बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दीपेश थारु यतिबेला देशैभरि चर्चामा छन्। ३९ वर्षीय दीपेशले आफ्नो नगरपालिकाभित्र कार्यरत शिक्षकहरुलाई राजनीति छाड्न सात दिने अल्टिमेटम दिएपछि उनी चर्चामा आएका हुन्।
नगरपालिकाको कार्यभार सम्हाल्दै थारूले शिक्षकहरुलाई सात दिनभित्र कि राजनीतिक दल परित्याग गर्न, कि शिक्षण पेशा छाड्न भनेका छन्। सात दिनभित्र राजनीतिक दल त्याग नगरेर कानून अनुसार अघि बढ्ने मेयर थारुको चेतावनी छ।
मेयर थारु भन्छन्, ‘विभिन्न दलमा रहेर यता शिक्षण पेसामा पनि आवद्ध छ, उता नेपाल सरकारको तलब भत्ता पनि खाएको छ। उहाँहरुलाई मैले तुरुन्त यो कार्य बन्द गर्नोस् भनेको छु।’
दीपेश थारु ९ हजार ८०७ मत पाएर राजापुरको मेयर निर्वाचित भएका हुन्। राजापुरमा कांग्रेस, एमाले र माओवादी एक्ला एक्लै चुनाव लडेका थिए। दीपेश माओवादीबाट निर्वाचित भएका हुन्। यहाँ कांग्रेसका दीपकजंग शाह दोस्रो र एमालेका पहारी चौधरी तेस्रो भएका थिए। उपमेयरमा पनि माओवादीकै ३६ वर्षीया मनकला कुमारी चौधरी १० हजार ८६ मतका साथ निर्वाचित भएकी छिन्।
शिक्षकहरुलाई राजनीति छाड्न निर्देशन दिएर चर्चामा आएका राजापुरका मेयर दीपेश थारूसँग स्थानीय सञ्चारकर्मीले गरेको प्रश्नोत्तरको सारांश यहाँ प्रस्तुत गरिएको छ :
राजनीतिक पार्टीमा लागेका शिक्षकलाई ७ दिनभित्र राजीनामा दिनु भन्ने तपाईको निर्णयले देशैभरि तरंग आएको छ। यस सम्बन्धमा खास निर्णयचाहिँ के हो?
मैले भनेको छु, कानूनबमोजिम गर्छु। उहाँहरु कुनै पनि राजनीतिक दलमा आवद्ध हुनुहुन्छ भने कि त त्यो राजनीतिक दल छोड्नुस्, कि भने पेसा छोड्नुस् भनेको छु। एउटा कुरा अँगालेर आउनुस् भनेको छु। उहाँहरुले यदि त्यो कुरा अँगालेर सात दिनभित्र आउनुभएन भने म कानुनका दफाअनुसार गर्छु। यहाँबाट म ७ दिनपछि कार्यान्वयन गर्नका निमित्त सम्बन्धित ठाउँहरुमा पठाउनेछु र त्यसलाई अग्रसर भएर अगाडि बढाउनेछु।
राजनीतिक दल भातृ संगठनहरु शिक्षक संघ र शिक्षक संगठन आदि छन्। ती संगठनमा पनि बस्न नपाइने हो?
मैले पहिलो कुरा के भनेको छु भने शिक्षक संघ संगठनहरु छँदैछन्, त्यसमा राजनीति उहाँहरुले आफ्नो ठाउँबाट गर्नुहोला। पेशागत संगठनबाट उहाँहरु अगाडि बढ्न पाउनुहुन्छ। तर, यहाँ त कस्तो रह्यो भने विभिन्न दलमा रहेर यता शिक्षण पेसामा पनि आवद्ध छ, उता नेपाल सरकारको तलब भत्ता पनि खाएको छ। उहाँहरुलाई मैले तुरुन्त यो कार्य बन्द गर्नोस् भनेको छु। भोलिको दिनमा फेरि पनि नेपाल सरकारले यसलाई पनि रोक्ने भन्नेखालको मापदण्ड ल्यायो भने त्यो पनि मैले अगाडि बढाउनेछु।
तपाईँले गर्नुभएको यो निर्णय फलामको चिउरा चपाएजस्तो गाह्रो हुनेछ भन्ने व्याख्या पनि भइराखेका छन्। यसको कार्यान्वयनमा चुनौती छ कि छैन? यसलाई कार्यान्वयन गर्न सक्नुहुन्छ?
सकिन्छ। नसक्ने भएको भए म यो निर्णय गर्ने नै थिइनँ। म यसलाई कार्यान्वयन गर्छु। किनकि कार्यान्वयन गर्नका निमित्त म हिजो मर्न हिँडेको मान्छे हो। परिवर्तनका निमित्त आफ्नो ज्यान दिन तयार भएको मान्छे हुँ। तीनपटक गोली खाएको मान्छे हुँ। अहिले पनि मेरो शरीरमा गोलीका डामहरु छन्। त्यसकारण, यो सामान्य कुरा परिवर्तन गर्न सकिँदैन भने म यो कुर्सीमा बसेको अर्थ रहँदैन। त्यसैले म यसलाई कार्यान्वयन गर्छु।
मेयर साहेब, यसरी शिक्षकहरुलाई पार्टीबाट राजीनामा गराउनैपर्ने आवश्यकता किन पर्यो?
यो आवश्यकता किन पर्यो भन्दाखेरि अहिले आफ्नो पेशामा कटिबद्ध भएर नलाग्ने, अन्य चिजमा राजनीति गर्दै हिँड्ने, विभिन्न खालका नेताहरुलाई चंगुलमा पार्ने, नेतागिरी गर्ने काम भइरहेको छ। आफ्नो पेशामा बफादार भएर उहाँहरु अगाडि बढ्नुपर्ने हो। राजनीति गर्ने मान्छेले बफादार भएर राजनीति गर्नुपर्यो। पेशा गर्ने मान्छेले बफादारपूर्ण तरिकाले जुन पेशा अँगाल्नुभएको छ, त्यो पेशा अँगाल्नुपर्यो।
आज राजापुर नगरपालिका मात्र होइन, देशैभरिको शिक्षा क्षेत्र ध्वस्त भएको छ। त्यसैगरी अन्य क्षेत्र ध्वस्त भएको छ। यसलाई सुधार्न मैले सुरुआत गरेको छु। विभिन्न अन्य कार्यहरु पनि तपाईहरुले देख्दै जानुहुनेछ। राजापुर नगरपालिकामा मैले यसलाई सुरुआती अभियानको रुपमा लिएको छु।
अरु थुप्रै कामहरु गर्न जरुरी छ। यहाँ सुशासनका कुराहरु छन्। अन्य कुराहरु छन्। मैले आफ्नो फेसबुक मार्फत भनेको छु, कुनै पनि सुशासन राजापुर नगरपालिकामा कायम गर्नका निमित्त कसैले आलटाल गर्यो भने अन द स्पट मलाई फोन गर्नोस्, त्यसका लागि म हाजिर हुनेछु र त्यो समस्यालाई हल गर्नेछु भनेको छु मैले।
शिक्षामा सुधारका लागि तपाईँका कार्यक्रम के कस्ता रहेका छन्?
शिक्षामा सुधारका लागि मैले अस्ति नै निर्णय गरेको छु। राजापुर नगरपालिकामा शिक्षा कार्यविधि बनाई, दरबन्दी मिलान गरी शिक्षामा लगानी गर्ने कुराहरुमा म शिक्षकहरुलाई, गुरुजनहरुलाई के आग्रह गर्न चाहन्छु भने उहाँहरुले पनि मेहनत गर्नुहुनेछ। आर्थिक र व्यवस्थापनका कारणले रहने समस्याहरुलाई मैले मेरोतर्फबाट र नगरपालिकाका तर्फबाट गर्नुपर्ने कामहरु मैले गर्नेछु भनेको छु।
शिक्षकलाई राजनीति नगर्न भनिरहँदा देशैभरका अन्य स्थानीय जनप्रतिनिधिहरूलाई पनि केही सुझाव दिन चाहनुहुन्छ कि?
म उहाँहरुलाई के भन्न चाहन्छु भन्दाखेरि आफ्नो ठाउँबाट उहाँहरुले पनि गर्नुहोला। बुझ्नुहोला। मैले यो निर्णय गरेको छु भने उहाँहरुको पालिकामा पनि अरु यस्तै प्रभावकारी निर्णय हुन सक्ला। मलाई यो उचित लाग्यो, तत्कालका लागि मैले यो निर्णय लिएँ। उहाँहरुले पनि आफ्नो ठाउँबाट काम गर्न सक्नुहुन्छ। किनकि उहाँहरु जनमत प्राप्त गरेर आउनुभएको छ। जनताको विश्वास प्राप्त गरेर आउनुभएको छ। उहाँहरुले पनि यस्ता खालका थुप्रै कार्यक्रम गर्नुहुनेछ भन्ने आशा र विश्वास पनि छ।
भिडिओ
प्रतिक्रिया