हङकङमा यो सातौँ दौड हो, यसपालि कीर्तिमान रचेँ : सुनमाया (अन्तर्वार्ता)

हङकङमा यो सातौँ दौड हो, यसपालि कीर्तिमान रचेँ : सुनमाया (अन्तर्वार्ता)

सन्तोष तामाङ
माघ ७, २०८१ सोमबार ११:२१, हङकङ

हङकङमा शनिबार भएको अल्ट्रा म्याराथनमा नेपालकी सुनमायाले नयाँ कीर्तिमान राखिन्। उनले १०० किलोमिटरको दौडमा यसअघिको ११ घण्टा २८ मिनेट २१ सेकेन्डको रेकर्ड ब्रेक गर्दै निर्धारित दूरी ११ घण्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गरिन्।

त्यस्तै, शुक्रबार भएको ५६ किलोमिटर (हाफ)को दौडमा यिनै सुनमायाकी बहिनी राममायाले पनि कीर्तिमान रचेकी छिन्। राममायाले ५ घण्टा ३४ मिनेटमा निर्धारित दूरी पार गरी यसअघिको रेकर्डभन्दा २४ मिनेट अघि दौड पूरा गरेकी हुन्।

अल्ट्रा म्याराथनमा कीर्तिमान राखेकी सुनमाया बुढासँग नेपालखबरले गरेको कुराकानी:

हङकङमा तपाईँको पहिलो यात्रा हो?
होइन। यसअघि धेरै पटक आएको थिएँ। पहिलो पटक सन् २०१६  मा आएँ। एक्सन एसिया आयोजक रहेको एमएस आईजी हङकङ ५० किलोमिटर दौडमा दोस्रो भएँ। यो दौड लान्ताउ आइल्यान्डमा भएको थियो।

त्यसपछि कहिले-कहिले आउनुभयो?
पहिलोचोटि हङकङ आएर फर्केको केही महिनामै फेरि मलाई अर्गानाइज कम्पनीले बोलायो। अनि त्यही शीर्षक ५० किलोमिटर दौडमा सामेल भएँ।

त्यतिखेर साइकुङ रुट दौडिएको थिएँ। त्यसमा पनि दोस्रो भएँ।

तेस्रो यात्रा २०१८ मा भयो। अक्सफाम ट्रेलवकर १०० किलोमिटर दौडमा भाग लिन। त्यतिखेर एक्सन एन पावर आयोजक थियो। 

हाम्रो टिमले समग्रमा दोस्रो स्थान बनायो। ४ जना नेपाली महिला आएका थियौँ- रसिला तामाङ, छोक्की शेर्पा, छेच्ची शेर्पा र म। म बाहेक अरूको दौडका लागि विदेश यात्रा पहिलो थियो।

यहाँ नेपालीहरूको आत्मीयता र सहयोगले निकै उत्साहित थियौँ।

यसपछि सन् २०२२ र २०२३ मा द नर्थफेस दौडमा भाग लिएँ। दुवै वर्ष प्रथम भएँ। २०२२ मा ५० किलोमिटर र २०२३ मा १०० किलोमिटरको दौड भएको थियो।

कीर्तिमान रचेका दिदीबिहनी राममाया (बायाँ) र सुनमाया

अहिले तपाईँको कति औँ पटक हो हङकङ यात्रा?
अहिले ७औँ पटकको हङकङ यात्रा हो।

सातै वटा यात्रा दौडकै लागि हो?
हो।

हङकङ बाहेक अरू कुन कुन देश पुग्नुभएको छ?
दर्जनौँ देश पुगिसकेको छु।

सबै दौडकै क्रममा हो?
हो।

कुन-कुन देश पुग्नुभयो भनिदिनुस् न।
चीन, थाइल्यान्ड, ओमन, फ्रान्स, स्पेन, स्वीजरल्यान्ड, इटाली लगायत दर्जन बढी देशमा पुगेको छु।

२०२२ मा तीन देशीय १०० किलोमिटर सीसीसीमा भाग लिएँ। यो दौड फ्रान्स, इटाली, स्वीजरल्यान्डको रुट हुँदै भएको थियो। यसमा म दोस्रो भएँ।

देशभित्र (नेपाल) पनि दौडमा भाग लिनुभएको होला?
देशभित्र २ दर्जनभन्दा बढी दौडमा भाग लिइसकेको छु। नेपालमा प्राय: ५० किलोमिटरअन्तरगतका दौडमा भाग लिएको छु।

साथ-सहयोग कस्तो छ?
बाबाआमाले साथ दिनुभएको छ। देशभित्र र बाहिरबाट सहयोग गर्नेहरू हुनुहुन्छ। गुरुहरुले पनि निरन्तर सहयोग गरिरहनु भएको छ।

करिअरको सुरुआतमा हरिबहादुर रोकाया गुरुले प्रशिक्षण दिनुभएको थियो। पछिल्लो समय अस्ट्रेलियन कोच एन्डी डु बोइस प्रशिक्षक्ष दिइरहनुभएको छ।

दौडमा दिदीबहिनी नै प्रथम हुनुभयो?
हो, दिदीबहिनी नै प्रथम भयौँ। दोहोरो खुसी मिलेको छ। हङकङ १०० वर्ल्ड सिरिजले आयोजना गरेको १०० किलोमिटर दौडमा विजेता भएँ। बहिनी पनि ५६ किलोमिटर (हाफ) तर्फ प्रथम भइन्। जसका लागि स्पोर्ट्स कम्पनी कैलाशप्रति आभारी छु।

२०२४ बाट मलाई यो कम्पनीले स्पोन्सर गरिरहेको छ। यो कम्पनीसँग  २०२५ सम्मको सम्झौता रहेको छ।

दुवै जनाले कीर्तिमान रच्नुभयो होइन?
हजुर।

कस्तो लाग्दैछ त?
दिदीबहिनीले एक साथ आएर विदेशमा यसरी कीर्तिमान रच्न पाउनु त्यो भन्दा आफ्नो देशप्रतिको गर्व अरू के नै होला र!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .