इरानले गत वर्ष अमेरिका र इजरायलद्वारा आक्रमण गरिएका आफ्ना प्रमुख आणविक स्थल निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायका निरीक्षकलाई अनुमति नदिने जनाएको छ।
मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा पहिलो चरणको वार्ता भएपछि इरानले मंगलबार यस्तो धारणा सार्वजनिक गरेको हो।
तेहरान र वासिङ्टनबिच भएको समझदारीपछि इरानको आणविक कार्यक्रम तथा प्रतिबन्ध राहतलगायत विषयमा अन्तिम सहमति खोज्न ६० दिनको वार्ता प्रक्रिया सुरु भएको जनाइएको छ।
मंगललबार अन्तिम सम्झौताका लागि कूटनीतिक प्रयास तीव्र बनाइएको छ।
इरानी अधिकारी मध्यस्थकर्ता पाकिस्तानसँग वार्ताका लागि अघि बढेका छन् भने अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले खाडी क्षेत्रका सहयोगी राष्ट्रको भ्रमण सुरु गरेका छन्।
लेबनान र इजरायलका प्रतिनिधि पनि वासिङ्टनमा प्रत्यक्ष वार्ताका लागि जाने तयारीमा छन्।
यसैबिच इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का निरीक्षकलाई पुनः प्रवेश दिन सहमत भएको भन्ने अमेरिकाको दाबी अस्वीकार गरेको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आईएईएका महानिर्देशकसँग कुनै भेटवार्ता नभएको तथा अमेरिका र इजरायलको सैन्य आक्रमणबाट क्षति पुगेका आणविक केन्द्रको निरीक्षणसम्बन्धी कुनै योजना नरहेको बताएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले भविष्यमा उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्ने सहमति जनाएको दाबी गरिरहेका छन्।
गत वर्ष अमेरिका र इजरायलले इरानका फोर्डो, नातान्ज र इस्फहानस्थित आणविक केन्द्रमा आक्रमण गरेका थिए।
उक्त आक्रमणबाट भएको क्षतिको वास्तविक अवस्था भने स्पष्ट नभएको जनाइएको छ।
इरानका संयुक्त राष्ट्रसंघ राजदूत अली बहरेनीले पनि आईएईए निरीक्षकलाई प्रवेश दिने सम्बन्धमा कुनै निर्णय नभएको दाबी गरेका छन्।
यसैबिच इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले हर्मुज स्ट्रेट युद्धअघिको पूर्ण स्वतन्त्र अवस्थामा तत्काल फर्कन नसकिने धारणा राखेका छन्।
यद्यपि दुवै पक्षले जलमार्ग खुला राख्न सञ्चार संयन्त्र स्थापना गर्न सहमति जनाएका छन्।
समुद्री अनुगमन संस्था केप्लरका अनुसार सोमबार हर्मुज हुँदै ३५ वटा वस्तुवाहक जहाज पार भएका छन्, जुन द्वन्द्व सुरु भएयताकै उच्च सङ्ख्या हो।
यसैबिच ओमान र इरानले हर्मुज मार्ग व्यवस्थापन तथा त्यहाँ प्रदान गरिने सेवाका लागि लाग्ने लागतबारे अध्ययन गर्ने सहमति गरेका छन्।
Shares

प्रतिक्रिया