यही जुलाई १७ मा जापानको संसद्ले राजपरिवारको उत्तराधिकारसम्बन्धी कानुनमा ठुलो परिवर्तन गरेको छ। नयाँ कानुनअन्तर्गत शाही परिवारले अब १५ वर्ष वा सोभन्दा माथिका टाढाका पुरुष नातेदारलाई धर्मपुत्र बनाएर आफ्नो परिवारमा समावेश गर्न पाउनेछ।
साथै शाही परिवारका महिलाले अब सामान्य व्यक्तिसँग विवाह गरे पनि आफ्नो शाही हैसियत र आधिकारिक जिम्मेवारी गुमाउने छैनन्। यद्यपि सबैभन्दा महत्त्वपूर्ण नियम बदलिएको छैन। त्यो हो- जापानमा पुरुष मात्र सम्राट बन्न सक्छन्। यसको अर्थ सम्राट नारुहितोकी एक्ली छोरी राजकुमारी आइको सिंहासनको उत्तराधिकारी हुन सक्ने छैनन्।

जापानको शाही परिवारलाई संसारको सबैभन्दा पुरानो निरन्तर सञ्चालन हुने राजवंश मानिन्छ, तर हाल यो उत्तराधिकारको गम्भीर संकटसँग जुधिरहेको छ। वर्तमान सम्राटकी एक मात्र छोरी छिन्। तर उनी राजा हुन पाउँदिनन्। किनकि जापानको कानुनले पुरुषलाई मात्र सिंहासनको उत्तराधिकारी हुन अनुमति दिन्छ।
शाही परिवारमा सिंहासनको उत्तराधिकारी केवल तीन जना छन्। पहिलो लाइनमा सम्राटका कान्छा भाइ राजकुमार फुमिहितो छन्, त्यसपछि उनका १९ वर्षीय छोरा राजकुमार हिसाहितो छन् र तेस्रोमा ९० वर्षीय राजकुमार हिताची छन्।
जापानमा महिलालाई सम्राट बनाउने मुद्दा धेरै वर्षदेखि छलफलमा छ। जनमत सर्वेक्षणले अधिकांश जापानी नागरिक महिला सम्राट बनाउन चाहने देखाएको छ। सन् २०२४ को क्योडो न्युज सर्वेक्षणमा ९० प्रतिशत जापानी नागरिकले महिला सम्राटलाई समर्थन गरेका थिए। यद्यपि सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का परम्परावादी नेताहरूले यसको विरोध गरेका छन्।
उनीहरूको तर्क छ- जापानको शाही परिवार लगभग २००० वर्षदेखि पुरुष वंशमा आधारित छ। महिलालाई सम्राट बनाइयो भने पितृवंशीय परम्परा तोडिनेछ। यो परम्परा जापानी राजतन्त्रको विशेषता भएको जिकिर गर्दै यो परिवर्तन गर्न नहुने उनीहरूको भनाइ छ।
यसकारण जापान सरकारले महिलालाई सम्राट बनाउने कानुन बनाउन सकेन। एजेन्सी
Shares

प्रतिक्रिया