ad ad

अन्तर्वार्ता


एमाले अध्यक्षमा ओलीको विकल्प छैन, अरु सबै पदमा चुनाव हुन्छ : महेश बस्नेत (अन्तर्वार्ता)

एमाले अध्यक्षमा ओलीको विकल्प छैन, अरु सबै पदमा चुनाव हुन्छ : महेश बस्नेत (अन्तर्वार्ता)

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेत। तस्बिर : विक्रम राई/नेपालखबर


ज्ञानेन्द्र खड्का/सागर न्यौपाने
कात्तिक २६, २०७८ शुक्रबार ९:३८, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेत अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। एमालेका युवा नेताहरुमा चाँडै राजनीतिक उचाइ लिनेमध्ये उनी एक हुन्। भक्तपुरमा कुनै बेला अस्तित्वको संघर्ष गर्ने एमालेलाई बस्नेतले पहिलो पार्टीका रुपमा उभिने अवस्थामा पुर्याएका छन्। चाँडो राजनीतिक उचाइ लिएका उनै महेश बस्नेत पटक पटक फरक खालका विवादमा पनि जोडिने गरेका छन्। अझै पनि कुनै आन्दोलन गर्नुपर्दा महेश बस्नेतलाई नै अध्यक्ष ओलीले अघि सार्छन्। कुनै समय माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विरुद्ध युथ फोर्सको नेतृत्व बस्नेतले नै गरेका थिए।

२०५४ सालको स्थानीय निर्वाचनमा २२ वर्षकै उमेरमा भक्तपुरको गुण्डु गाविस अध्यक्ष जितेर चर्चामा आएका उनी राजनीतिमा चतुर खेलाडी मानिन्छन्। बस्नेत अहिले एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारी पदमै लड्ने तयारी गरिरहेका छन्। भक्तपुर क्षेत्र नम्बर २ बाट संघीय सांसद उनी आफ्नो नेतृत्वमा भक्तपुरको विकासले गति लिएको बताउँछन्। एमालेको दसौँ महाधिवेशन एक कोशेढुंगा सावित हुने दाबी बस्नेतले गरेका छन्। महेश बस्नेत​सँग नेपालखबरले गरेको संवाद : 

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी कस्तो हुँदैछ?
नेपालको कम्युनिष्ट आन्दोलनभित्र एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चर्चित भइरहेको छ, बहुआयामिक जस्तो पनि देखिएको छ। कम्युनिष्ट आन्दोलनभित्रका धेरै मुद्दाहरु र धेरै बिषयबस्तु सम्बोधन गर्ने ढंगले अगाडि बढ्न खोजेको छ। यो कम्युनिष्ट आन्दोलन विभाजनपछिको महाधिवेशन हो वा कम्युनिष्ट आन्दोलनको एकीकृत स्वरूपको महाधिवेशन हो भन्ने बहस छ। हामीले चाहिँ यसलाई एकीकृत कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमालेको ऐतिहासिक महाधिवेशन भनेका छौँ। किनभने विगतदेखि धेरै कम्युनिष्ट आन्दोलनसँग जोडिएका नेताहरु हामीसँग क्रमशः जोडिनु भएको छ। अब एमालेकै एउटा पंक्ति छुट्टिएर गएकाले विभाजनपछाडिको महाधिवेशन जस्तो पनि देखिँदैछ। वैचारिक रुपमा पनि मार्क्सवाद, लेनिनवाद र बहुदलीय जनवादलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा कुनै त्यस्तो गम्भीर असहमति नभइसकेपछि यो महाधिवेशन एकताको जस्तो हुँदैछ।

व्यवस्थापनका हिसावले उत्कृष्ट हुनेछ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को जुन अभियान छ, त्यसलाई अगाडि बढाई मुलुकको नेतृत्व गर्ने हिसावले यो महाधिवेशन एउटा माइलस्टोन (कोशेढुङ्गा) सावित हुने गरी अघि बढ्दैछ। 

एमालेलाई विधि र पद्धतिमा अगाडि बढाउनुपर्छ भन्ने माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु नहुँदा कति असर गर्ला?

दुईधारको संघर्षको नाममा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई असली ढंगले हामीले कार्यान्वयन गरेका छौँ। पार्टीभित्रैका अन्तरविरोधलाई वर्ग शत्रुसँग मिलेर प्रकट गर्ने र एक अर्कालाई आरोप प्रत्यारोप गर्ने अर्काे पंक्ति अराजक छ। हामी विधि पद्धतिवाला हो, तर अर्काे पंक्ति गलत ढंगले हिँडेको छ भन्ने हाम्रो परम्परागत रोग नै हो। 

त्यसो भइरहँदा माधव कमरेडहरुले जुन निर्णय गर्नुभयो, मलाई लाग्छ सैद्धान्तिक, राजनीतिक, वैचारिक, संगठनात्मक र मतदाताको आकर्षणको हिसावले पुष्टि गर्न सक्नुभएको छैन। 

उहाँहरु बिहान उठेदेखि नसुतेसम्म एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुग्नुभयो। यो गठबन्धन चुनावसम्म कायम हुन्छ भनिरहनु भएको छ। अर्ली इलेक्सनमा कुनै हालतमा जाँदैनौं भन्नु भएबाट उहाँले एमाले विभाजन किन गरेको पुष्टि गर्न सक्नु भएन। एमालेमा उहाँले सोचेको जस्तो क्षति पनि भएको छैन। एमाले आउँदो निर्वाचनमा जनताको परीक्षणका रुपमा गइरहँदा माधव र प्रचण्डलाई त निकै ठूलो चुनौती हुँदै हो। कांग्रेस पनि त्यस्तै चुनौती ठानेर गठबन्धन नटुटाउने कुरामा लागेको छ। गाउँघरतिर ‘झुम्के बुलाकी दिउँला, फुली दिउँला’ भनेर केटाकेटी फकाएको जस्तो कांग्रेसले गरिरहेको छ।

गठबन्धन बनाइ दिउँला, माधव र प्रचण्डलाई जिताइ दिउँला भन्ने खालको जुन अभिव्यक्ति आइरहेको छ, यसले के देखिन्छ भने कांग्रेसले एमालेलाई निकै ठूलो चुनौती ठानेको छ।

तपाईंले यसरी भने पनि विगतमा माधव नेपालसँग बसेर अहिले एमालेमै रहेका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गर्ने चाहनामा साथ देलान् त?  
माधव नेपालसँग जोडिनुभएका केही साथीहरुलाई अब हामीले त्यही नजरबाट हेर्नुपर्ने दिन सकियो। किनभने कम्युनिष्ट आन्दोलनका अन्तरविरोधहरु कहिले पनि स्थायी हुँदैनन्। राजनीतिभित्रका शत्रुता पनि स्थायी हुँदैनन्। पछिल्ला दिन योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टको कुरा सुनौँ न। उहाँहरुले पार्टीभित्रको अन्तरविरोधका सन्दर्भमा माधव नेपाललाई साथ दिएको पार्टीलाई सही दिशामा लैजानुपर्छ भन्ने मान्यताका आधारमा हो। तर, बुझ्दै जाँदा माधव नेपाल निहुँ खोजेर पार्टी विभाजन गर्ने दिशामा जानुभएको अनुभूति भयो। 

पार्टीलाई एकताबद्ध बनाउन गठित एउटा कार्यदलले दश बुँदे सहमति माधव कमरेडसँग पटक पटक छलफल गरेर गरेको थियो। तर, त्यसलाई उहाँले मान्नुभएन। त्यसले माधव कमरेडले पार्टी विभाजन गर्न खोज्नुभएको निष्कर्षमा पुगेपछि रघु पन्त, अष्टलक्ष्मी शाक्य जस्ता माधव नेपालसँग कहिले छुट्टिनु हुँदैन भन्ने नेताहरुले समेत उहाँलाई साथ दिनुभएन। किनकी विभाजनको पक्षमा उहाँहरु जानुभएन।

त्यसो हुँदा पूर्व सम्बन्धका आधारमा माधव नेपालसँग जोडिएका नेताहरुले एमालेमा गुटबन्दी गर्ने म देख्दिनँ। अब त्यसो हुँदा हुँदै पनि व्यक्तिहरुले महाधिवेशनमा आफूलाई केही प्रमोट गर्ने वा स्थापित गर्न फरक विचार अघि सार्न सक्नुहुन्छ।

भिडियो

जस्तो विधान महाधिवेशनपछि घनश्याम भुसालले आफ्ना विचार भनेर कमिटीका बैठकमा होइन, सञ्चारमाध्यममा अघि सार्नुभएको छ। उहाँले फरक अस्तित्व देखाउन वा लोकप्रियता देखाउन वा मिडिया खपतका लागि फरक विचार राख्न सक्नुहुन्छ। त्यो पनि घनश्याम र भीम रावलले मात्र गर्नुहोला अरुबाट हुँदैन। बाँकी कुरामा हिजो एमाले सुन्तला जस्तो थियो, अहिले स्याउ जस्तो हुने चरणमा गएको छ।

एमालेमा दश बुँदे सहमति कार्यान्वयन भइसक्यो कि बाँकी छ? अनि दश नेताको अस्तित्व एमालेमा छुट्टै छ कि विलीन भयो? 
पहिला हाम्रो पार्टी क्याडरबेसका रुपमा विकास गरेका थियौं, अहिले संसदीय मोर्चाहरुमा भाग लिएको र मास बेस पार्टी कांग्रेससँग प्रतिस्पर्धा गर्नु परेकाले हामी सेमिक्याडरबेस पार्टी जस्तो भएका छौँ। कार्यकर्तामा आधारित र जनतामा पनि आधारित जस्तो।

त्यसो हुँदा हाम्रा पार्टीका सबै कुरा निर्देशित ढंगले अगाडि बढ्न सक्दैनन्। पार्टी र निश्चित नेताहरु बसेर कुरा गर्दैमा त्यो एमालेमा लागू हुँदैन। दश बुँदे कार्यान्वयन गर्ने सन्दर्भमा सिर्जनात्मक र रचनात्मक ढंगले मातहत कमिटीहरुले कार्यान्वयन गरिसके, समस्या छैनन्। सुदूरपश्चिमका केही जिल्लामा छन् भन्ने सुनिएको छ। तर, मूलभूत रुपमा त्यो कार्यान्वयन भयो भन्ने निष्कर्ष हामीलाई रिपोर्टिङ भइसकेको छ। 

भीम कमरेडले उठाउनु भएको कुरा १० प्रतिशत केन्द्रीय सदस्यको मनोनयनमा हो। महाधिवेशन आउन १४/१५ दिन मात्र बाँकी हुँदा नयाँ केन्द्रीय सदस्य कसरी मनोनयन गर्ने? यो त अव्यवहारिक भयो। त्यहाँमाथि विधान महाधिवेशनले केन्द्रीय समिति संख्या २ सय ३५ मा सीमित गरिदिएको छ। यही कमिटीबाट धेरै साथीहरु विदा हुनुपर्ने अवस्था छ, त्यसमा थप नयाँ साथीलाई टीका लगाइदिएर अरु साथीहरुको बीचमा निराशा र अँध्यारो बनाउने स्थिति सही हुँदैन।

अर्काे कुरा मनोनयनको मर्म के हो भने, हामीले जबजको संगठनात्मक विधि अपनाएपछि हाम्रा कमिटी पूर्ण निर्वाचित हुन्छन्। सबै पद निर्वाचित गर्छौं। कांग्रेस भन्दा पनि हामी लोकतन्त्रवादी छौँ। अब १० प्रतिशत विभिन्न पार्टी छोडेर हाम्रो पार्टीमा आउनु भएका साथीहरुलाई समेट्ने भन्ने विधानको भावना हो।

दश बुँदे कार्यान्वयन भएन भनेर भीम कणले मात्र उठाउनुभएको छ। अब दश नेताहरु छुट्टै भेट्ने, छुट्टै छलफल, बहस गर्ने अवस्था देखिँदैन। अहिले रामबहादुर थापा ‘बादल’ महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक र सुरेन्द्र पाण्डे सहसंयोजक हुनुभएबाट पार्टीमा कुनै पनि आग्रह र गुटबन्दी छैन भन्ने कुरा प्रष्ट छ।

तर, भीम रावलको के माग एमालेले सम्बोधन गरेन त? उहाँले सुदूरपश्चिम प्रदेश कमिटी बैठक नै बहिष्कार गर्नुपर्ने स्थिति बनिसक्यो? 
उहाँलाई सुदुरपश्चिम इन्चार्ज बनाउने कुरा पनि जम्मा १५ दिनको लागि मात्र हो। त्यसले के काम हुन्छ र? त्यसमाथि महाधिवेशन कमिटी फर्मेशन भए पछि हाम्रा केन्द्रीय कमिटी निष्क्रिय हुन्छन्। हाम्रोमा अध्यक्षमण्डल बनाएर कमिटी भंग गर्ने प्रचलन छ। त्यसो हुँदा अबको १५ दिन भनेको हामी सबै समान स्टाटसमा हुन्छौं। त्यसकारण यो कुनै इस्यु हो भन्ने मलाई लाग्दैन।

भीम कमरेड र घनश्याम कमरेडको के होला भने, हाम्रो पार्टीमा ७० वर्षे उमेर हद लागु भएको छ। आउँदो महाधिवेशनमा उहाँहरु ७० नाघ्नु हुने भयो। र, अहिले केपी ओलीको विकल्पमा अध्यक्षमा दाबी गर्ने स्थिति पनि देखिँदैन। दाबी नै गरे पनि त्यो निकै फितलो र प्रभावहीन हुन्छ। 

त्यसो भएर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नको लागि आवेशात्मक गतिविधि गर्नुभएको हुनसक्छ। उहाँहरु दुवैजना कम्युनिष्ट आन्दोलनको विचारक र राष्ट्रवादी नेता हुनुहुन्छ। तैपनि उहाँहरुले एमालेमा विद्रोह गरेर, असन्तुष्टि व्यक्त गरेर आफू स्थापित हुने चरण असफल भइसक्यो। त्यसकारण उहाँहरुले पार्टीको मूल प्रवाहमा समाहित भएर संगठनको मूल धारमा सँगसँगै सहकार्य गर्ने कुरा नै उहाँको लागि उचित हो। 

अध्यक्षसहित एमालेको १५ जनाको पदाधिकारी टिम कस्तो बन्ला? 
अध्यक्ष सर्वसम्मतिमै चुनिन्छ। केपी ओलीको विकल्पको सम्भावना अहिलेसम्म कोही देखिँदैन। बाँकी पदहरुमा चुनाव हुन्छ। गुटबन्दी हुँदा बरु सजिलो हुँदो रहेछ, किनभने गुटले आफैँ मिलाएर ल्याउँथ्यो। गुट नहुँदा आकांक्षी जति सबैले दाबी गर्ने भए। नेताहरुले पनि यसलाई उठ् र उसलाई नउठ् भन्न मिलेन। त्यसकारण पदाधिकारीमा धेरै जनाको उम्मेदवारी पर्ने देखिन्छ।

फेरि हाम्रो विधानले के सजिलो गरिदियो भने पदाधिकारी उठेका व्यक्ति केन्द्रीय सदस्य पनि उठ्न पाइने व्यवस्था छ। पदाधिकारी हार्दा पनि केन्द्रीय सदस्य जित्ने सम्भावना रहन्छ। त्यसो हुँदा पनि पदाधिकारीमा धेरैको उम्मेदवारी पर्ने संभावना छ। त्यसले नयाँ नेतृत्व जन्मिने आधार बन्ने देखिन्छ। 

पदाधिकारीमा चुनाव हुन्छ र? 
अध्यक्षबाहेक सबै पदमा चुनाव हुने देखिन्छ। अब अध्यक्षको मनोविज्ञान मैले के बुझेको छु भने, कुनै पदाधिकारीमा यसलाई जिताऊ, उसलाई नजिताऊ भनेर यो पटक भन्नुहुन्न। मुख खोल्ने पक्षमा उहाँ हुनुहुन्न। 

यदि चुनाव भयो भने माओवादीमा नगएर एमालेमै बसेका नेताहरुको अवस्था के होला ? 
हाम्रो पार्टी एकता प्रक्रियाका लागि एकदम स्विटेबल रहेछ विगतदेखि नै। हाम्रो सातौँ महाधिवेशनमा जस्तो लाग्छ, झलनाथ खनालले सबैभन्दा पपुलर मत ल्याउनुभयो। त्यसपछि रविन्द्र अधिकारीले ल्याउनुभयो। त्यसकारण एकताबाट आएका साथीहरुलाई एमाले अनुकुल पार्टी भएकाले मलाई लाग्छ एकता प्रक्रियाबाट आएका साथीहरुलाई विवेक पुर्‍याएर भोट हाल्छन् साथीहरुले। प्यानल लिष्ट नबनाउँदा पनि मलाई लाग्छ, एकता प्रक्रियाबाट आएका साथीहरुले पूर्ण ढंगले आफ्नो स्थान पाउँछन्। हामीसँग एउटा परिपक्व अभ्यास छ। 

यो महाधिवेशनमा तपाईँ कुन पदमा उठ्ने तयारीमा हुनुहुन्छ ? 
हाम्रो पार्टीमा महाधिवेशनमा पहिल्यै उम्मेदवारी घोषणा गर्ने लविङ गर्ने प्रचलन छैन। अहिले पनि कसैले उम्मेदवारी दाबी गरेको जस्तो मलाई लाग्दैन। मेरो हकमा म भूमिकाले नै स्थापित भइसकेको छु, पदले भन्दा पनि। 

अहिले केन्द्रीय सदस्य छु तर, साथीहरुले मलाई सिनियर नेता जस्तै स्थान दिनुभएको छ। मिडियाले पनि दिएको छ, त्यसैले अहिले नै मैले कुन पदमा उम्मेदवार हुने सोच भन्ने बनाइसकेको छैन। तर, केन्द्रीय सदस्य भन्दा त केही माथि जाने गरी उम्मेदवारी हुन्छ। अब नेताहरु र साथीहरुसँग सल्लाह हुनै बाँकी छ। म छलफल र सल्लाहकै चरणमा छु। 

उसो भए यसपाली अध्यक्ष केपी ओलीलाई मरिमेटेर सहयोग गर्नेहरू नै पदाधिकारीमा बढी आउलान्?
नेतृत्वको सुरक्षा कवचका रुपमा खटिने हामीलाई नै सबैभन्दा बढी खतरा हुने रहेछ। हामीले पनि नेतृत्वको सुरक्षा जिम्मा लियौं। सुरक्षामा खटिँदा मीठो नमिठो बोल्यौँ होला, कतिपयका चित्त पनि दुख्यो होला। त्यो परिवेशमा हाम्रो बाध्यता पनि थियो। अब एकथरी साथीहरु अलि सेलिब्रेटी टाइपका छन्। अलिकति कलाकारिता देखाउने खालका पनि हुनुहुन्छ। हामीजस्ता नेतृत्व र आन्दोलन बचाउन छुचो हुनुपर्ने, विवादमा आउनुपर्ने, अनेक खालका आरोप खेप्नुपर्ने, भएका नभएका आक्षेप भिर्नुपर्ने हुनाले हामी पनि नेतृत्व सँगै चाहिन्छ भन्ने हो। 

१५ जनाको पदाधिकारी टिममा नयाँ अनुहार आउँछन्? 
जरुर आउँछन्। आउनुपर्छ। नेतृत्वलाई पदाधिकारीमा ल्याउने तीन थरि नेताको आवश्यकता छ।

कामकाजी नेता चाहियो हामी जस्तै। नेतृत्वको सघाउ गर्ने काम र कर्मबाट स्थापित भएका। समावेशिताको मोडेल भएकोले समावेशी अनुहार पनि समेट्नुपर्यो। अब, अर्काे आन्दोलनमा लामो समय खट्नुभएका, योगदान गर्नुभएका नेताहरु समेटिनुपर्यो। उहाँहरुको सम्मान पनि गर्नुपर्‍यो। कामकाजी साथीहरु, देखाउनुपर्ने साथीहरु र सम्मान गर्नुपर्ने साथीहरु यी तीन खालका नेताहरुको व्यवस्थापन १५ भित्र हुने देखिन्छ।

चितवन महाधिवेशन आगामी चुनावको रिहर्सल जस्तो देखिन्छ। खासमा चितवनमै महाधिवेशन किन गर्नुपरेको हो? 
हाम्रो अधिवेशन यसअघि चितवन, नेपालगञ्ज र जनकपुरमा हुने गरेको थियो। भूगोलका हिसाबले पनि चितवन देशको केन्द्र हो। यसअघि माओवादीका साथीहरुले पनि चितवनलाई देशको राजधानी बनाउन खोजेका थिए। खासमा हाम्रा साथीहरुले पहिले पनि चितवनमा महाधिवेशन गर्न खोज्नु भएको थियो। चितवनमा आवासीय हिसाबले गर्न सकिँदैनथ्यो कि भन्ने थियो। अर्को चार पाँच लाख अट्ने चौर छैन भन्ने थियो। तर यस पटक चितवनका साथीहरुले नारायणी तीरमा ५/७ लाख मानिस अटाउन सकिने बताउनुभयो।

पर्यटकीय नगरी सौराहामा पनि ४/५ हजार मानिसलाई आवासीय रुपमा राख्न सकिने कुरा भयो। त्यहीकारण चितवनमा महाधिवेशन गर्न लागेका हौँ। त्यसो भनिरहँदा अँध्यारोमा हानेका तीर प्रचण्डलाई लागे जस्तो भएको छ। चितवनमा महाधिवेशन गरेर प्रचण्डलाई एमालेले चुनौती दिनु भनेको झिँगालाई गुलेलीले हाने जस्तो हो। प्रचण्डलाई चुनौती दिनलाई यो २०६४ साल होइन। यो १४ वर्षमा नारायणीमा धेरै पानी बगिसकेको छ। एमालेले प्रचण्डलाई केन्द्रित गरेर चितवनमा महाधिवेशन गरेको होइन। 

विभाजित भएको परिस्थितिमा पनि एमाले चुनावमा जान हतार छ। तपाईंहरूमा चुनाव सामना गर्ने तयारी के छ? 
हामीसँग पार्टी बलियो छ कि कमजोर छ भन्ने मापनका लागि केही इन्डिकेटर छन्। जस्तो सदस्यता नवीकरणलाई हेरौँ न। विगतमा सदस्यता नवीकरण गर्न कार्यकर्तालाई पटक पटक ताकेता गर्नुपर्थ्यो।

धेरै साथीहरुको पैसा हाल्नुपर्थ्यो। अर्को आर्थिक संकलनको कुरा हेर्नु न। महाधिवेशनका लागि प्रत्येक सदस्यबाट सय रुपैयाँ उठाउँदा सबैजना तयार छन्। २०/३० करोड रुपैयाँ चन्दा उठाउनुपर्थ्यो, व्यापारीहरूसँग। पहिले चन्दा उठाएकै कुरा मुख्य हुन्थ्यो। यो पटक पार्टी सदस्यबाट पैसा उठाउँदा समाचारको विषय नै भएन। कार्यकर्ताबाट केही सय पैसा उठाएर हामी महाधिवेशन गर्न सक्ने भएका छौँ। 

२०५४ सालतिर महाधिवेशन गर्दा कार्यकर्ता पंक्ति पूरै निराश थिए। अर्कातिर युवा पंक्तिहरुमा पनि उत्साह हुँदैनथ्यो। पछिल्लो समय देशभरी २ हजार, ३ हजार युवाहरुले मोटरसाइकल ¥याली निकाल्छन्। बालुवाटारबाट बालकोट जाँदा दशौँ हजार युवाहरु सहभागी हुन्छन्।

२०६४ सालमा अधिकांश एमालेका युवाहरु माओवादीतिर लागेका समाचार आउँथे। हाम्रा मजदुर युनियनका साथीहरु माओवादीतिर लाग्यौँ भन्थे। तर अहिले अवस्था त्यसको ठ्याक्कै उल्टो छ। त्यसैले हामी आगामी निर्वाचनमा बहुमत ल्याउँछौँ भन्ने हाम्रो बुझाइ हो। अर्को कुरा फेरि पनि राजनीति अस्थिरतातर्फ जाँदैछ। हामीले दलसँग सम्बन्धित ऐन ल्याउँदा थ्रेस होल्ड ३ प्रतिशत र दल फुटाउँदा ४० प्रतिशत राखेर स्थिरता दिन खोजेका थियौँ। 

केपी ओली नेतृत्वकै सरकार हुँदा हामीले विकासलाई गति दिएका थियौँ। हरेक दिन उद्घाटन र शिलान्यास हुन्थे। अब विकृत राजनीतिलाई सफाइ गर्ने अभियान पनि हो निर्वाचन। च्याँखे दाउ थाप्ने, अवसरवादी नेताहरुलाई साइजमा राख्ने माध्यम पनि हो निर्वाचन। अहिले त सदनले बिजनेस नपाएर कामै गर्न सकेको छैन। अर्कातिर न्यायालयमा पनि तनाव छ। कार्यपालिका पनि सुस्त छ। संयन्त्र बनाउँदैछन् तर त्यसको पनि औचित्य पुष्टि हुने अवस्था छैन। राज्यका तीनै अंग निष्क्रिय भएका बेलामा यी तीनै अंगलाई सक्रिय बनाउन सक्छ निर्वाचनले।

एमालेले सबैथोक गुमायो, संघको सरकार गुमायो, प्रदेश सरकार गुमायो। पाँच दलको चुनौती एमालेले कसरी फेस गर्छ? 
गठबन्धन बनाउँदा पनि १२१ सिट आएको हो। पार्टी मिल्दा मात्रै बहुमत भएको हो। माधव नेपालले छाड्दा पनि हामी सय हाराहारीमा छौँ। त्यो हिसाबले हामीले ४० महिना चलायौँ। जनताले दिएको मतको दर हेर्ने हो भने खासै घाटा भएको छैन।

पार्टीमा गम्भीर संकट आउँदा नेताहरु कहिले दरबारको प्वालमा गएर निवेदन हाल्ने, कहिले पार्टीलाई देउवाको पाउमा सुम्पिने काम भए। तर अदालतको फागुन २३ को फैसलासँगै हामी जागेका छौँ। पार्टीले गति लिएको छ। हामीले विधि, पद्धति, संविधान र लोकतन्त्रको पनि सम्मान गर्नुपर्ने हुन्छ। हामी अहिले प्रतिपक्ष भएका छौँ, तर यसलाई लिएर हामीले पीडाबोध गरेका छैनौँ, पछुताएर बसेका छैनौँ। 

तीन वर्षदेखि एकताका नाममा हाम्रो गतिविधि भएको थिएन। तर अब हामीले पार्टीलाई गति दिन ७ हजार बढी वडामा अधिवेशन गरेका छौँ। ७ सय ५३ नगर अधिवेशन गरेका छौँ। यसबीचमा विधान महाधिवेशन शानदार सम्पन्न गरेका छौँ। त्यहाँ ६ हजार बढी कार्यकर्ता डाकेर तलसम्म विभाजनको असर छैन भन्ने देखायौँ। मंसिर १० गते जनताको तहमा विभाजन छैन भनेर ५ लाख बढी कार्यकर्ता चितवनमा उतार्दैछौँ। 

हाम्रा अध्यक्ष केपी शर्मा ओलीबारे जुन भ्रम थियो, त्यसलाई गठबन्धन सरकारले नै चिर्न थालेको छ। जनतामा गठबन्धन एमालेभन्दा गए गुज्रेको रहेछ भन्ने सन्देश गइसकेको छ। यसले हामीलाई राम्रो गरेको छ। सायद सरकारमा हुँदै हामी चुनावमा गएका भए यी भ्रम चिर्न हामीलाई कठिन हुन्थ्यो। मलाई लाग्छ, हामीले अबको चुनावमा स्पष्टीकरण दिनै पर्दैन, नमस्ते गरे पुग्छ।

गठबन्धन त गतिलो भएन ठीक छ। तर चुनावमा जाँदा एमालेलाई पनि एजेण्डा चाहिएला नि? एमालेले जनतामाझ के लिएर जान्छ?
स्थिरताको एजेण्डा त कायमै हुने भयो। हाम्रो कुरा त के हो भने कांग्रेस, माओवादी, माधव नेपालको दल र अन्य साना दल पनि मिलून् भन्छौँ हामी त। उहाँहरु मिलेर आउँदा राजनीतिक स्थिरतालाई सहयोग नै गर्छ। हामीले समृद्ध नेपाल, सुखी नेपालीको नारा छाडेका छैनौँ।

अर्कातिर हामीले हिजो नाकाबन्दीको सामना गर्दा होस् या लिम्पियाधुरा, लिपुलेक फिर्ता अभियान चलाउँदा राखेका राष्ट्रियताका अडानबारे जनता विज्ञ छन्। यसलाई निरन्तरता दिने गरी अघि बढ्छौँ। शान्ति, सुशासन, स्थिरता र सुरक्षाका एजेण्डा हामीसँग छन्। आगामी निर्वाचनमा वैचारिक र सैद्धान्तिक हिसाबले पनि एमाले अब्बल हुनेछ। देशको नेतृत्व गर्न सक्ने पार्टी एमाले नै हो। कांग्रेस आफैं थिलथिलो छ। कांग्रेस नेतृत्वदायी भूमिकामा काम गर्न सक्दैन। यस्तोमा हाम्रो विकल्प छैन।

एमालेको सरकारमाथि भ्रष्टाचारका अनेक आरोप लागे। अहिले माधव नेपालले पनि हरेक भाषणमा भ्रष्टाचार आरोप लगाइरहनु भएको छ। यसबारे तपाईंहरु के भन्नुहुन्छ?
हिजो हामी सत्तामा हुँदा आरोप लगाउनु भयो। आज सत्तामा हुनुहुन्छ, छानबिन गरे भइगयो नि। भ्रष्टाचारको ट्रयाक रेकर्ड हेर्नुभयो भने पनि खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले र गोविन्दराज जोशीहरू जेल नै परे। एमालेका कुनै नेता भ्रष्टाचार अभियोगमा जेल परेको त हामीले सुनेका छैनौँ। मोहम्मद आफताब आलमहरु गम्भीर अपराधमा जेल परे। एमालेका नेता त त्यसरी जेल परेका छैनन्। हाम्रो स्कुलिङ फरक छ। त्यो कुरा जनतालाई बुझाउ सकेनौँ होला। 

जहाँसम्म केपी ओली सरकारको पालाको कुरा छ। ओम्नी, संसारभरी कोभिडका कारण स्वास्थ्य सामाग्री अभाव भएका बेलामा सरकारले चीनबाट मगाउँदा, खरिद गर्दा ओम्नी सहभागी भएको हो। त्यसमा मन्त्री, उपप्रधानमन्त्री सहभागी भएको हो कि होइन, विभाग मात्रै संलग्न हो कि? यस्तोमा ओम्नीको धरौटी नै जफत भएको अवस्थामा उसले अब थप काम गर्न पाउँदैन। यस्तोमा भ्रष्टाचार आरोप मात्रै हो। यो कुरा कसैले पुष्टि गर्न सक्लान् भन्ने लाग्दैन।

अर्को कुरा यति ग्रुपले गोकर्ण रिसोर्टको जग्गा लिजमा चलाइरहेको थियो। गोकर्णको रिसोर्ट यतिले भाडामा नलिइ किनेको भए रोपनीको २ लाखले पाउँथ्यो। अहिले त्यहाँ आनाको २५ लाख पुगेको छ। यतिले बाहिर किनेको भए उसले करोडौंको जग्गा पाउँथ्यो होला नि? यसतर्फ हामीले हेरेकै छैनौँ। हाम्रो मनोविज्ञान के छ भने नेपाली व्यवसायीहरुलाई हौसला दिँदैनौँ। यति ग्रुप भन्नुस्, दुर्गा प्रसाईं भन्नुस्। उनीहरुले करोडौं रुपैयाँ बैंकबाट निकालेर लगानी गरेका हुन्छन्।

हामी उनीहरुलाई माफिया भनिदिन्छौँ। तर विदेशबाट चोर बाटो आएर, कानुन मिचेर, भ्रष्टाचारको च्यानल बनाएर हिँड्ने शक्तिलाई हामी सम्मान दिन्छौँ। नेपाली व्यवसायीले गर्दा हामी विरोध मात्रै गर्छौं। चन्द्र ढकालले चन्द्रागिरीमा लगानी गर्दा वनको कुरा उठाएको छ, अनेक कुरा उठाएको छ। तनाव दिने काम गरेको छ। नेपालीलाई सघाउनुपर्छ भन्छु म।

एमालेले भ्रष्टाचार गरेको भन्ने लाग्छ भने समातेर, छानबिन गरेर जेल हाले भयो नि त। त्यसो भन्दा माधव नेपाल र बाबुराम भट्टराई बालुवाटार जग्गामा जोडिएका कुरा के हुन्। अदालतमा समेत सेटिङ गरेको कुरा आएको छ। त्यसको पनि छानबिन गर्नुपर्ला। वाइड बडीमा शेरबहादुर देउवाजीको के हो? क्यान्टोनमेन्टका कुरा पनि छन्। अहिले स्रोत नखुलेको सम्पत्ति विदेशबाट ल्याएर लगानी गर्न दिने भनिएको छ। जनार्दन शर्माजीले अवैध लगानीको ढोका खोलि दिनुभएको छ।

अहिले आएर स्टिल उद्योगहरुलाई उहाँले भन्सार छुट दिँदा तीन अर्ब घोटाला भएको छ भन्ने कुरा आएको छ। तीन अर्बमध्ये डेढ अर्ब त अर्थमन्त्रीकै हातमा पुगेको छ भन्ने पनि आएको छ। तथ्य नभइ धेरै कुरा आज म भन्दिनँ। तर आइरन स्टिलको भन्सार छुटका नाममा उहाँले जुनखालको सेटिङ गर्नुभएको छ। तीन वर्षलाई पुग्ने कच्चा पदार्थ भित्र्याए वापत तीन अर्ब चलखेल भएको सुनेका छौँ। त्यसमध्ये डेढ अर्ब जनार्दनजीको हातमा पुगेको सुनेका छौँ। यो भरपर्दो सूचना हो, अनुसन्धान गर्दैछौँ। खुल्छ यसको कुरा। 

अन्तिम प्रश्न, भक्तपुरमा आएर कांग्रेस सभापति शेरबहादुर देउवादेखि गगन थापासम्मले चुनौती दिइरहेको अवस्था छ। हिजोको एमालेको पकडलाई तपाईंले कसरी जोगाउनु हुन्छ?
भक्तपुरमा हिजोको पकड होइन, आजको पकड हो। तपाईंलाई एउटा कुरा भनौँ। २०६२/६३ मा सबैभन्दा ठूलो आन्दोलन भक्तपुरमै भएको हो। वैशाख १२ गते हाम्रो नेतृत्वमा यहाँबाट आन्दोलन गएर त्रिपुरेश्वरमा गोली चलेपछि मात्रै निर्णायक भएको हो। त्यहीकारण राजाले वक्तव्य फेर्न बाध्य भए। किन भने त्यतिखेर मिडिया थिएनन्।

त्यसबेला भक्तपुरमा त्यति ठूला आन्दोलन हुँदा पनि मिडियाको नजर नपर्दा चर्चा भएन। आज भक्तपुर शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र गगनसमेत आएर मलाई चुनौती दिइरहनु भएको छ। यो चार वर्षमा भक्तपुर राष्ट्रिय राजनीतिको केन्द्र भएको छ। दशैँ तिहारमा काठमाडौं, ललितपुरमा गतिविधि भएनन्, सबै भक्तपुरमै भए। यो सबै हाम्रो पकड भएर नै सम्भव भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .