ad ad

अन्तर्वार्ता


कैयौँ दिन नेताकहाँ धाउँदा पनि टिकट पाइनँ, तर चित्त बुझाइसकेँ : शिवशंकर रिजाल

कैयौँ दिन नेताकहाँ धाउँदा पनि टिकट पाइनँ, तर चित्त बुझाइसकेँ : शिवशंकर रिजाल

राधिका अधिकारी
कात्तिक २, २०७९ बुधबार ९:१२, काठमाडौँ

नेपाली कलाकारिताका क्षेत्रमा जमेका कलाकार हुन् शिवशंकर रिजाल। उनलाई कला क्षेत्रले जोगिन्दर पानवालाको परिचय दिएको छ। लामो सयमदेखि नेपाली कांग्रेसमा रहेर राजनीतिक जीवनलाई पनि अगाडि बढाएका रिजाल सर्लाहीबाट प्रदेश सभा उम्मेदवार सिफारिस भएका थिए। अन्तिममा आएर उनले टिकट पाएनन्। यसै विषयमा केन्द्रित रहेर रिजालसँग गरिएको कुराकानी :

नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएर पनि टिकट पाउनुभएन?
मलाई टिकट पाउँछु भन्ने सय प्रतिशतमा भ्याट समेत जोडेर ११३ प्रतिशत ढुक्क थियो। हरेक ठाउँमा मेरो नाम एक नम्बरमा सिफारिस भएको हो। म सिफारिस भएको समानुपातिकमा हो, तर साथीहरुले तँजस्तो मान्छे समानुपातिकमा नबस्, प्रत्यक्षमा लड् भने। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यही भन्नु भयो। त्यसपछि मैले चुनावी हिसाब गरेँ। झण्डै डेढ करोड लाग्ने देखियो। त्यसको जगेडा पनि म गर्छु भन्ने भयो र मैले चुनाव लड्ने निर्णय गरेँ। तर प्रत्यक्षमा टिकट पाइएन। 

समानुपातिकबाट चाहिँ किन पछि हट्नु भयो?
म मधेश प्रदेशबाट समानुपातिकमा परेको थिएँ। अहिले समानुपातिकमा पर्न त समावेशी कोटा छ। महिला, दलित, जनजाति, थारु, मधेशी, खसआर्य लगायत छन्। म खसआर्य कोटाबाट पर्नुपर्ने, मधेश प्रदेशमा खसआर्यको जम्मा एउटा कोटा छ पुरुषको। जम्मा एउटा कोटा थियो, सम्भावना भएका अन्य मान्छे थुप्रै थिए। त्यसकारण मैले त्यता चासो दिइनँ। च्याँखे थाप्नुभन्दा जुवा नै हान्ने तरिकाले गएको हुँ। 

समानुपातिकमा बस्दा अर्को समस्या पनि के देखियो भने त्यो पर्नासाथ सांसद भइँदैन। पहिला ३३ प्रतिशत महिला पुग्नु पर्छ, समानुपातिकको त्यो सिस्टम छ। ३३ प्रतिशत महिला नपुगी एकै नम्बरमा परे पनि त्यो चान्स छैन। त्यसमाथि पनि खसआर्य पर्नलाई गाह्रो छ। मधेश प्रदेशबाट यो भन्दाअगाडि खसआर्य कोटै परेन। दोस्रो कुरा बन्द सूचीमा निर्वाचन आयोगमा नाम गइसकेपछि ५ वर्षसम्म कुनै पनि प्रकारको राजनीतिक नियुक्ति पनि खान पाइँदैन। यी व्यवधान देखेपछि मलाई समानुपातिकमा जान मन लागेन। चुनाव लड्ने योजनामा जाँदा अन्तिम समयमा आएर त्यस्तै परिस्थिति बनेर चुनावमा पनि टिकट पाइएन, चुनावमा जान सकिएन।

सिफारिसमा परेपछि टिकटका लागि केही गर्नु भएन?
झुट बोलेर हुँदैन, गर्नुपर्ने र सक्नेजति गरेँ। मलाई राम्रोसँग थाहा थियो सिफारिस हुनु ठूलो कुरा होइन। टिकट नपाउँदासम्म ढुक्क हुने अवस्था त जस्तै ठूला नेताको पनि हुँदैन। जस्तो परीक्षा दिनु ठूलो कुरा होइन, परीक्षा त जसरी पनि दिइन्छ। प्रश्नको उत्तर सही लेखे पनि गलत लेखे पनि परीक्षा दिएको ठहर्छ। सिफारिसमा पर्नु पनि त्यस्तै हो। टिकट पाउनु÷नपाउनु चाहिँ परिणाम थियो। पास हुनका लागि धेरै नेता कहाँ गइयो। ल है हजुर मलाई टिकट चाहियो भनियो। मेरो बिहान ६ बजेदेखि राति अबेरसम्म नेताकैमा धाउने काम भयो कयौँ दिन। सबैले मुसुक्क मुस्कुराएर भैहाल्छ नि भनेर आश्वासन पनि दिए। यही बेला देखियो, कस्ताकस्ता मान्छे नेताको दैलोमा पुग्दा रहेछन् भनेर। म त पार्टीमा लागेको सानो मान्छे, मेरो कद माथिसम्म देखिएन। मैले चित्त बुझाएको छु।

तपाईंसँगैका साथीहरु त टिकट नपाएपछि गुनासो पोखिरहेका छन्, तपाईंले चाहिँ कसरी चित्त बुझाउनु भयो? अन्य केही आश्वासन पाउनु भएको छ?
कुनै आश्वासन पाएको छैन। पार्टीमा मभन्दा ठूलो योगदान गरेका मान्छेहरुले त टिकट पाएका छैनन्। मैले पूर्ण समय त कलाकारितामै दिएको छु। पार्टीका लागि कति नै समय दिन पाएको छु र! कलाकारिताकै माध्यमबाट पार्टीलाई पर्दा सहयोग गरेको हुँ। केन्द्रीय सदस्यहरुले टिकट पाएका छैनन। पूर्वमन्त्रीहरुले पाएका छैनन्। त्यसैले मलाई गुनासो छैन। एउटा सत्य कुरा के हो भने राजनीति गर्ने मान्छेमा ठूलो धैर्य चाहिन्छ। जस्तोः निर्माताले एउटा फिल्म डुब्यो भनेर अर्को फिल्म बनाएन भने उ उकासिन सक्दैन। राजनीतिमा पनि एक पटक अवसर पाइएन भनेर गुनासो गर्न थाल्यो, गाली गर्न थाल्यो भने त्यो मान्छेले राजनीति गर्दैन भनेर बुझ्दा हुन्छ। 

भनेपछि पाँच वर्षपछिको अर्को निर्वाचनमा मेरो सम्भावना छ भन्नु भएको हो?
पाँच वर्षपछिको भविष्यवाणी गर्न सक्दिनँ। राजनीतिप्रतिको यो आस्था सधैँ यस्तै हुन्छ भन्ने छैन। अबको पाँच वर्षसम्म राजनीतिप्रति वितृष्णा पो पलाउने हो कि? राजनीतिमा लागेर जीवन बर्बाद नगरौं भन्ने मनमा आउन पो सक्छ कि? तर मन, मस्तिष्क र हृदयले अहिलेकै जस्तो राजनीतिक मोह गरिरहेछ भने त्यो आश हुनु नौलो कुरै होइन। अहिले राजनीतिप्रति र पार्टीप्रति गुनासो र वितृष्णा दुवै छैन।

नेपाली कांग्रेसबाट टिकट पाइन भनेर गुनासो गर्ने ठाउँ पनि छैन। यो पार्टी भनेको गंगाजस्तो विशाल पार्टी हो। यसको आफ्नै इतिहास छ। विभिन्न कालखण्डमा विभिन्न दस्तावेज बनाएको पार्टी हो। प्रजातन्त्र हुँदै, लोकतन्त्र, संघीय गणतन्त्र हुँदै संविधान बनाएर देशलाई लोकतन्त्र उन्मुख गराउने पार्टी हो। यो पार्टीले देशमा १५ औँ पटक भन्दा धेरै सरकार चलाइसकेको इतिहास छ। लामो समयदेखि थुप्रै मानिसले पार्टीमा आवद्ध भएर काम गरेका छन्। यो गंगामा अवसरहरु धेरै नै मेहनत गरेपछि पाइन्छ। 

तपाईंलाई त कतिले स्वतन्त्र रुपमा उम्मेदवारी दिन सुझाव पनि दिएका थिए नि? थुप्रै कलाकारले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा पनि गरेका छन्। त्यसतर्फ चाहिँ विचार गर्नु भएन?
मलाई स्वतन्त्र उम्मेदवारीको सुझाव आएको पनि हो। तर मैले स्वतन्त्र उम्मेदवारी दिन चाहिनँ। अवसर मात्रै ठूलो कुरा होइन। अवसरकै लागि भए त अन्य कलाकारहरुले जस्तै मैले पनि पार्टी परिवर्तन गर्न सक्थेँ। भर्खर स्थापना भएका नयाँ पार्टी प्रवेश गरेको भए अवसर त पाउँथे। मुख्य कुरा राजनीतिक आस्था हो। आस्थाले राजनीति गर्ने मानिसले पार्टीभित्रै रहेर संघर्ष गर्छ, बाहिर निस्कँदैन। 

यो आस्था गाउँका मानिसमा झन् बलियो छ। सहरमा देखिएको केही माहोललाई लिएर समग्र देशलाई मूल्यांकन गर्न मिल्दैन। गाउँमा आज पनि हामी बीपीको पालाको कांग्रेस, किसुनजी ले बनाएको कांग्रेस, गणेशमानले बनाएको कांग्रेस भन्ने मानिस छन्। त्यहाँ जति नै ठूलो मानिस पनि पार्टीभन्दा माथि हुन सक्दैन। उनीहरुले भोट हाल्ने व्यक्तिलाई होइन आस्थालाई हो। यो नेपाली कांग्रेसमा मात्रै होइन, अन्य पार्टीमा आवद्ध जनतामा पनि छ। सुन्दा नमिठो सुनिएला, अहिले पनि हाम्रो समाजको वास्तविकता यही हो। स्वतन्त्रबाट केही प्रतिशत आउनु अलग्गै कुरा सबै ठाउँबाट आउँदैन। 

संसदको सपना चाहिँ किन देख्नु भएको थियो? 
एउटा कलाकार सांसद भयो भने त्यो संसदमा पुग्यो भने देशको पूर्वको मेची भेग, पश्चिमको लिपुलेकदेखि हिमाल, पहाड, तराईको सम्पूर्ण क्षेत्रलाई मन, मस्तिष्कमा राखेर कहिल्यै गलत काम गर्दैन। सधैं सही काम मात्रै गर्छ। देशलाई अग्रगमनको दिशातर्फ लैजान ठूलो काम गर्छ भन्ने मलाई लाग्छ। 

अब तपाईं सिफारिसमा परेको क्षेत्रबाट उम्मेदवार बनेको व्यक्तिलाई सहयोग गर्ने कि नगर्ने त? 
म सहयोग गर्छु। म नेपाली कांग्रेसको साधारण सिपाही हुँ। ममा राजनीतिक आस्था छ। कांग्रेस पार्टीको प्रचारप्रसारमा पनि हिँड्छु, प्रतिनिधिको प्रचारमा पनि हिँड्छु। तर कयौं ठाउँमा मतदाताले पार्टीलाई नै भोट हाल्नु पर्छ भन्ने छैन। कुनैकुनै पार्टीमा केही यस्ता मान्छेले पनि टिकट पाएका छन्, जो देशले, जनताले नमागेका व्यक्तिहरु पनि उम्मेदवार भएका छन्। त्यसकारण हो, म कांग्रेसको एउटा सिपाही हुँ, मैले मेरो पार्टीलाई सहयोग गर्नु पनि पर्छ। तर कयौँ ठाउँमा हाम्रो भनेर होइन, राम्रो मान्छेलाई सदनमा पठाउन भूमिका खेल्नु पर्छ। दलभन्दा ठूलो जनताका लागि मादल हुनुपर्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .