ad ad

अन्तर्वार्ता


राप्रपाको एकता राजेन्द्र लिङ्देनमा निर्भर छ : कुन्ती शाही (अन्तर्वार्ता)

राप्रपाको एकता राजेन्द्र लिङ्देनमा निर्भर छ : कुन्ती शाही (अन्तर्वार्ता)

शपथग्रहणका क्रममा महामन्त्री कुन्ती शाही। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
मंसिर १९, २०७८ आइतबार १७:४, काठमाडौँ

राजावादी र हिन्दुवादी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सकिएको छ। जसबाट अध्यक्षमा दोहोरिने योजनामा रहेका कमल थापाले अप्रत्यासित पराजय भोग्नु परेको छ। झापाका राजेन्द्र लिङ्देनले नेतृत्व खोस्न सफल भएका छन्। 

यस्तोमा पराजित भएका थापाका धेरै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएका छन्। थापाकै प्यानलबाट निर्वाचित एकजना नेतृ हुन् कुन्ती शाही। दैलेख निवासी उनी चर्चित अभिनेत्री रेखा थापालाई पराजित गर्दै महिलातर्फ महामन्त्री बन्न सफल भएकी छन्।

आफूले महामन्त्री जिते पनि अध्यक्षमा थापा पराजित भएपछि उनलाई खल्लो लागेको छ। कुन्तीले थापालाई योजनावद्ध षडयन्त्रसहित हराइएको बताएकी छन्। महामन्त्री शाहीसँग नेपालखबरले गरेको संवादको सम्पादित अंश : 

राप्रपाको महामन्त्री हुनु भयो, कस्तो महसुस गर्नु भएको छ? 
भर्खरै मात्र महामन्त्रीमा निर्वाचित भएकी छु। शपथ ग्रहण कार्यक्रममा सहभागी हुँदैछु। ३२ वर्षदेखि राप्रपामा रहेर राजनीतिमा सक्रिय छु। राप्रपा स्थापनाको एक वर्षपछि म सक्रिय भएकी थिएँ। यति लामो राजनीतिक यात्रापछि महामन्त्री बनेकी छु। स्वभावैले खुसी छु। तर अझै पनि मेरा लागि चुनौती बाँकी नै रहेको ठानेकी छु। 

चर्चित अभिनेत्री रेखा थापालाई हराउनु भयो नि?

रेखा थापा आफैंमा चर्चित अभिनेत्री हुन्। उनीसँगको प्रतिस्पर्धा पक्कै पनि रोचक थियो। स्वभाविक रुपमै रेखाप्रति महाधिवेशन प्रतिनिधि र कार्यकर्ताको पनि क्रेज थियो। रेखा आफ्नै भूमिकाबाट स्थापित भएकी हुन्। उनी एउटा राम्रो अभिनेत्री हुन्।  राजनीतिमा आएकी छन्, मैले स्वागत नै गरेको छु। उनीसँग महाधिवेशनका क्रममा स्वस्थ प्रतिस्पर्धा गरेँ, हारजित जे भए पनि म उनलाई सम्मान गर्छु। 

विजयी भएपछि कुरा भयो त?
म विजयी भइसकेपछि कुरा हुन पाएको छैन। मतदान अघिसम्म उनका मान्छेले मैले बोलेका कुरा भाइरल बनाए। तर मैले त्यसलाई अन्यथा लिएको छैन। मैले जन जिब्रोको भाषा बोलेकी थिएँ। तर त्यसलाई मेरो कमजोरी ठानेर भाइरल बनाउने काम भयो। तर रेखासँग मैले राजनीतिक रुपमा स्वस्थ प्रतिस्पर्धा भएको ठानेकी छु। मत परिणामपछि रेखाबाट मलाई बधाई आएको छ। रेखाप्रति मेरो अथाह सम्मान छ, कुनै किसिमको तिक्तता बोकेकी छैन। यसलाई म सामान्य रुपमा लिन्छु। 

तपाईंले जित्दा अध्यक्षमा कमल थापा त हार्नु भयो नि? 
अध्यक्षमा कमल थापालाई षडयन्त्रपूर्वक हराइएको छ। उहाँले भनेका कुरा भोलिका दिनहरुमा प्रमाणित हुँदै जाने छन्। सबै शक्ति लागेर उहाँलाई हराएका छन्। पराजयको कारण विभिन्न हुन सक्छन्। तर उहाँलाई विभिन्न किसिमले लामै समयदेखि धरापमा पारियो। उहाँलाई राजनीतिक रुपमा ड्यामेज नै गरियो। उहाँ जस्ता राष्ट्रवादी व्यक्ति जन्मिन धेरै गाह्रो छ, त्यस्ता व्यक्ति फेरि पाउन चुनौतीपूर्ण छ। त्यस्तो व्यक्तित्वलाई राजनीतिक रुपमा मर्न दिनु हुँदैन। उहाँको व्यक्तित्वको शान छ,  उहाँलाई हामीले बचाएर लैजानुपर्छ। 

आखिर कसले हराउन खोजेको हो त?
यसमा धेरै कुरा छन्। राजाकै वरिपरिका मानिसले पनि चलखेल गरेका छन्। जुन किसिमको विवादमा पार्ने काम गरेका छन्, त्यो आपत्तिजनक छ। हामीले कुनै बेला राजा र हिन्दु राज्यको मुद्दा बोक्दा मारिने अवस्थामा थियौँ। मर्न र मार्न तयार भएर बोकेको एजेण्डा यहाँसम्म आएको छ। तर तिनै एजेण्डा बोक्नेलाई हराउन खोजिनु, हराउनु दुर्भाग्यपूर्ण हो। 

किन हराइयो त?
उहाँ राष्ट्रियताको मुद्दा दह्रोसँग उठाउने नेता हो। उहाँको व्यक्तित्वलाई प्रहार गरेर हाम्रा मुद्दालाई कमजोर बनाउनेले हराउन लागे। उहाँमाथि हुँदै नभएका विभिन्न लान्छना लगाइएको छ। भोलिको दिनमा सबैले ती कुरा थाहा पाउँछन्। भ्रमको खेती गर्नेले पनि हराउने काम गरे। 

राप्रपाको एकता जोगिएला त? 
एकता महाधिवेशनपछि राप्रपा एक भएर जाने विश्वास लिएकी छु। अब नवनिर्वाचित अध्यक्षको व्यवहारमा पनि धेरै कुरा निर्भर हुन्छ। जोखिम त राजनीतिमा नहुने कुरै भएन। एकता महाधिवेशन भइसकेपछि हामीले परिणाम भोगेका छौँ। अध्यक्षले नै सबैलाई एकै ठाउँमा लिएर जानु भयो भने पार्टी बलियो हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .