ग्लोबल


आफ्नो निकट सहयोगी इरानमाथि आक्रमण हुँदा पुटिन किन रमिता हेरेर बसे?

आफ्नो निकट सहयोगी इरानमाथि आक्रमण हुँदा पुटिन किन रमिता हेरेर बसे?

नेपालखबर
असार ४, २०८२ बुधबार १६:४०,

युक्रेनसँग युद्धको पहिलो वर्षमा जतिबेला रुसलाई ड्रोनको साह्रै खाँचो परेको थियो, त्यतिबेला उसलाई सघाउन इरान अघि सरेको थियो। उसले रुसमै ड्रोन उत्पादन कारखाना खोल्न सहयोग गर्‍यो। यसै वर्ष रुस र इरानले नयाँ रणनीतिक साझेदारीसम्बन्धी सन्धि गरे।

तर, सन्धिमा हस्ताक्षर गरेको पाँच महिनापछि इरानले इजरायली आक्रमणका कारण अस्तित्वकै खतरा सामना गरिरहेको छ। र, फोनमा कुराकानी अनि इजरायली आक्रमणको भर्त्सनालाई छाड्ने हो भने रुस कहीँ पनि देखिँदैन।

इरानी आणविक केन्द्र र ऊर्जा केन्द्रहरू ध्वस्त भएका छन्। मुलुकका कयौँ शीर्ष सैन्य कमान्डरहरू मारिएका छन्। तैपनि इरानलाई सघाउन रुस अघि सरेको छैन।

‘इरानको सवालमा रुसले इजरायल र अमेरिकासँग लडाइँको सम्भावनालाई पनि विचार गर्नुपर्ने हुन्छ। त्यसैले उसका लागि इरान बचाउनयोग्य छैन,’ रुस–इरान सम्बन्धका जानकार निकिता स्मगिन भन्छन्।

यो स्थितिले रुसको ठण्डा हिसाबकिताबलाई देखाउँछ। जसले अहिले आफ्नै युद्धलाई प्राथमिकता दिइरहेको छ। त्यसका अलावा, मध्यपूर्वका अन्य मुलुकसँग पनि सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता रुसलाई छ। विश्लेषकहरूका अनुसार पुटिन इरानको हातमा आणविक हतियार होस् भन्ने चाहँदैनन्। त्यस्तै उनी ट्रम्पसँग पनि सम्बन्ध नबिग्रियोस् भन्ने चाहन्छन्।

यो द्वन्द्वबाट तेलको मूल्य बढ्दा रुसलाई फाइदै भइरहेको छ। 

त्यसैले पुटिन यो लडाइँमा सैन्य हिसाबले सहभागी हुने वा इरानलाई ठूलो मात्रामा सहयोग गर्ने सम्भावना नरहेको विश्लेषकहरूको भनाइ छ। यसो हुनुको एउटा कारण यूएई र साउदी अरबसँग दूरी बढ्ने पुटिनको डर भएको उनीहरू बताउँछन् किनकि यी दुवै रुसको महत्त्वपूर्ण साझेदार बन्दै गएका छन्। 

त्यसैले, मस्कोले आफूलाई वार्तामा उपयोगी हुनेगरी प्रस्तुत गरिरहेको छ। 

एक दशकअघि सिरियाका बसर अल असद संकटमा पर्दा भने रुसले सैन्य हस्तक्षेप गरेको थियो। तर, १० वर्षपछि भए पनि रुसको प्रयास असफल भयो। गत डिसेम्बरमा असदको शासन पतन भयो। 

‘हतियारको कुरा गर्नुपर्दा मुख्य मुद्दा के हो भने युक्रेन युद्ध चलिरहँदा रुसले इरानलाई के पठाउन सक्छ त?’ काउन्सिल अन फरेन रिलेसन्स नामक थिंक ट्यांकका थोमस ग्राहम भन्छन्।

ट्रम्पसँगको कुराकानीमा पुटिनले इरानलाई वार्तामा बसाउन सहयोग गर्ने प्रस्ताव गरेका थिए। उनले लडाइँ सुरु भएपछि इरान र इजरायल दुवैसँग कुरा गरेर त्यसबारे ट्रम्पलाई ब्रिफिङ गरेका थिए।

तर, यसले इरानसँग दूरी बढाउने जोखिम रहेको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसनकी हाना नट बताउँछिन्। 

पुटिनको प्रस्तावका बाबजुद वार्ता निकै टाढा देखिन्छ। इजरायलले सोमबारबाट आक्रमण विस्तार गरेको छ। उसले इरानी सरकारी टेलिभिजन स्टुडिओ नै ध्वस्त पारेको छ। 

रुसको लामो समयदेखि इरानसँग निकट सम्बन्ध छ। गत वर्ष इरानको सबैभन्दा ठूलो विदेशी लगानीकर्ता रुस नै थियो। वर्षौंदेखि उसले इरानलाई हतियार आपूर्ति गरिरहेको छ। 

त्यस्तै, इजरायलसँग पनि पुटिनले मित्रवत् सम्बन्ध राखेका छन्। उनले इरानको विरोध गर्ने खाडी मुलुकहरूसँग पनि सम्बन्ध निर्माण गरिरहेका छन्।

‘पछिल्ला केही वर्षमा इरानले रुससँग हतियार मागिरहेको छ,’ स्मगिन भन्छन्, ‘उसले लडाकु विमान मागिरहेको छ, हवाइ प्रतिरक्षा प्रणाली मागिरहेको छ। तर, व्यावहारिक रूपमा रुसले केही पनि दिएको छैन। अहिले इरानले आफ्नो रक्षा गर्न सकिरहेको छैन। समग्रमा यसले मध्यपूर्वमा रुसको हैसियत कमजोर तुल्याउने छ। यति चाहिँ निश्चित छ।’

(न्युयोर्क टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad