आइतबार मध्याह्न उत्तर सिक्किमको कबी लुम्चोकस्थित माथिल्लो लिम्चुम गाउँमा गएको पहिरोले पुरिएर ५४ वर्षीय महिलाको मृत्यु भएको छ।
मृतक महिलाको नाम फुफुल्हमु शेर्पा हो। माथिल्लो लिम्चुम ग्राम पञ्चायत सदस्य छेवाङ फुर्बा शेर्पाले दिएको जानकारीका अनुसार पहिरो अपराह्न १ः३० बजे गएको हो।
माथिबाट सोरिएर आएको पहिरोको चपेटमा परी ३७ वर्षीय लाक्पा डोमा शेर्पा र २९ वर्षीय भाइचुङ शेर्पा गरी दुईजना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि गान्तोकस्थित एसटीएनएम अस्पताल भर्ना गरिएको छ।
पञ्चायत सदस्य शेर्पाका अनुसार पछिल्ला तीन दिनदेखि लगातार परिरहेको पानीका कारण आज अपराह्न पहिरो गएको हो। पहिरो गएका सताला गाउँमा कुल ८ घर थिए, जसमध्ये दुई घर पूर्ण रूपले क्षतिग्रस्त भएका उनले बताए।
यस क्षेत्रलाई जोड़्ने सड़क मार्गलाई ठाउँ–ठाउँमा गएको साना ठूला पहिरोले क्षति पुऱ्याएका छन्।
आज यस क्षेत्रका विधायक एवं राज्यका मन्त्री कर्मा लोडे भोटियालगायत प्रशासनिक अधिकारीहरूले पहिरोग्रस्त क्षेत्रको भ्रमण गरी क्षतिको आकलन गरेका थिए।
Shares
प्रतिक्रिया