संकटमा छ। उसले फराजतर्फ सरेको मतभारलाई आफूतिर आकर्षित गर्नुपर्ने छ, साथै उदारवादीहरूलाई पनि अन्यत्र जानबाट रोक्नुपर्ने छ।
राजनीतिशास्त्रीहरू एउटा परिवर्तन आइरहेको र त्यसले रिफर्म पार्टीको भविष्य बदल्न सक्ने बताउँछन्। बेलायतमा ६५० संसदीय सिटमा पहिलो हुने दलले जित्ने व्यवस्था छ। यसले साना पार्टीहरूलाई हालसम्म घाटा हुँदै आएको छ।
यी दुई पार्टीको बर्चस्वलाई चुनौती दिने दल एउटा मात्र हुन्जेल कुनै पनि सिट जित्न ३० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने बाध्यता थियो। तर, अब २५ प्रतिशत हाराहारी मत ल्याउने दलले पनि सिट जित्न सक्ने स्थिति बन्दै गएको विश्लेषकहरू बताउँछन्।
‘पहिलो हुने जित्ने व्यवस्था पहिले साना दलका लागि शत्रु थियो। अब त्यो मित्र बनेको छ,’ प्राध्यापक फोर्ड भन्छन्। एजेन्सी
Shares

प्रतिक्रिया