ग्लोबल


अहमदाबाद: चरा ठोकिएर विमान खसेको आशंका

अहमदाबाद: चरा ठोकिएर विमान खसेको आशंका

दुर्घटनास्थलमा विमानको टुक्रो।


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार २०:५४, काठमाडौँ

बिहीबार दिउँसो अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको विमान कसरी दुर्घटना भयो भन्ने कुरा विस्तृत अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ।

त्यसो त आजै शुक्रबार दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परेको छ। यसबाट दुर्घटना हुनुभन्दा अघि अन्तिम क्षणका कुरा थाहा हुने भएकाले दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सन् २०११ मा व्यावसायिक सेवामा प्रवेश गरेदेखि ७८७-८ ड्र‍िमलाइनर विमान घातक दुर्घटनामा परेको यो पहिलोपटक हो। बिहीबार भएको दुर्घटनामा विमानमा रहेका २४१ जनाको मृत्यु भयो भने खसेको भवनमा रहेका धेरै मानिसको पनि मृत्यु भएको छ।

यो खबर लेख्दासम्म २७० वटा शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

सीसीटीभी फुटेजमा विमान केवल ३० सेकेन्ड हावामा रहेको देखाएको छ। त्यसपछि विमान अस्पताल र सरकारी भवनहरू भएको स्थानमा खसेको देखिन्छ। 

तर विमान उडानको भिडिओबाट दुर्घटनाको सही कारण पत्ता लगाउन लगभग असम्भव रहेको बताइएको छ।

यसैबीच विमान दुर्घटनाको कारणबारे बीबीसी हिन्दीले भारतका उड्डयन विज्ञ र पाइलटहरूसँग कुरा गरेको छ। 

यस क्रममा केही विज्ञले अत्यन्तै दुर्लभ मानिने दुवै इन्जिन फेल भएको हुने सक्ने अनुमान गरेका छन्।

तर उड्डयन विज्ञ मोहन रंगनाथनले भनेका छन्, ‘दुवै इन्जिन फेल हुने घटना एकदमै दुर्लभ हुन्छन्।’ 

भारतका केही विज्ञले भने दुर्घटनाको कारण विमानमा चरा ठोकिएको हुन सक्ने आशंका पनि गरेका छन्। 

गम्भीर अवस्थामा चरा इन्जिनमा ठोकियो भने इन्जिनले शक्ति गुमाउँछ। जस्तै: गत वर्ष दक्षिण कोरियाली जेजु एयर दुर्घटनामा भएको थियो जसमा १७९ जनाको मृत्यु भएको थियो।

अहमदाबाद विमानस्थलसँग परिचित विज्ञ र पाइलटहरूले त्यहाँ धेरै चरा रहेको बताएका छन्। 

रंगनाथन भन्छन्, ‘तिनीहरू (चराहरू) सधैँ वरिपरि हुन्छन्।’ 

गुजरातमा बितेका ५ वर्षमा विमानमा ४६२ चरा ठोकिएका घटना भएका छन्, जसमध्ये धेरैजसो अहमदाबाद विमानस्थलकै छन्। 

यो जानकारी नागरिक उड्डयन मन्त्रालयले डिसेम्बर २०२३ मा संसद्‌मा दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad