अन्तर्वार्ता


राष्ट्रसंघमा नेपाल इजरायलविरुद्ध उभिँदा दु:खी छौँ, तटस्थ बसिदिए हुन्थ्यो : राजदूत गोदर (अन्तर्वार्ता)

राष्ट्रसंघमा नेपाल इजरायलविरुद्ध उभिँदा दु:खी छौँ, तटस्थ बसिदिए हुन्थ्यो : राजदूत गोदर (अन्तर्वार्ता)

नेपालका लागि इजरायली राजदूत हनान गोदर (तस्बिरः विजय सिंह)


सन्तोष घिमिरे
पुस २३ , काठमाडौँ

हनान गोदर नेपालका लागि इजरायली राजदूत हुन्। राजदूतका रुपमा नेपालमा उनको यो दोस्रो कार्यकाल हो। उनले केही समयअघि नेपाली राष्ट्रिय गानलाई हिब्रु भाषामा अनुवाद गरेर प्रशंसा कमाएका थिए। 

नेपालमा मौलिक वस्तु, खाना र चिज मन पराउँछन् गोदर। उनले हालै आफ्नो निवासमा दुई वटा कुखुरा समेत पाल्न थालेका छन्। नुवाकोटको ककनीबाट ल्याइएका ती चल्लालाई उनले ‘ककनी’ र ‘स्काउट’ नाम दिएका छन्। फाट्टफुट्ट नेपाली भाषा समेत बोल्ने राजदूत गोदर नेपाली खाजामा मःम रुचाउँछन्। नेपाल–इजरायल सम्बन्ध तथा सहकार्यलगायत विषयमा राजदूत गोदरसँग नेपालखबरले गरेको संवादः

तपाईं दोस्रो पटक नेपालमा राजदूत भएर काम गर्दै हुनुहुन्छ। के कारणले नेपालमा दोहोरिनुभयो? 
नेपाल धेरै हिसाबले सुन्दर मुलुक हो। प्रकृतिले नेपाललाई धनी त बनाएकै छ। यहाँको संस्कृति पनि उत्तिकै रोचक छ। यहाँका मान्छे मित्रवत् छन्। नेपाल आउने जोकोही विदेशीलाई पनि यी कुराले मन छोएको हुन्छ। नेपालको पर्यटन मन्त्रालयको नारा नै छ– ‘नेपाल वन्स इज नट इनफ’। यो नारा मेरा हकमा पनि सार्थक हुन पुग्यो। यहाँको जनजीवनसँग घुलमिल हुन र मित्रता बढाउन एकपटकको बसाइ मात्र काफी छैन। त्यसैले दोहोरिएर राजदूतका रुपमा आएको छु। दोस्रो कार्यकाल रमाइलोसँग चलिरहेको छ। नेपालका विभिन्न ठाउँ घुमिरहेको छु। इजरायलका शुभेच्छुक मित्रसँग भेट्न पाउँदा निकै खुसी छु। सकेसम्म धेरै ठाउँ घुम्न चाहन्छु। घुम्ने क्रम जारी छ।​ 

नेपालका धेरै क्षेत्र पुगेको भन्नुभयो, सबैभन्दा बढी मनपरेको ठाउँ चाहिँ कुन हो? 
यो प्रश्न त कुन फल मिठो भनेजस्तो भयो। हामीलाई सबै फल मिठो नै हुन्छ। नेपालका ठाउँ घुम्दा पनि मलाई त्यस्तै लाग्छ। तराई जाँदा तराई राम्रो, हिमाल जाँदा हिमाल र पहाड जाँदा पहाड नै राम्रो। काठमाडौँको शिवपुरी पुगेर काठमाडौँ नियाल्दा उत्तिकै राम्रो लाग्यो। लाङटाङ पुग्दा त्यहाँको सुन्दर छटाले मलाई निकै तान्यो। त्यहाँबाट गणेश र गौरीशंकर हिमशृङ्खला अवलोकन गर्दाको मनमोहक अनुभव वर्णन गरेर साध्यै छैन। वास्तवमा नेपालमा म जहाँ पुगेँ, ती सबै ठाउँ राम्रो लाग्यो, कुन राम्रो कुन नराम्रो भन्ने नै छैन। 

पछिल्लोपटक उपत्यका बाहिर कहाँ जानुभयो?
दुई साताअघि म जनकपुर पुगेको थिएँ। त्यहाँको धार्मिक वातावरण, रहनसहन र जनजीवन मलाई राम्रो लाग्यो। त्यहाँको एक स्कुलका मायालु विद्यार्थीसँग रमाइलो भेटघाट भयो। अनि हामीले मन्दिर पनि घुम्यौँ, त्यहाँका पुजारीसँग आशीर्वाद लियौँ। म गंगासागर पनि गएँ। मन्दिरवरपर सरसफाइमा पनि सामेल भयौँ। जनकपुर साँच्चिकै रमाइलो छ। त्यो यात्रा मेरा लागि अविस्मरणीय रह्यो। 

इजरायल-नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ६ दशक भयो। हाम्रा छिमेकी भारत र चीनले समेत इजरायललाई स्वतन्त्र मुलुक नमानिसकेको अवस्थामा नेपालले इजरायलसँग सम्बन्ध स्थापना गरेको थियो। इजरायलले नेपालसँगको सम्बन्धलाई कत्तिको महत्व दिएको छ? 
नेपालसँगको सम्बन्ध हाम्रा लागि निकै महत्वपूर्ण छ। नेपालले पनि हामीसँगको सम्बन्धलाई उत्तिकै महत्व दिँदै आएको छ भन्ने लाग्छ। सन् १९६० को दशकमा दुई देशबीच सम्बन्ध स्थापित भयो। स्टेट अफ इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने नेपाल एसियाबाटै पहिलो मुलुक थियो। नेपालको यो गुन इजरायलले कहिल्यै बिर्सिने छैन। यी ६० वर्षमा द्विपक्षीय सम्बन्ध सौहार्द रहे। अबका ६०० वर्ष पनि सम्बन्ध यसैगरी अघि बढून्।​ 

अलिकति पुरानो कुरा उप्काऔँ। नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले इजरायल भ्रमणमा सुरक्षा क्षेत्रमा दुई देशबीच सहयोग आदानप्रदान भयो। इजरायलले नेपाल सरकारलाई ५ सय थान हतियार उपलब्ध गराएको भनिन्छ...
बीपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ राम्रो बहुमतसहित प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो। जनताको साथ थियो। उहाँले त्यसबेला मुलुकको कृषि, विज्ञान र सुरक्षा लगायतका विभिन्न क्षेत्रमा नयाँ थालनी गर्नुभएको हामीले पढेका छौँ। त्यतिबेला नेपाललाई कुनैखाले सुरक्षा खतरा महसुस भएकाले हुनसक्छ, प्रधानमन्त्री बीपी र उहाँको रक्षामन्त्रीले इजरायलसँग सुरक्षा सहकार्यसँग सम्बन्धित निर्णय गर्नुभयो। बीपी कोइरालाको नाम नेपालको इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा लेखिएको छ। उहाँको प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको विश्वास मजबुत भएका कारण उहाँ नेपाली राजनीतिमा लोकप्रिय रहनुभएको हामीले पढेका छौं। 

पञ्चायती व्यवस्था लागू गरेपछि तत्कालीन राजा महेन्द्रले पनि इजरायलसँग सम्बन्ध सुदृढ गर्नुभयो। उहाँ इजरायल जानुभयो र इजरायलका तत्कालीन राष्ट्रपति जलमन सजर पनि नेपाल आउनुभयो। त्यसपछिका वर्षमा छिटफुटबाहेक द्विपक्षीय भ्रमण हुन सकेनन्। के कारणले सम्बन्धमा सुस्तता आयो? 
इजरायलका त्यसबेलाका राष्ट्रपति सजर नेपाली सेना दिवसको दिनमा नेपाल भ्रमणमा आउनुभएको थियो। त्यो बेला एक प्यारा ट्रुपको समूहलाई प्यारासुटबाट टुँडिखेलमा हामफाल्न लगाइएको थियो। सायद त्यसरी प्याराट्रुपले प्रदर्शनी गरेको नेपालमा पहिलोपटक थियो। त्यो भ्रमणमा पनि इजरायल र नेपालबीच सुरक्षा सहकार्यबारे विचार आदानप्रदान भएका थिए। त्यो भ्रमण ऐतिहासिक थियो। 

तपाईंले भनेजस्तो सम्बन्धमा सुस्तता आएको छैन। सम्बन्ध त्यसपछिका दिनमा पनि उत्तिकै मजबुत छ। सबै क्षेत्रमा हाम्रो सम्बन्ध मजबुत छ। हामीबीच सुरक्षा क्षेत्रमा पनि राम्रो सहकार्य रहँदै आएको छ। भविष्यमा पनि सहकार्य जारी रहनेछ।  उच्चस्तरीय भ्रमण नहुँदैमा सम्बन्ध खस्कियो भन्नु ठिक होइन। उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने कुरा समग्र द्विपक्षीय सम्बन्धको एउटा पाटो मात्रै हो। सन् १९७९ मा इजरायलका विदेशमन्त्री स्वर्गीय डायनको नेपाल भ्रमण भयो। पछि सन् १९९३ मा नेपालका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको इजरायल भ्रमण भयो। त्यसैगरी सन् २०१६ मा नेपालका परराष्ट्रमन्त्री कमल थापा इजरायल भ्रमणमा जानुभयो। हामीले सम्बन्धमा कति प्रगति गर्न सफल भयौँ भनेर सारमा हेर्नुपर्छ, न कि भ्रमणको संख्यामा।​

इजरायल-नेपालबीच अहिलेका सहकार्यका मुख्य क्षेत्र के छन्? 
हाम्रा बीचमा कृषि, विद्यार्थीलाई छात्रवृत्ति, श्रम र लगानीजस्ता क्षेत्रमा सहकार्य जारी छ। धेरै कम नेपालीलाई यो विषय थाहा होला। जस्तो कि, इजरायली कम्पनीले नेपालमा हाइटेक क्लास रुम चलाइरहेका छन्। नेपालका २५, ३० वर्षका युवाले इजरायली कम्पनीका लागि सफ्टवेयर निर्माण गरिरहेका छन्। कोरोना महामारीका बेलाबाहेक हरेक वर्ष १० हजार इजरायली नागरिकले नेपाल भ्रमण गरेका छन्। ती इजरायली पर्यटक केही दिन घुम्न आउने खालका होइनन्। उनीहरु एकदुई महिना नेपालमा बिताउने गरी आउँछन्। त्यसैगरी लर्न एन्ड अर्न (सिक र कमाउ) भन्ने नामको प्रोजेक्ट अन्तर्गत तीन हजार नेपाली नागरिक इजरायलमा कामका लागि गइसकेका छन्। ती नेपाली युवाले इजरायलको कृषि क्षेत्रमा रोजगारी पाएका छन्। उनीहरु इजरायलबाट कृषिमा नयाँ सीप सिकेर नेपाल फर्केर आत्मनिर्भर हुने मौका समेत पाएका छन्। 

हामीले अरु हजारौं छात्रवृत्ति नेपाली विद्यार्थीलाई उपलब्ध गराएका छौं। हामीले दुई लाख रुपैयाँ राशीको ‘कृषि तारा अवार्ड’ बाट नेपाली कृषकलाई सम्मान पनि गर्दै आएको छौँ। नेपालमा सात वर्षअघि विनाशकारी भूकम्प गएका बेला इजरायल पहिलो र यस्तो मुलुक थियो जसले चार वटा कार्गो विमानमा राहत सामग्री नेपाल पठाएको थियो। सयौँ टन मेडिकल उपकरण, दुई सय चिकित्सक पठाएको थियो। हामीले छाउनीमा अस्थायी अस्पताल स्थापना गरेका थियौं। 

अबका दिनमा इजरायलका तर्फबाट कुनै सहयोग हुँदैछ? 
आगामी साता इजरायलले नेपाललाई पाँच लाख सिरिन्ज पठाउँदैछ। कोरोना महामारीका बेला इजरायलले नेपाललाई मानवीय सहायता पठायो। तेलअभिवस्थित नेपाली दूतावास र तत्कालीन राजदूत अन्जान शाक्यलाई म धन्यवाद दिन चाहन्छु। किनकि उहाँले हामीलाई सहयोग नेपाल पठाउन सघाउनुभयो। कोरोना महामारीका बेला हामीले नेपाललाई सहयोग गर्यौँ, अबका दिनमा पनि सहयोग जारी रहनेछ। 

इजरायलमा रहेका नेपाली कामदारहरुको स्थिति कस्तो छ? उनीहरुका अधिकारलगायत चासो इजरायलले कसरी सम्बोधन गरेको छ? 
नेपालमा निकै मेहनती र सक्षम युवा छन्। उनीहरुले इजरायलको कृषि क्षेत्रमा गजबले काम गरिरहेका छन्। हामी उनीहरुको काम र इमान्दारिताबाट प्रभावित छौँ। इजरायलमा गएर काम गरेका नेपालीका कारण यहाँका जनताको जीवनस्तर उकास्न समेत मद्दत पुगेको छ। इजरायलका जनजीवनमा पनि उनीहरुले राम्रो योगदान दिएका छन्। अर्को महत्वपूर्ण पक्ष के छ भने नेपाली र इजरायली कामदारको श्रम अधिकार बराबर छ। तलब सुविधा, विदा, बिमा लगायतमा कुनै विभेद नेपाली कामदारलाई छैन। इजरायलको कानुनले नै स्पष्ट पारेको छ यसबारेमा। त्यही कारण पनि होला नेपाली कामदारका लागि इजरायल आकर्षक गन्तव्य बन्न पुगेको छ। 

अब तत्कालै कामदार लैजाने योजना पनि छ कि?
दुई देशबीच भएको सहमति अनुसार विगतमा हामीले नेपालबाट केयरगिभर पनि इजरायल लग्यौँ। उनीहरुले राम्रो काम गरे। अब हामी यही महिना एक हजार भन्दा बढी केयरगिभर इजरायल लैजाने तयारीमा छौँ। उनीहरु इजरायल गएपछि एक हजारभन्दा बढी नेपालीको परिवार र एक हजारभन्दा बढी इजरायली परिवारलाई ठूलो सहयोग पुग्नेछ। यसले हामी दुई मुलुकबीच ‘विन-विन सिचुएसन’ को माहौल हुनेछ।​​ 

इजरायलका लागि नेपाल किन महत्वपूर्ण छ? 
धेरै राम्रो प्रश्न सोध्नुभयो। नेपालमा पनि धेरैले प्रश्न गर्छन् कि नेपाल र इजरायलबीच के त्यस्तो कुरा छ, जसले एक अर्कालाई जोडेको छ त? पहिलो कुरा, इजरायली र नेपाली जनताबीच हार्दिक सम्बन्ध छ। यदि तपाईंले इजरायली जनतासँग कुरा गर्नुभयो भने उनीहरुले नेपाल भ्रमणमा आउने सपना बुनेको पाउनुहुन्छ। नेपाल सानो मुलुक हो। इजरायल पनि सानो मुलुक हो। दुवै मुलुक एक अर्काप्रति गहिरो सहानुभूति राख्छन्। इजरायल र नेपालका एकैखालका विभिन्न चुनौती छन्। आफ्नो मुलुकको स्वार्थ रक्षाका लागि उनीहरु इमान्दार छन्। नेपाली र इजरायली जनता आफ्नो मुलुक, भाषा, धर्म र संस्कृति पहिचानप्रति गर्व गर्छन्। इजरायल पनि ठूला सभ्यताबीच घेरिएको मुलुक हो। नेपाल पनि त्यही अवस्थितिमा छ। इजरायलले नेपाललाई आफ्नो मित्रवत् मुलुक ठान्छ। 

संयुक्त राष्ट्रसंघको महासभामा हुने मतदानमा नेपालले इजरायललाई समर्थन नगरेकोमा यहाँले नेपालको नेतृत्वसँग गुनासो गर्नुभएको रहेछ, होइन?
नेपाल र इजरायलबीचको सहकार्यका दुई भिन्दाभिन्दै पाटा छन्। एउटा द्विपक्षीय र अर्को बहुपक्षीय। द्विपक्षीय मामिलामा नेपालसँग अत्यन्त हार्दिक सम्बन्ध छ। यसबारे हामीले भर्खरै पनि चर्चा गरिसक्यौँ। तर बहुपक्षीय तथा अन्तर्राष्ट्रिय मामिलामा चाहिँ नेपाल र इजरायलबीच खासै छलफल हुँदैन। यसबारे हाम्रा दुई देशका जनता पनि खासै जानकार छैनन्। न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय महासभा र मानवअधिकार परिषद्, जेनेभामा हुने मतदानहरुमा नेपाल प्रायःजसो तटस्थ रहने गरेको हामीलाई थाहा छ। 

तर, मध्यपूर्व जोडिएका मामिलामा हुने मतदानमा नेपालको पोजिसन देखेर इजरायल नेपालसँग दुखी छ। किनकि अधिकांश मतदानमा नेपाल सधैँ इजरायलको विपक्षमा उभिने गरेको छ। यदि नेपालले इजरायललाई साथ दिन सक्दैन भने तटस्थ बसिदेओस् अथवा अनुपस्थित भइदेओस् भन्ने इजरायलको चाहना हो। तर नेपालले प्रायः इजरायलविरुद्ध नै मतदान गर्ने गरेको छ। हामीबीच यति राम्रो द्विपक्षीय सम्बन्ध छ, तर त्यसको ठिक विपरीत राष्ट्रसंघीय मञ्चमा भने नेपाल इजरायलको विपक्षमा रहने गरेको छ। हाम्रो चाहना यति मात्रै हो कि नेपालले विश्वका अरु ठूला घटनामा आफूलाई राष्ट्रसंघीय मञ्चमा जसरी तटस्थ रुपमा प्रस्तुत गर्छ, त्यो नीति कायमै राखिदियोस्। इजरायलकै पक्षमा नेपालले मतदान गरिदिनुपर्छ चाहिँ हामी भन्दैनौं।

मैले यस विषयमा नेपालका सबै राजनीतिक दल र सरोकारवालासँग कुरा गर्दै आएको छु। मैले इजरायलको विपक्षमा नेपालले राष्ट्रसंघमा अहिले लिँदै आएको नीतिमा पुनर्विचार गर्न आग्रह गरेको छु। मसँगका भेटमा सबै नेताले इजरायलप्रति सहानुभूति नै देखाउने गर्नुहुन्छ। तर राष्ट्रसंघीय मञ्चमा मतदानका क्रममा चाहिँ नेपालको पोजिसन अधिकांश समय हाम्रा विपक्षमा हुने गरेको छ। इजरायलको विपक्षमा नेपालले मतदान गर्ने नीतिमा अहिलेसम्म कुनै परिवर्तन आएको छैन। म आशा गर्छु, यसमा चाँडै परिवर्तन आउनेछ। 

इजरायल-प्यालेस्टाइन द्वन्द्वका सवालमा नेपालले दुई वटा मुलुकको अस्तित्व कायम गरेर समाधान गर्नुपर्ने (टु स्टेट सोलुसन) पक्षमा आफूलाई उभ्याउँदै आएको छ। यसमा इजरायलको आपत्ति छ र?
मध्यपूर्वको शान्तिका लागि टु स्टेट सोलुसनको सूत्र नयाँ होइन। यसबारे २० वर्षभन्दा अघिदेखि बहस र प्रयास भएका छन्। इजरायल-प्यालेस्टाइनबीचको द्वन्द्व संवादबाट हल गर्न नेपालले प्रोत्साहित गरेको कुरालाई इजरायल सधैं सम्मान र प्रशंसा गर्छ।

यति लामो समयसम्म इजरायल-प्यालेस्टाइनबीचको द्वन्द्व किन नसुल्झिएको?
हमासका कारण। एकातिर हाम्रो प्यालेटाइनका अधिकारीसँग वार्ता हुन्छ, अर्कोतिर हमासले इजरायलको अस्तित्व नै स्वीकारिरहेको छैन। हमासले प्यालेस्टाइनी अथोरिटीलाई इजरायलसँग वार्ता हुनबाट विमुख गराइ रहेको छ। अझ भनौँ, प्यालेस्टाइनी अथोरिटीलाई हमासले भड्काइरहेको छ। इजरायल वार्तामार्फत् समाधान खोज्न चाहन्छ, तर प्यालेस्टाइनी अथोरिटी चाहिँ तिनै हमासजस्ता कट्टरपन्थीका कारण सहमतिमा आउन सकिरहेको छैन। इजरायल र प्यालेस्टानबीच भूभागका लागि द्वन्द्व छ र त्यो धार्मिक द्वन्द्वमा परिणत भइसकेको छ। राजनीतिक द्वन्द्व त समाधान गर्न सकिन्छ। तर धार्मिक द्वन्द्व समाधान गर्न निकै मुस्किल छ। त्यसकारण परिस्थिति जटिल बनेको छ। संकट समाधानका लागि मध्यमार्गी बाटो खोज्न सम्भव छ। त्यसका लागि दुवै पक्षले सहमति र सम्झौताको विन्दु पहिल्याउन सक्नुपर्छ। 

इजरायली सेनाले प्यालेस्टाइनीहरुमाथि चर्को दमन गरिरहेको खबर आउँछन्। अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर ‘सेटलमेन्ट’ बनाइएको छ। मानवअधिकारको ख्याल नगरी प्रदर्शनमा उत्रिएकाहरुमाथि गोली हानिएको छ। गाजामा रहेको एसोसिएट प्रेसको कार्यलय नै इजरायली सेनाले ध्वस्त बनायो। इजरायलले मुस्लिमहरुमाथि रंगभेद गरेको आरोप समेत छ। यस्ता घटनाले विश्वमा इजरायलको छवि धमिल्याएजस्तो लाग्दैन?
मानवअधिकार इजरायलका लागि महत्वपूर्ण सवाल हो। इजरायल निर्वाचित लोकतन्त्र भएको मुलुक हो। तर हाम्रो देश र जनताका लागि सुरक्षाको सवाल निकै महत्वपूर्ण छ। हामी आत्मरक्षाका सवालमा उत्तिकै सचेत हुनुपर्यो र छौं पनि। स्वतन्त्रताको सवाल सँगसँगै स्वाभाविक रुपमा नागरिकको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण छ। इजरायलमा अहिले आठ दलीय मिलिजुली सरकार छ। जसमा सहभागी एउटा राजनीतिक दल मुस्मिल धर्ममा विश्वास राख्छ भने अर्को दल यहूदी धर्ममा विश्वास राख्छ। इजरायलमा कुल जनसंख्याको २० प्रतिशत मुस्लिम छन्। 

इजरायल र प्यालेस्टाइन द्वन्द्व समाधानका लागि के पहल भइरहेका छन् त? 
अघिल्लो साता मात्रै प्यालेस्टाइन अथोरिटी (पीए) का प्रमुख महमुद अब्बासले इजरायलको भ्रमण गर्नुभयो। हाम्रा रक्षामन्त्रीले प्यालेस्टाइनी अधिकारीलाई आतिथ्यता प्रदान गर्नुभयो। भ्रमणका क्रममा पछिल्लो परिस्थिति र भविष्यमा हुनसक्ने सहकार्यबारे कुराकानी भए। मतभिन्नता आफ्नो ठाउँमा छन्, तर इजरायल र प्यालेस्टाइनबीच संवाद पनि भइरहेका छन्। तर समस्याको निकास निस्किएको छैन।

इजरायल र अरब क्षेत्रका मुलुकबीचको अहिले कस्तो सम्बन्ध छ? 
इजरायल र अरबबीचको सम्बन्धमा परिवर्तन र सुधार भइरहेको छ। सन् २०२२ र दशकौँअघिको इजरायलमा धेरै परिवर्तन आइसकेको छ। हाम्रो अहिले जोर्डन, इजिप्ट, मोरक्को, संयुक्त अरब इमिरेट्स, बहराइन लगायत मुलुकमा दूतावास छन्। सुडान र साउदी अरेबिया लगायत मुलुकसँग पनि हाम्रो संवाद हुने गरेको छ। मध्यपूर्वको अवस्थाका बारेमा हाम्रो संवाद अरब मुलुकसँग हुने गरेको छ। 

संयुक्त अरब इरिमेट्ससँग दुई वर्षअघि हाम्रो सम्बन्ध र संवाद पुनर्स्थापित भएको थियो। तर त्यसअघि पनि हाम्रो यूएईसँग अनौपचारिक कुराकानी भएको थियो, तर त्यसलाई गोप्य राखियो। तर मध्यपूर्वकै सवालमा कुरा गर्दा अर्को मुलुकको प्रसंग आउँछ, त्यो हो इरान। इरान कट्टरपन्थी मुलुक हो, जसले इजरायलको अस्तित्व चाहँदैन अथवा इजरायललाई सिध्याउन चाहन्छ। यस्ता मुलुकसँग इजरायलको सम्बन्ध हुन सक्दैन। इरानले पारमाणविक हतियार उत्पादन गरिरहेको छ र उसले धार्मिक उद्देश्यका लागि ती हतियार प्रयोग गरिरहेको छ, जुन विश्वको शान्तिका लागि खतराको विषय छ। त्यहाँ मानवअधिकार हनन व्यापक छ। त्यहाँका अल्पसंख्यक पीडित छन्। इरानको काम विश्व शान्तिका लागि खतरा हो। तर यो मध्यपूर्वको समस्या होइन, केवल इरान आफ्नो मात्रै हो। इरानकै कारण मध्यपूर्वको समग्र शान्तिमा नकारात्मक असर पारेको छ भन्न चाहिँ सकिन्छ। 

एकजना विदेशी कूटनीतिज्ञका हिसाबमा भन्नुपर्दा बदलिँदो विश्व परिवेशमा नेपालको विदेश नीति कस्तो देख्नुहुन्छ? चुनौती कस्ता छन्?
नेपाल दुई ठूला मुलुकको बीचमा छ। यो अवस्थितिले नै नेपालको विदेश सम्बन्ध र राष्ट्रिय चरित्रलाई परिभाषित गरेको छ। बदलिँदो विश्व परिवेशमा देखिएका चुनौती सामनाका लागि पहिले नेपालले आफूलाई आन्तरिक रुपमा बलियो बनाउनुपर्छ। त्यसका लागि नेपालले विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्छ। म १० वर्षअघि यहाँ राजदूतका रुपमा पहिलो पटक आएको थिएँ। त्यसबेला भन्दा अहिले नेपालमा धेरै सकारात्मक परिवर्तन भइसकेका छन्। एउटा संक्रमण पार गरेर नेपाल यहाँसम्म आएको छ। नेपालको सामाजिक विकासमा धेरै प्रगति भएको छ यसबीचमा। त्यो एउटा महत्वपूर्ण उपलब्धि हो। 

नेपालको लोकतन्त्र बलियो र गतिशील छ। नेपालमा राजनीतिक नेतृत्वबारे जनताको तर्फबाट आलोचना भएको पनि सुनिन्छ। तर त्यो यहाँ मात्र होइन, सबैतिर हुन्छ। इजरायलमा पनि त्यही छ। नेपालको अर्थतन्त्रमा समेत राम्रो प्रगति भएको देख्न सकिन्छ, तथापि थुप्रै चुनौती भने छन्। नेपालको स्वास्थ, शिक्षा, वस्तु उत्पादनमा पनि राम्रो प्रगति भएको छ। म यहाँ आउँदा नेपालमा घण्टौँ लोडसेडिङ हुने गथ्र्यो। तर अहिले त्यो समस्या समाधान भइसकेको छ। 

 

पुस २३, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.