कोभिड–१९ महामारी फैलिएदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा साढे तीन लाख बढीको कोभिड परीक्षण भइसकेको छ। जसको नेतृत्व गरिहेकी छन् डा. रुना झाले। यूएन विमिनले कोभिड नियन्त्रणका लागि फ्रन्टलाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको सूचीमा नेपालबाट उनको नाम राखेको थियो। प्रयोगशालाको प्रमुख भएर उनले कोभिडकालमा कसरी काम गरिन् र यो पेसामा महिला भएका कारण उनले कस्ता चुनौती सामना गर्नुपर्यो भन्नेबारे डा. झासँग नेपालखबरले गरेको कुराकानीः
चिकित्सा पेसा किन रोज्नु भयो ?
सानैबाट पढ्नमा राम्रो भएकाले मेडिकल नै पढ्नु पर्छ भन्ने घरपरिवारको एउटा अपेक्षा थियो। म चिकित्सक बन्नु त्यसकै उपज हो भन्नु पर्यो। परिवारको चाहना नै डाक्टर पढिदेओस् भन्ने थियो। र, छात्रवृत्ति पाएकोले मेडिकल नै पढेको हो। मैले सन् १९९९ मा पाकिस्तानबाट एमबीबीएस पास गरेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ। कोभिडको समयमा कसरी काम गर्नु भयो?
कोभिड त्यति ठूलो स्केलमा आउला भन्ने हामीलाई अपेक्षा थिएन। हामी सुरुको अवस्थामा तयार थिएनौं। जब कोभिड संक्रमितको संख्या बढ्दै गयो, हामीले कोभिड परीक्षणको दायरा पनि बढ्उदै गयौं।
हामीले आफ्नो गाइडलाइन स्वास्थ्य मन्त्रालयसँग मिलेर बनाउँदै गयौं। कामको चाप धेरै थियो तर सबै तिरबाट पाएको सहयोग र सद्भावले राम्रोसँग काम गर्न सफल भयौं जस्तो लाग्छ।
संख्या बढ्दै गएपछि प्रयोगशालामम छुट्टै काम गर्ने कर्मचारीलाई पनि कोभिड परीक्षणमै काम गर्न लगायौं। र केही जनशक्ति करारमा पनि राख्यौं। उपकरणहरु पनि थप्दै गयौं। पहिला हातैले परीक्षण गर्नु पर्ने उपकरणहरु थिए भने त्यो बेला मेसिनले नै सबै गरिदिने ल्याएपछि समयको पनि निकै बचत भयो।
यूएन विमिनले कोभिड नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको सूचीमा नेपालबाट तपाईंको नाम परेको थियो। त्यसबारेमा थोरै बताइदिनुहोस् न?
त्यो मैले अपेक्षा नै गरेको थिइनँ। सामान्य तरिकाले एउटा अन्तर्वार्ता दिएको थिएँ। खासमा त्यो केका लागि थियो भन्ने कुरा पनि मलाई राम्रोसँग थाहा थिएन।
आफ्नो तर्फबाट सामान्य तरिकाले एउटा स्टोरी बनाएर दिएँ। उहाँहरुले त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा पठाउनु भएरै त्यहाँ छानिएको होला जस्तो लाग्छ।
एक हप्ता पहिला नै म पनि परेको छु भन्ने थाहा थियो। मैले त्यसलाई समान्य नै लिएको थिएँ। तर पछि सबैतिर त्यो समाचार फैलियो र सबैले बधाई दिएपछि भने खुसी लाग्यो।
भिडिओ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा काम गर्दा एक महिलाका रुपमा कति चुनौती भोग्नुपर्यो?
गाह्रो त गाह्रै छ पक्कै पनि। यहाँ मात्र होइन, हरेक क्षेत्रमा महिलालाई गाह्रो छ। महिलालाई हरेक क्षेत्रमा चुनौती नै चुनौती छ। सबैभन्दा पहिलो चुनौती त आफ्नो कामसँगै घरपरिवार पनि सँगै लैजानु पर्ने। अर्को भनेको जता पनि ‘मेल डोमिनेसन’ छ।
तर, हाम्रो यो अफिसमा महिला नै बढी हुनुहुन्छ। मेरो भोगाइभन्दा मन्त्रालयमा जाँदा वा ठूलो–ठूलो मिटिङमा जाँदा म एक्लो महिला पनि भएको छु। हामी पुरुषहरु जस्तो गरेर बिहान कुनै मन्त्रीकहाँ, साँझ कुनै ठूलो मान्छेकहाँ, त्यसरी हामी जान सक्दैनौं।
अप्ठेरो त अप्ठेरो नै छ। मिटिङहरु सर्दा कहिलेकाहीँ घरमै पनि पर्छ, त्यो बेला पनि अप्ठेरो नै पर्छ। तथापि महिलाले सबैलाई सँगसँगै मिलाएर लैजानु पर्छ भन्ने हो। अर्को कुरा सबै महिला यो स्टेजसम्म आइपुग्ने मौका पनि पाउनु हुन्न जस्तो लाग्छ। जसले मौका पाउनु हुन्छ, उहाँहरुको घरपरिवारले धेरै साथ र सहयोग दिने भएर आउनु भएको हुन्छ जस्तो लाग्छ।
मधेशमा जन्मनु भएको तपाईंको समयमा पढ्नका लागि कति सहज थियो?
म धनुषा जिल्लाको एउटा गाउँमा जन्मिएको हो। मेरो गाउँमा त्यति बेला महिलालाई पढाउने चलन त्यति थिएन। मेरो मम्मीले खासै पढ्नु भएको त छैन, तर उहाँले छोरीहरुलाई पढाउनै पर्छ भन्ने महसुस गर्नु भयो। र, हामी पाँच दिदिबहिनीलाई पढ्नका लागि निकै हैसाला दिनु हुन्थ्यो।
मम्मीले मलाई पढाउनै पर्छ भनेर स्कुल पठाउनु भयो। कक्षामा ३२ जना मात्र विद्यार्थी थियौं त्यसमध्ये तीन जना मात्र केटी थिए। तर स्कुल जाने भनेको म मात्र थिएँ।
स्कुल जाँदा केटाहरुसँग एक्लै बस्नु पर्छ भनेर म साथीहरुको घरघरमा गएर आज तिमी स्कुल जान्छौ भन्दै सोध्थेँ। तर त्यो बेला आमाहरुले ‘तिमीलाई पढेर अफिसर हुनु छ, यिनीहरुलाई छैन, जाँदैनन्’ भन्नु हुन्थ्यो।
म एक्लै केटी भएपछि स्कुल जादिनँ भनेर आमासँग रुन्थेँ। तर आमाले सम्झाइबुझाइ गरेर मलाई पठाउनु हुन्थ्यो। त्यसरी संघर्ष गरेर पढेको हो। सातआठमा पढ्दा पनि परिवारबाटै किन यिनीहरुलाई निजी स्कुलमा पढाएर पैसा खर्च गरेको भनेर आफ्न्तले सुनाउँथे तर आमाबुबाले त्यो कुराको वास्तै गर्नु भएन।
मेरो गाउँबाट एसएलसी पास गर्ने पहिलो महिला पनि म नै हो। र, गाउँमा मपछि धेरै महिलाले जतिसक्यो त्यति पढ्नु भको छ। मैले त्यो टे«न्ड सेट गर्न सकेँ जस्तो लाग्छ।
मेरो परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरु कमजोर भएको भए सायद म यहाँसम्म पुग्थिनँ होला। त्यसैले तपाईं जति पढ्ने भए पनि परिवारको सहयोग भएन भने अगाढि बढ्न सक्नु हुन्न। हामी पाँच बहिनीलाई पढाउनका लागि ड्याडीमम्मीले जीवनसँग धेरै सम्झौता गर्नु भएको छ।
हाम्रो पालाको भन्दा अहिले स्कुल जान वा हरेक क्षेत्रमा काम गर्न केही सहज भने पक्कै पनि भएको छ। अहिले किन छोरीमाथि खर्च गरिरहेका छौ भनेर सोध्ने जमाना छैन।
महामारीको सुरुवातीकालमा कोभिडले आतंक सिर्जना गरेको थियो। त्योबेला संक्रमितको स्वाब परीक्षण गर्नुपर्ने ठाउँमा बस्दा परिवारको प्रतिक्रिया कस्तो रह्यो?
मलाई त्यस्तो गाह्रो भएन। मेरो परिवार बुझ्ने नै हुनुहुन्छ। सु देखि नै हाम्रो घरको वातावरण काम गर्नु पर्छ भन्ने छ र हामी त्यही वातावरणमा हुर्किएको हो। त्यसैले मलाई व्यक्तिगत रुपमा गाह्रो भएन।
मेरो अभिभावक मभन्दा तीन किलोमिटर पर बस्नु हुन्छ। हप्तामा एक पटक म उहाँहरुलाई भेट्न जान्छु नै तर कोभिडको समयमा ६ महिना म त्यहाँ गइनँ। अभिभावकलाई टाढाबाट देख्दा नराम्रो लाग्थ्यो। त्यसैले पनि होला मानसिक रुपमै अलिकति नराम्रो लागेको थियो।
सुरुमा कोरोना भाइरसको जाँच गर्ने केन्द्रविन्दु नै यही भएकाले तपाईंलाई यो पेसा रोजेर गलत गरेँजस्तो लागेन?
त्यस्तो केही भएन। बरु यो पेसा रोजेर ठिक गरेछु भन्ने चाहिँ त्यो बेला बढी लाग्यो। म आफूलाई सौभाग्यशाली नै मान्छु कि त्यो बेलामा म यहाँ थिएँ र काम गर्ने मौका पाएँ। राज्यले मलाई पत्यायो र मलाई जिम्मेवारी दियो।
देशको लागि मैले काम गर्ने जुन मौका पाएँ, यसले मलाई प्रेरणा दियो। यो पेसा मैले किन रोजेँ भन्दा पनि यो पेसा रोजेर मैले ठिक गरेँ भन्ने अनुभव चाहिँ त्यो बेला भएको थियो।
कोभिड महामारीमा धेरै प्रयोगशालालाई ‘मोलिक्युलर’ ल्याबको स्वीकृति दिइएको थियो। ती प्रयोगशालाको अहिले अवस्था कस्तो छ?
भर्खरै मात्र पनि हामीले कुनकुन प्रयोगशाला सञ्चालनमा छन् भनेर कुरा गरेका थियो। किनभने ती यस प्रयोगशालाकै माताहतमा रहेर काम गरिरहेका छन्। उनीहरुलाई ६ महिनाको अनुमति पत्र दिएको हुन्छ। त्यो समय सकिएपछि नवीकरण गर्न चाहनेले निवेदन दिनु पर्छ। यो पटक धेरैले निवेदन दिएर लाइसेन्स नवीकरण गरिसकेका छन्। नवीकरण नगर्नेहरुको ल्याब बन्द हुन्छ। र, उहाँहरुले संञ्चालन गर्न चाहेको बेलामा निवेदन दिएर हामी पुनर्विचार गर्छौं।
सरकारी स्तरका पनि सबै मेसिनहरु सञ्चालनमा छैनन्। किनभने कोभिड महामारीमा एउटा हिसाबले मेसिनहरु बढाइयो। तर केस नै नहँुदा त्यसलाई निरन्तरता दिन गाह्रो हुन्छ। त्यो बेलामा किन्न नहुने थियो भन्ने चाहिँ होइन। परेको बेलामा वा भविष्यमा प्रयोग गर्न सकिन्छ भनेर लिने हो।
अहिले यहाँ इन्फ्लुएन्जा परीक्षण भइरहेको छ र हामीले पाठेघर मुखको क्यान्सरको जाँच पनि गरिरहेका छौँ। आजका दिनसम्म गरेर देशभर एक सय १० वटा ल्याबले लाइसेन्स लिइसकेका छने। तीमध्ये अझै पनि ८० प्रतिशत सञ्चालनमै छन्।
कोभिड त कम भइसकेको छ अहिले चाहिँ यस प्रयोशालामा नयाँ के के परीक्षण भइरहेको छ?
कोभिड सकिसकेपछि अन्य परीक्षणका लागि पनि ल्याब पुनः खोलियो। सबैभन्दा ठूलो र पहिला जाँच नभएको कोभिडको जिन सिक्वेन्सिङ नै थप्यौं र इन्फ्लुएन्जाको जिन सिक्वेन्सिङ पनि एक महिनापछि सुरु हुँदै छ।
डेंगुको पीसीआर पनि गरिहेका छौं। नयाँ थपेको भनेको जिका भाइरस, चिकेनगुनिया, रेबिज र एडिनो भाइरसको पीसीआर सबै थपेका छौं।
त्यस्तै नसर्ने रोगतर्फ पाठेघरको मुखको क्यान्सर र रक्त क्यान्सर लगायतको परीक्षण भइरहेको छ। र, अब क्यान्सरको प्रयोगशालालाई विस्तार गर्ने भनेर काम अगाडि बढाइहरेका छौं। अगामी दिनमा क्यान्सरको नयाँनयाँ परीक्षण गर्ने छौँ।
अहिले कुनै नयाँ रोग आयो भने परीक्षणका लागि नमुना बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य भएको हो?
त्यो अवस्था त जहिले पनि रहन्छ। किनभने नयाँ रोग आउनेबित्तिकै त्यसको ‘रि–एजेन्ट’ नेपालमा सधैँ पाइदैन। ठुल्ठूला रिसर्च प्रयोगशाला हुन्छन् जसले ‘रि–एजेन्ट’ आफैँ बनाउँछन्। त्यसैले यो अवस्था सधै रहन्छ होला र त्यो खराब पनि होइन। किनभने हामी सबैले अन्तर्राष्ट्रिस्तरमै समन्वय गरेर अगाडि बढ्ने हो।
अहिले कुनै नयाँ भाइरस देखिएको छ?
अहिले त्यस्तो कुनै नयाँ भाइरस देखिएको छैन। तर परीक्षण गर्नु पर्ने धेरै छ। अहिले त जुन जनस्वास्थ्यमा देखिने भाइरस हुन्छन् जसले महामारी हुन सक्छ त्यस्तो मात्र परीक्षण भइरहेको छ। त्यो बाहेक धेरै भाइरस, ब्याक्टेरियाहरु हुन्छन्, सबैको परीक्षण हुन सकिरहेको छैन।
यस प्रयोगशालाले कसरी सेवा दिरहेको छ?
यो मुख्यत जनस्वास्थ्यसँग सम्बन्धित प्रयोगशाला हो। सेवाग्राहीभन्दा पनि सरकारलाई चाहिँदा सहयोग गर्ने जिम्मेवारी छ। त्यसबाहेक सेवाग्राही पनि यहाँ सेवा लिन आउँछन्।
अहिले सेवा निकै बढिसकेको छ। झन्डै वर्षमा एक लाख २५ हजार बढीले यहीँ नै आएर सेवा लिन्छन्। सेवाग्राहीले रिपोर्ट घरबाटै पनि हेर्न सक्ने व्यवस्था छ।
यस प्रयोगशालामा दश वर्षपहिले तोकेको शुल्क अझै पनि कायमै छ। त्यसलाई परिमार्जन गर्ने भनेर मन्त्रालयमा फाइल पठाइसकेका छौं तर कारणवश त्यो हुन सकेको छैन।
अन्य क्षेत्रले आफ्नो खर्च उठाएर अलिकति व्यावसायिक रुपमा कमाइ पनि गर्छ तर यहाँ खर्च उठ्ने अवस्था पनि छैन। हामी कर्मचारीलाई त सरकारले नै हेर्ने हो। त्यसैले पनि त्यति समस्या भने छैन।
महिला दिवसको अवसरमा के भन्न चाहनु हुन्छ?
म आफूलाई सधैँ फेमिनिस्ट भनेर चिनाउँछु। कुनै पनि महिलाले आफूलाई कहिले पनि कमजोर नठान्नु होस्। सके जति गर्नु होस्। कहिले पनि अरुमाथि भर नपर्नु होस्।
मैले सबै महिलालाई भन्न खोजेको तपाईं कसको छोरी हो, कसको श्रीमती हो, कसको बुहारी हो, त्यो जीवनको एउटा पाटो हो। तर तपाईं आफ्नो लागि के गर्दै हुनुहुन्छ? आर्थिक रुपमा सक्षम हुनुहुन्छ कि हुनुहुन्न? त्यसले धेरै महत्व राख्छ। त्यसैले थोरै कमाएर भए पनि आफ्नो जीवनलाई आफूअनुसार चलाउनु पर्छ भन्न चाहन्छु। पक्कै पनि महिलालाई अगाडि बढ्न त्यति सजिलो छैन। त्यसका लागि विशेष गरेर बुबाआमाको साथ चाहिन्छ।
प्रतिक्रिया