ad ad

अन्तर्वार्ता


प्रचण्डलाई प्रधानमन्त्रीको अफर आयो, धोका दिनेको हरिबिजोग हुन्छ : माधव नेपाल (अन्तर्वार्ता)

‘गठबन्धन टुट्नेवाला छैन, अहंकार लिनेहरुको विनाश हुन्छ’
प्रचण्डलाई प्रधानमन्त्रीको अफर आयो, धोका दिनेको हरिबिजोग हुन्छ : माधव नेपाल (अन्तर्वार्ता)

बिहीबार सुर्खेत पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।


नेपालखबर
जेठ १९, २०७९ बिहिबार १५:३९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका थिए। त्यहाँ नेता नेपाल पत्रकार सम्मेलनमा प्रस्तुत भए।

स्थानीय चुनाव सकिएलगत्तै कांग्रेससँगको गठबन्धन टुटाएर वाम गठबन्धनको भित्रभित्रै तयारी भइरहेको हल्लाबारे सोधिएको प्रश्नमा नेता नेपालले थप खुलासा गरे। 

उनले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रलोभन आएको बताए। त्यसैमा थप्दै नेता नेपालले भने, ‘संकेत बुझिहाल्नुभयो, मतिर पनि आएको होला नि? यस्ता लोभलालचको भुलभुलैयामा पर्ने मान्छे म होइन।’

सत्ता गठबन्धनभित्र खटपट देखिएको विषयमा नेता नेपालले अस्वीकार गरेनन्। तर, यो गठबन्धन अर्का चुनावसम्म जाने उनले दाबी गरे।  

नेता नेपालले भने, ‘कतिपय पार्टीमा अहंकार देखिएको होला, भोलि पनि अहंकार देखिन सक्ला। अहंकार जसले लिन्छ, त्यसको विनाश हुन्छ। विनाशबाहेक अरु केही हुँदैन। हामीले हेर्दाहेर्दै सखाप हुने स्थितिबाहेक अरु केही हुँदैन। अहंकारले रावणको विनाश गर्‍यो।’

स्थानीय चुनावमा पोखरा र हेटौंडाको मेयर एकीकृत समाजवादीले जित्नु गर्वको विषय भएको नेता नेपालको विश्लेषण छ। नेता नेपालले पत्रकारहरुसँग भने, ‘एक्लै चुनावको तयारी गरेको भए अझै राम्रो नतिजा आउन रहेछ।’

प्रस्तुत छ वीरेन्द्रनगरमा नेता नेपालसँग पत्रकारहरुले गरेको कुराकानीको सम्पादित अंश :

फेरि वाम गठबन्धन बन्न लागेको हो? माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमालेका नेताहरुले प्रधानमन्त्री नै प्रस्ताव गरेको हल्ला छ, खासमा स्थानीय चुनावपछि कांग्रेससहितको गठबन्धन धर्मराएकै हो त?
चुनाव (संसदीय) भन्दा पहिले गठबन्धनमा प्रतिकूल असर पर्ने काम गर्दिनँ भनेर मैले भनेको छु। अब प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिदैँ भनेको थिएँ, प्रचण्ड कमरेड, तपाईँलाई मात्र होइन, अन्त पनि आएको होला है। मैले सांकेतिक कुरा गरेको थिएँ।

यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो। मैले अहिले सुझाव दिन चाहेको– यस्तो चालबाजीको तरिकाले विगतमा पनि नोक्सान मात्र गर्‍यो।

अब पनि चालबाजीको सहारा लिने? मान्छेलाई लोभ देखाउन सकिन्छ कि, लालच देखाएर सकिन्छ कि, यो तरिका नगरौं। संकेत बुझिहाल्नुभयो, म तिर पनि आएको होला नि? यस्ता लोभलालचको भुलभुलैयामा पर्ने मान्छे म होइन।

तपाईंहरुले स्थानीय तहको निर्वाचनमा खासै धेरै पालिका जित्न सक्नुभएको छैन। नेपाली कांग्रेसबाट राम्रो सहयोग नपाएको जस्तो लाग्दैन?
धोका दिने मान्छे म होइन। धोका दिने तरिकाहरू गर्ने सबैलाई भनेको छु, यो धोकाबाज तरिका नअपनाउनुस्, बेइमानी नगर्नुस्। जे सहमति गर्नुभएको छ, त्यसको पालना गर्नुस्। पालना गर्नुभएन भने तपाईँहरूको जोगिएको पार्टीको पनि भोलि हरिबिजोग हुन्छ। त्यसकारण पार्टीहरू सुध्रिनुपर्छ भनेर जनताले भनेका छन्।

त्यसो भए गठबन्धन टुट्दैन भनेर किन भन्नुभएको?
गठबन्धन टुट्नेवाला छैन। यसको विकल्पमा राम्रो वाला गठबन्धन छैन। दक्षिणपन्थी प्रवृत्ति भएको, संविधान मिच्ने काम गरेको, संविधान मिच्ने मात्र होइन, सबैखालका गलत काम गर्दै आएको त्यस पार्टी (एमाले) गठबन्धनको विकल्प हुन सक्दैन।

वामपन्थी गठबन्धन, लोकतान्त्रिक गठबन्धनका कमीकमजोरी होलान्, कतिपय पार्टीमा अहंकार देखिएको होला, भोलि पनि अहंकार देखिन सक्ला। त्यो अहंकार जसले लिन्छ, त्यसको विनाश हुन्छ। पहिला पनि अहंकार लिनेहरुको विनाश भएको छ।

अब पनि अहंकार कसैले अपनायो भने त्यसको पनि विनाशबाहेक अरु केही हुँदैन। हामीले हेर्दाहेर्दै सखाप हुने स्थिति बाहेक अरु केही हुँदैन। अहंकारले रावणको विनाश गर्‍यो।

स्थानीय निर्वाचनमा एकीकृत समाजवादीको पोजिसनलाई कसरी विश्लेषण गर्ने?
मत दिने कुरामा भएको अस्पष्टताले गर्दा विभिन्न ठाउँमा धेरै मत बदर भएका छन्। धेरै मत बदर भएका कारणले कतिपय सिटहरु गुमाउन पुगेका छौं। यसपटकको निर्वाचनमा, प्रणालीमा त्रुटिहरु प्रकट भएका छन्। यसलाई कसरी सुधार गर्ने भन्नेबारेमा सबैको ध्यान जानु आवश्यक छ।

खर्च गर्ने, दुरुपयोग, पैसामा किनबेच, भोज–भतेर खुवाउने प्रवृत्ति दोहरिए। कतिपय ठाउँमा निर्वाचन आयोगकै भूमिकालाई लिएर, प्रशासनको भूमिकालाई लिएर प्रश्नहरु उठे, यस्ता सबै कुरामा ध्यान जानुपर्छ। मुख्यतः निर्वाचनमा पैसाको खोलो बग्ने प्रवृत्ति बनेको छ, यो बहुत चिन्ताको विषय बनेको छ।

यसका निम्ति दुईवटा कुरा आउँछन् : पहिलो त जनतालाई सचेत र जागरुक बनाउने। जनता कसैले चुनावको बेलामा अल्मल्याएर, पैसाले किनेर ५ वर्ष देशलाई लुटेर अघि बढ्न खोज्ने प्रवृत्तिको शिकार जनता बन्दैनन्। जनताले पनि त्यो प्रवृत्तिका विरुद्धमा विद्रोहको आवाज बदल्नुपर्छ। पैसा लिएर हिँड्नेलाई सजाय दिने व्यवस्थामा पुग्नुपर्छ। यी कुराहरूका साथसाथै, अहिले हामी चुनावको समीक्षा गरिरहेका छौं।

हाम्रो पार्टीले पनि धेरै ठाउँमा महत्वपूर्ण सफलता हासिल गरेको छ। गर्व गर्न लायक नतिजा हासिल गरेको छ। पोखरा महानगरपालिकामा विजय प्राप्त गरेका छौँ। गठबन्धन दलको अरु कुनै उम्मेदवारबाट विजय हुन सक्ने अवस्था थिएन। यो पनि गर्वका साथ भन्नुपर्ने हुन्छ, पोखरा महानगरका जनताको प्यारो व्यक्तिलाई हामीले अघि सार्यौँ। त्यसपछि गठबन्धन दलका सबैको सहयोग प्राप्त गर्यौं। सहयोग प्राप्त गरेका कारणले लोकप्रिय मान्छेको जित भयो। त्यसमा गठबन्धन दललाई पनि गौरव लागेको छ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिकामा पनि मेयरको उम्मेदवारलाई विजयी बनायौं। लोकप्रिय, जनजाति महिलालाई अघि सारेर विजयी भयौं। उहाँबाहेक अरुलाई उठाएको भए जित्न कठिन हुन्थ्यो।

आज सबैले स्वीकार गरेका छन्, एकीकृत समाजवादीसँग काबिल ब्यक्ति पनि छन्। महत्वपूर्ण ठाउँमा जनताको विश्वास जितेर गठबन्धन दलको सान राखेका छन्। त्यो सानलाई अब मानमा परिवर्तन गर्नका लागि राम्रो काम गर्नुपर्छ।

त्यसैगरी हामीले अरु विभिन्न ठाउँहरुमा गठबन्धन दलको सहयोगबाट र अधिकांश ठाउँमा एक्लै आफ्नो शक्तिबाट विजय प्राप्त गरेका छौं। गठबन्धन दलभित्र पनि सहमति हुन सकेको थिएन। नगरपालिका र गाउँपालिकाका अधिकांश सिटमा बहुमत सिटसहित विजयी भएका छौं।

विद्रोह गरेर भर्खरै मात्र बनेको नयाँ पार्टी भएकाले गठबन्धन बन्ला र जितौँला भन्ने भयो। हामीले एक्लै तयारी गर्ने कम कम गर्यौं। एक्लै चुनावको तयारी गरेको भए अझै राम्रो नतिजा आउन रहेछ।

अब पार्टीलाई प्रत्येक पालिका र बस्तीसम्म पुर्‍याउने सोच्नुपर्छ। अब, निर्वाचित भएका जनप्रतिनिधिले आफ्नो योग्यतालाई व्यवहारमा देखाउनुपर्छ।

हामीसँग जोडिएका साथीहरुलाई हामी प्रशिक्षित गर्नेछौं। कसरी त्यसलाई आफ्नो पालिकालाई नमुना पालिकाका रुपमा प्रस्तुत गर्ने भन्ने सन्दर्भमा हामी प्रशिक्षण गर्नेछौं। भ्रष्टाचारभन्दा बाहिर रहेर देशभक्तिको भावनाले ओतप्रोत हुँदै जनताको सेवामा लाग्न उहाँहरुलाई सहयोग हामी गर्नेछौं। त्यसका आधारहरू भएको बजेटको सीमाबाट सम्भावनाहरू खोजेर पालिकाहरुलाई सम्पन्न बनाउन जुट्नका लागि उत्प्रेरित गर्नेछौं।

 

अहिले सरकारले ल्याएको बजेटलाई कसरी लिने?
सरकारले भर्खरै मात्र नीति तथा कार्यक्रमसहित बजेट पनि अघि सारेको छ। नीति तथा कार्यक्रमकै आधारमा आएको यो बजेट जनताको भावनालाई समेट्ने अधिकतम कोसिस गरेको छ।

बजेटमा धेरै प्रतिबद्धता गरिएका छन्, त्यसमध्ये अधिकांश प्रतिवद्धता पूरा गर्न सोच्नुपर्छ। सकेसम्म सबै प्रतिबद्धता पूरा गर्नुपर्छ।

विगतको सरकारप्रति सबैले गफाडी सरकार भनेर आकाश-पाताल जोड्ने कुरा गर्ने तर काम भुत्लोभाङ केही नगर्ने देखियो। विशेष अवस्था भनेको चुनावको बेला परेको भनियो। यो बजेट चुनावको बजेट भनेर टिप्पणी भयो, त्यस्तो होइन। यो चुनावको बेलामा परेको बजेट मात्र हो। त्यो सरकारले यदि चुनावको जिम्मा पाएको छ र संसद भंग भएको छ भने त्यो बजेट चुनावी बजेट हुन्छ। अन्यथा, यसलाई चुनावी बजेट भन्न मिल्दैन। तर, चुनावका बेला परिदियो।

यसो हेर्दा धेरै प्रतिवद्धता व्यक्त गरिएको, धेरै कुरालाई समेटिएको, व्यवहारमा लागू हुन सक्छ कि सक्दैन? राजस्व संकलन हुन सक्छ कि सक्तैन? स्रोतको व्यवस्था गर्न सकिन्छ कि सकिदैँन? सबै खर्च हुन सक्छ कि सक्तैन? यी प्रश्नहरु उठ्न सक्छन्। तर, यसका बाबजुत पनि यसले धेरै कुरामा ध्यान दिएको छ। र, अझैपनि कतिपय कुरामा कमजोरी पनि छन्। ती कमजोरीका पक्ष के के होलान् हामी समीक्षा गछौँ।

देशको उद्यमशीलतालाई विकास गर्नका निम्ति, उद्योग धन्दालाई प्रोत्साहन दिनका लागि, कच्चा पदार्थको आयातलाई सक्दो भन्सार सुविधा उपलब्ध गराउने र निर्यातलाई प्रोत्साहन दिनका लागि विशेष जोड दिने कुरामा वा उत्पादनशील कुरामा बढी जोड दिनुपर्छ।

अनुत्पादक कुरामा प्रोत्साहन दिएर दलाल पुँजीको विकास गर्ने होइन। दलाल पुँजीसँगको साँठगाँठ, दलाल पुँजीलाई प्रोत्साहन दिने तरिकाले समाजवाद स्थापना गर्न सकिँदैन।

हामीले समाजवादको उद्देश्यलाई ध्यानमा राखेर नीति कार्यक्रम, योजना र बजेट तर्जुमा गर्ने भएको हुनाले सबैले न्यायको प्रत्याभूति गर्ने, उत्पादनलाई बृद्धि गर्ने, वितरण प्रणालीमा विचार पुर्‍याउने र समग्रमा देशलाई उन्नत बनाउने कुरामा यो बजेटका मूल उद्देश्यहरू ठीक छन्। यसबारे प्रतिपक्षले पनि धेरै विरोध गर्नुपर्ने अवस्था छैन। गठबन्धन सरकारले अगाडि सारेका कुराहरु ठीक छन्। बजेटमा समेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .