आम चुनावमा २० सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी संसदको चौथो ठूलो शक्ति बन्यो। तर, स्वार्थ बाझिनेगरी मन्त्री छनोट गरेपछि सो पार्टीको निर्णय विवादित बनेको छ। नवगठित पार्टीबाट भएको यस्तो निर्णयबाट सोही पार्टीका शुभेच्छुकहरु समेत निराश बनेका छन्। यसै सन्दर्भमा सो पार्टीको केन्द्रीय सदस्य तथा सांसद सोबिता गौतमसँग नेपालखबरले गरेको संवाद :
तपाईंहरुले हामी पुराना दल, नेताजस्तो होइनौँ भनेर मत माग्नुभएको थियो। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सर्वसाधारणको ठूलो आशा थियो– यो पार्टीले चुनावमा जितेपछि, सरकारमा आएपछि ठूलै काम गर्ला, राम्रो काम गर्ला। तर, चुनावदेखि अहिलेसम्म आइपुग्दा खासगरी मन्त्री छनोटका मामिलामा त्यो आशा निराशामा बदलिएको देखिन्छ नि!
अब यस्तो हो। हाम्रो पार्टीका धेरै साथीहरुको आआफ्नो क्षेत्रमा विज्ञता छ। जस्तैः म मिडिया र कानुनी क्षेत्रमा काम गरेको मान्छे हुँ। त्यही भएर त्यस क्षेत्रमा म राम्रो काम गर्न सक्छु भन्ने भावना ममा हुन्छ। त्यस्तै अरु साथीहरुलाई पनि आफ्नो क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने भइ नै हाल्छ। मन्त्री छनौट गर्दा हाम्रो पार्टीले व्यक्तिले छनौट गरे अनुसारको मन्त्रालय दिएको भए अलग कुरा हुन्थ्यो। गठबन्धन बनिसकेपछि सबै पार्टीका आफ्नाआफ्ना दाबी हुन्छन्। दाबीमा छलफल गरेर टुङ्ग्याउँदा हाम्रो पार्टीको भागमा जुन मन्त्रालय पर्छ, त्यही अनुसार मन्त्री पठाउने भन्ने साझा बुझाइ थियो।
त्यसैले हामीलाई जुन मन्त्रालय प्राप्त भयो, त्यही हिसाबले मन्त्री पठाएका हौँ। चुनावको बेलादेखि नै हामी केही साथीहरु बढी नै मिडियामा छाएका थियौँ। त्यही भएर देखिराखेको मान्छेप्रति आशाअपेक्षा पनि धेरै हुन्छ। जनतामा स्वतन्त्र पार्टीले हामीले चिनेका मान्छेलाई त मन्त्री बनाएन भनेर निराशा देखिनु स्वाभाविक हो। चित्त बुझाएर भन्ने हो भने हामीले हाम्रो पार्टीभित्र जसलाई जे जिम्मेवारी दिँदा राम्रो हुन्छ, त्यो दिने भनेर हामीले यस्तो निर्णय गरेका हौँ।
तर, तपाईंहरुले त्यस्तो निर्णय गर्दा गृहमन्त्री र श्रममन्त्रीको हकमा स्वार्थ बाझिन पुग्यो नि त!
स्वार्थ बाझिनेगरी मन्त्री पठाउनुभयो। अब उहाँहरुले कस्तो कामकारबाही गर्नुहुन्छ, स्वार्थ बाझिनेगरी काम गर्नुहोला कि भनेर निगरानी, निर्देशन गर्ने कुनै संयन्त्र छ पार्टीमा?
हामी संयन्त्र विकास गरिराखेका छौँ। हामीलाई जेजति मन्त्रालय प्राप्त भएको छ, त्यसमा हामीले टिममा बसेर राम्रो काम गर्नु पर्ने हुन्छ। पार्टी गठन, चुनाव र गठबन्धन एकैचोटि भनेजस्तो भएकोले हाम्रो तयारी नपुगेको जस्तो देखिएको छ। तर अब हामी छिटै नै यी पाएका मन्त्रालयहरुमा मन्त्रीहरुले ट्रयाकमा काम गरेका छन् कि छैनन् भनेर हेर्ने संयन्त्र बनाउँदै छौ। यो हप्ताभित्र नै सबै संयन्त्र बनाइसक्छौँ। सबै कुरा सिस्टममा आउँछ। सर्वसाधारणबाट स्वतन्त्र पार्टी पनि सरकारमा गयो। नजानु पर्ने भन्ने मत आएका छन्। अब बिस्तारै राम्रो गर्दै छन् है भन्ने खालको नतिजा हामीले दिन सक्छौँ होला। उहाँहरुको पनि चित्त बुझाउनेगरी काम गर्ने हाम्रो तयारी छ।
पहिलो संविधान सभाताका माओवादीको उदयले मानिसहरु चकित पर्थे। तर, जति चाँडो माओवादीको उदय भयो, त्यति नै तीव्र गतिमा त्यो पार्टी कमजोर पनि बन्यो। रास्वपा त झन् ६ महिनामै चुनाव जितेर मुलुकको चौथो शक्ति भयो। तर, सुरुवाती काम गराइ हेर्दा यो पार्टी माओवादीभन्दा पनि छिटो ओरालो लाग्ने हो कि भन्ने चिन्ता धेरैमा देखिन्छ। के भन्नुहुन्छ?
मलाई के लाग्छ भने राजनीतिको चक्र त फेरिइरहने चिज हो। अब कहिले के हुन्छ, कहिले के। कोही एक तरिकाले उदाउँदा अरु बेग्लै तरिकाले उदाउँछन्। ओरालो लाग्ने पनि त्यसैगरी हुन्छ। तलमाथि हुने क्रम राजनीतिमा भइरहन्छ। तर, यस्ता राजनीतिक घटनाक्रमहरुलाई हामीले कसरी पनि नियाल्नुपर्छ होला भने माओवादीको र हाम्रो पृष्ठभूमि अलिकति फरक छ। उहाँहरुले एक तरिकाले विद्रोह गरेर, जनयुद्धको सम्पूर्ण एजेन्डाहरुलाई एउटा ठाउँमा ल्याएर टुंग्याउनुभयो। उहाँहरुको आफ्नो खालको राजनीतिक आगमन थियो।
हाम्रो चाहिँ के छ भने सबै नयाँ पुस्ता छौँ हामी। हामीले अहिले भएका राजनीतिक घटनाक्रमहरुलाई नियाल्दै अध्ययन गरेका कुराहरुलाई, हामीले जानेका कुराहरुलाई कसरी राजनीतिमार्फत स्थापित गर्न सक्छौँ भनेर अलिकति सोच, मनन गरेर नै हामी आएका छौँ। त्यो कारणले गर्दा पनि अहिले माओवादी केन्द्रका कतिपय नेताहरुसँग हामी बस्दैगर्दा उहाँहरु के भन्नुहुन्छ भने हामीले त सुरुमा आउँदा मेसै पाएनौँ। बीचतिर अलिअलि मेसो पाउन थालेका थियौँ, त्यति धेरै गर्न सकिएन। अब चाहिँ हामी राम्रोसँग काम गर्न सक्छौँ भन्ने जोस आएको छ। अहिले चाहिँ काम गर्ने ठाउँमा सिकेर आइपुगेका छौँ भन्ने किसिमको कुरा गर्नुहुन्छ उहाँहरु।
त्यसकारण हामीलाई के लाग्छ भने उहाँहरु पनि काम गर्ने मुडमा हुनुहुन्छ। हामी पनि ज्ञान लिएर आएका छौँ। अन्य दल र नेताहरुलाई पनि अहिले काम गर्नुपर्ने दबाब छ। यो पुस्तालाई हामीले बनाएनौँ भने अब चाहिँ गाह्रो छ भन्ने दबाब छ। हाम्रो आगमनपछि सबैलाई दबाबजस्तो भएको छ। अनि सबै काम गर्ने कुरामा सकारात्मक हुनुहुन्छ जस्तो लाग्छ।
अर्को कुरा, हाम्रो भित्री एजेन्डा केही पनि छैन। हाम्रो एजेन्डा भनेको मात्र देश बन्नुपर्यो। देश बनाउन विकास निर्माणका मुद्दाहरुमा हामी एकजुट हुनुपर्यो। अब ढिला हुनुभएन। कछुवाको तालमा हिँडेर भएन, खरायोजसरी दौडिनुपर्यो। त्यो गर्नका लागि हाम्रो ज्ञान कहाँ उपयुक्त हुन्छ, त्यहाँ दिन्छौँ।
पार्टीको विषयमा पनि यही नै हो। हाम्रो एजेन्डा केही छैन भने हामी दुश्मन पनि कसैका होइनौँ। त्यो कारणले गर्दा अहिले सबैले हामीलाई स्वागत गरिरहेको अवस्था छ। त्यसैले रास्वपा ओरालो लाग्ला कि भन्ने जुन डर लागिरहेको छ, त्यो डर सायद मान्नु पर्दैन होला। हामी एकदमै सकारात्मक बाटोमा हिँडिरहेका छौँ। सबै बहस, छलफलमा भाग लिन सक्ने भएकाले सजिलो पनि छ।
रास्वपा संसदको चौथो शक्ति बनेपछि यो पार्टीको निर्णय, झुकावजस्ता कुराको भूराजनीतिक अर्थ पनि लगाइन थालिएको छ। कतिपयले यसलाई पश्चिमानिकट शक्ति भनेर विश्लेषण पनि गर्न थालेका छन्। त्यस्तो हो त?
नितान्त एक नागरिकका रुपमा रहँदा पनि मलाई के लाग्थ्यो भने आफ्नो देशमा राजनीति गर्नुछ, आफ्नो देशको विकास गर्नुछ, केलाई यो देश र त्यो देशको निकट भनेर वा अन्य देशको सिद्धान्त भनेर अरुको विचारधारासँग किन जोडिनुपर्यो? अहिले पनि हामी सबै जना त्यही सोचका साथीहरु जम्मा भएर पार्टी खोलेको कारणले हामी कुनै राष्ट्र, कुनै वाद, सिद्धान्त, भूराजनीतिक शक्तिसँग हामी कुनै आग्रहपूर्वाग्रह केही पनि राख्दैनौँ। हाम्रो सोझो कुरा भनेको देश बन्नुपर्छ, देश बन्नका लागि यो देशको नीति कस्तो हुनुपर्छ भन्नेमा हामी प्रस्ट छौँ। शिक्षाको विषयमा एउटा खालको नीति होला, स्वास्थ्यको विषयमा अर्को खालको नीति होला, विकासको मामिलामा अर्को नीति होला। ती नीति कुनै भारतसँग मिल्ला, कुनै चीनसँग मिल्ला, कुनै अमेरिकासँग मिल्ला। त्यो कोसँग मिल्छ, हामीलाई मतलब भएन। राम्रो कुरा सबैको अनुशरण गर्न सकिन्छ। विश्वमा भएका राम्राराम्रा अभ्यासहरुलाई अनुशरण गर्ने हो। राम्रो कुरा हामी सबैको लिन्छौँ तर कुनै पनि देश, कुनै पनि दल वा सिद्धान्तसँग टाँसिएर हामी हिँडेकै होइनौँ। हाम्रो एउटै विचार छ, देशको विकास हुनुपर्यो, दायाँबायाँ केही थाहा छैन।
उपसभामुखमा नउठ्ने निर्णय गर्नुभयो, थुप्रैले त्यसको प्रशंसा गरेको पनि देखियो। अब संसदमा आफूलाई कसरी प्रभावकारी रुपमा प्रस्तुत गर्नुहुन्छ?
हामीले पार्टीभित्र एकदमै राम्रोसँग छलफल गर्यौँ। को को मान्छेको के के सबल पक्ष छ, त्यसको राम्रोसँग विश्लेषण गरेर पार्टीमा अहिले उपसभामुखका लागि सोबिता गौतम नजाने भन्ने निर्णय भयो। म पनि त्यो कुरामा सहमत भएँ। किनभने सामाजिक सञ्जालमा धेरै दबाब पनि आइराखेको थियो– तपाईं चाहिँ उपसभामुखमा नजानुस् है भनेर। अनि त्यो जनभावना सुनेर र साथीहरुसँग छलफल गरिसकेपछि ठिक छ त, म नगए हामी अर्को राम्रो मान्छे त्यो पदमा पठाउँछौँ भनेर हामीले माननीय इन्दिरा रानालाई पठायौँ। उहाँलाई सबै जनाले प्रशंसा पनि गरिरहनुभएको छ र उहाँले गरेका कामहरुको इतिहास हेर्ने हो भने उहाँ एकदम उपयुक्त पात्र हो त्यो पदका लागि।
उपसभामुखको निर्वाचन सकियो। अब केही समितिहरुको कुरा छन्। संसदीय अभ्यासमा हामीले पुरा गर्नुपर्ने केही जिम्मेवारी छन्, बाँडफाँटको कुरा गर्दा। ती सबै कुराहरुमा उपयुक्त स्थान कहाँ हुन्छ, त्यसबारे पनि पार्टीभित्र छलफल गर्छौँ। त्यो टुंग्याइसकेपछि कुनै जिम्मेवारी प्राप्त भएछ भने सोहीअनुरुप र जिम्मेवारी प्राप्त भएनछ भने पनि एउटा सांसदले गर्ने काम के के हुन्छन्, त्यो सबै कुराबारे म सचेत छु। आफ्नो क्षेत्रका बारेमा मुद्दाहरु उठाउनेदेखि लिएर विकास निर्माणका कुरामा सहजीकरण र स्थानीय तह, प्रदेशका संरचनाहरुसँग सहकार्य गरेर एकदम एकीकृत तरिकाले विकासको काममा म अगाडि बढिरहनेछु। विशेष गरेर कानुन बनाउने सवालमा आफूले पनि कानुन विषय पढेको कारणले त्यसलाई उत्तमभन्दा उत्तम बनाउनका लागि योगदान गर्छु भनेर सोचिरहेको छु।
तपाईंको निर्वाचन क्षेत्रमा सबस्टेसन बनाउने विषयलाई लिएर बोझेनीका स्थानीय र विद्युत प्राधिकरणबीच विवाद छ। त्यो विवाद समाधानमा तपाईंले के गरिरहनुभएको छ?
बोझेनी सबस्टेसन बनाउने प्रक्रिया चाहिँ धेरै अगाडि २०१२ देखि नै सुरु भइसकेको रहेछ। म भर्खर आएपछि मैले बुझेको कुरा हो। तर, यसको सम्भाव्यता अध्ययन, मुआब्जालगायतका कामको सुरुवात २०१२ मै सुरु भएको रहेछ। स्थानीयहरुको यो हाम्रो पुरानो ठाउँ हो, जनजातिको बसोबास भएको ठाउँ हो, यहाँ सबस्टेसन नबनाइदिए हुन्थ्यो भन्ने माग थियो। तैपनि प्राधिकरणले राष्ट्रिय योजनामा राखेर अगाडि बढाएको छ। मैले भर्खर आएर बुझ्दा प्राधिकरण र स्थानीय तहबीच केही मतभेद थिए। र, ती मतभेद समाधानमा सहजीकरण हुन नसकेको अवस्था थियो।
मैले चाहिँ विद्युत प्राधिकारदेखि सीडीओ कार्यालयदेखि स्थानीयबीच वार्ता, छलफल गर्ने एउटा वातावरण पनि सिर्जना गरेँ। एक चरणको छलफल पनि गर्यौँ। एउटा समिति बनाउने, त्यो समितिले के के गर्न सकिन्छ भनेर एउटा प्रतिवेदन बनाएर विद्युत प्राधिकरणलाई दिने भन्ने निर्णय भएको थियो। त्यो काम भएको त छैन। तैपनि वार्ता सुरु गर्ने, छलफल अघि बढाउने सकारात्मक सुरुवात भएको छ। त्यसैले उहाँहरुबीच पहिले जसरी सम्बन्ध बिग्रेको थियो, त्यो सम्बन्ध चाहिँ केही हदसम्म राम्रो भएको छ। यसलाई कसरी निष्कर्षमा पुर्याउन सकिन्छ भन्ने विषयमा म निरन्तर रुपमा पहल गरिरहन्छु।
यसमा स्थानीयहरुको चिन्ता हाम्रो वस्ती उठ्ने हो कि, जग्गा बेकामे हुने हो कि भन्ने छ। अर्कोतिर, प्राधिकरणले त्यत्रो लगानी गरिसकेको छ, समयमा परियोजना नबने ठूलो असर पर्न सक्छ भन्ने चिन्ता छ। दुवैतर्फको चासो जायज सुनिन्छ। यो दुवै चिन्तालाई सम्बोधन गर्ने बाटो छ त?
मुख्य कुरा त विद्युत प्राधिकरण र स्थानीयबीचको वार्ता मिल्नुपर्यो। किनभने एक सांसदका रुपमा मेरो आकांक्षा के छ भने मेरो मतदाता, मेरो क्षेत्रका बासिन्दाहरुलाई पीडा नपरोस् र विकास निर्माणका काम पनि अगाडि बढोस्। मुख्यतः उहाँहरु दुवै पक्ष यसका लागि तयार हुनुपर्यो।
एउटा न एउटा मिलनविन्दु हुन्छ, त्यो विन्दुमा आउनुपर्छ। स्थानीयको चित्त बुझाएर जानुपर्छ। त्यसका लागि विद्युत प्राधिकरण पनि सकारात्मक छ। अब उर्जामन्त्री पनि आइसक्नु भएको छ। त्यसैले मैले भन्दा पनि उहाँहरुले, जसको बीचमा यो विवाद देखिइरहेको छ, उहाँहरु दुवै पक्ष मिलनविन्दुमा आउनुपर्छ। त्यसका लागि मैले भरपुर सहयोग गरिरहेकी छु। स्थानीय दाजुभाइ दिदीबहिनीसँग पनि मेरो संवाद भइरहेको छ। प्राधिकरणसँग पनि संवाद भइरहेको छ। उहाँहरु मिलनविन्दुमा आउनुपर्यो। उहाँहरुले जे स्वीकार गर्नुहुन्छ, त्यो कुरा म पनि स्वीकार गर्छु।
प्रतिक्रिया