ग्लोबल


हनिमुन हत्या प्रकरण: पत्नी सोनमसहित ५ आरोपितलाई आज अदालत पेस गरिँदै

हनिमुन हत्या प्रकरण: पत्नी सोनमसहित ५ आरोपितलाई आज अदालत पेस गरिँदै

हत्या आरोपित: माथि बायाँबाट क्रमश: सोनम रघुवंशी, उनका प्रेमी राज कुशवाहा र बाँकी ३ भाडामा लिइएका भनिएका व्यक्ति।


नेपालखबर
जेठ २८, २०८२ बुधबार ६:३१, काठमाडौँ

भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी हत्या प्रकरणमा पक्राउ गरिएका उनकै नवविवाहित पत्नी सोनमसहित ५ जनालाई प्रहरीले उत्तर प्रदेशको गाजीपुरबाट मेघालयको शिलोङ ल्याएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मेघालय प्रहरीले उनीहरूलाई बुधबार राति अबेर शिलोङ ल्याइपुर्‍याएको हो।

सबै जनालाई आज अदालतमा पेस गरिने बताइएको छ। यसपछि प्रहरीले उनीहरूलाई घटनास्थलमा लानेछ र प्रमाण संकलन गर्नेछ। 

इन्दौर प्रहरीले चार आरोपित राज कुशवाहा, आकाश राजपुत, विशाल चौहान र आनन्द कुर्मीले आफ्नो अपराध स्वीकार गरिसकेको दाबी गरेको छ। 

मेघालय प्रहरीका अनुसार विशालले राजालाई पछाडिबाट आक्रमण गरेका थिए। जतिबेला राजासँग हनिमुन मनाउन सँगै रहेकी सोनम पनि त्यहीँ थिइन्। उनले उल्टै चिच्याएर 'उसलाई मार' भनेकी थिइन्। 

शिलोङ प्रहरीलाई उधृत गर्दै दैनिक भास्करले लेखेअनुसार पतिको हत्यापछि सोनम रेलबाट इन्दौर फर्केर भाडाको कोठामा बसेकी थिइन्। अनि एक चालकले उनलाई वाराणसीमा छोडिदिए, जहाँबाट उनी गाजीपुर पुगिन्।

राजा र सोनमबीच मे ११ मा विवाह भएको थियो। यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा शिलोङ पुगेका थिए। अन्तिमपटक परिवारसँग मे २३ मा कुरा गरेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।

यसपछि खोजी गर्दा राजा जुन २ मा मृत भेटिए भने सोनम भेटिएकी थिइनन्। अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि हत्या प्रकरण खुलासा भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad