अन्तर्वार्ता


आपत परे हामीलाई फोन गर्नुस् तर ससुराली र साथीभाइ भेट्न नहिँडिदिनुस्ः ट्राफिक प्रमुख ढकाल (अन्तर्वार्ता)

आपत परे हामीलाई फोन गर्नुस् तर ससुराली र साथीभाइ भेट्न नहिँडिदिनुस्ः ट्राफिक प्रमुख ढकाल (अन्तर्वार्ता)

उजिर कार्की
बैशाख ७, २०७७ आइतबार ९:१७,

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन गरेको एक महिना पुग्न लागेको छ। नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ। लकडाउन घोषणासँगै उपत्यका सुनसान बनेको छ। मानिसहरुको गतिविधि नियन्त्रण गर्न उपत्यकामा प्रहरीले चेकपोस्ट र प्रहरीको संख्या थप गरेको छ।

लकडाउन लम्बिँदै जाँदा नागरिकका समस्या पनि थपिँदै गएका छन्। उपत्यकामा ट्राफिक प्रहरी महाशाखाले लकडाउनको कार्यन्वयन र नागरिकको समस्यामा कसरी सहजीकरण कसरी गरिरहेको छ त? यसै सन्दर्भमा ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालसँग नेपालखबरले गरेको कुराकानीः

दिनदिनै सडकमा गाडीको संख्या बढ्दैछ, लकडाउन उल्लंघन बढेको हो?
चैत ११ गतेदेखि लकडाउन कार्यन्वयन भइरहेको अवस्था छ। आम नागरिकले लकडाउनलाई आवश्यक ठानेका छन्। सुरुवाती दिनभन्दा अझै प्रभावकारी रुपमा लागू भएको छ। अहिले त कसैको जमघट देखिए नागरिकले नै हामीलाई फोन गर्न थालेका छन्।

अहिले अत्यावश्यक सामग्री आपूर्ति गर्ने गाडी मात्र चलेका छन्। तरकारी, फलफूल, ग्यासलगायतका वस्तु ओसार्न गाडी गुडेका छन्।

अत्यावश्यक सेवा तथा वस्तु पुर्‍याउन खटिएका व्यक्तिहरु छन्। तिनलाई पासको व्यवस्था सरकारले नै गरेको छ। पास होल्डर व्यक्तिहरुको पनि मुभमेन्ट बढेको छ। त्यसैले सवारी साधन बढेको महसुस हामीलाई पनि भएको छ। बाहिरका जिल्लाबाट पनि ओहोर–दोहोर गर्नेहरु छन्। राहत वितरणका गाडीहरु पनि बढेका छन्। नागरिकका घरघरमा खाद्यन्न सामग्री पुर्‍याउने स्टोरका गाडी पनि छन्।

त्यसबाहेक आपतकालीन काममा हामीले पनि सहजीकरण गरिदिएका छौँ। तत्काल अस्पताल जानु पर्ने, नागरिक सेवासम्बन्धी कतिपय कार्यालय, बैंक, वित्तीय संस्था खोल्नुपर्ने भएकाले उनीहरु पनि आवतजावत गरिरहेका छन्।

7bhim_dhakal_ssp.jpg

लकडाउन उल्लंघन बढेको चाहिँ हो कि होइन?
सवारी साधनको संख्या बढ्दै गएको हो। तर, यसमा दुईटा पक्ष छन्। एक, नागरिक आफैं सचेत हुँदै जानुभएको छ। त्यसैले कहीँ उल्लंघन भएको सूचना हामीकहाँ बढी आइपुग्छ। दोस्रो, हामीले पनि पासविनाका सवारीलाई पक्राउ गर्ने क्रम बढिरहेको छ। ११ गतेदेखि हालसम्म उपत्यकामा १२ हजार बढी सवारीसाधनलाई कारबाही गरेका छौं।

उपत्यकामा पासको दुरुपयोग गर्ने २ हजार पास नियन्त्रणमा लिएका छौं। १८ गतेसम्मलाई सेतो पास दिइएको थियो, पछि एक दिने र तीन दिने पास जारी भएका थिए, ती पनि खारेज गरियो। ती पास हामीले नियन्त्रणमा लिएका छौं।

जुन कामका लागि पास दिएको हो, त्यो बमोजिम नगर्नेलाई पनि निगरानी बढाएका छौं। पास आफैँ मिति मिलाएको पनि भेटियो। जनपद प्रहरीले पनि भित्री सडकसम्म पुगेर माइकिङ गरेर सचेतना जगाइरहेको छ। पक्राउ गर्दा पनि नयाँ विधि अपनाएका छौं। उपकरणले पक्रिरहेका छौं। हाम्रो सक्रियतासँगै नागरिकको सहयोगले लकडाउन सहज भएको छ।

अत्यावश्यक काममा पनि प्रहरीले रोक्छ, जान दिँदैन, भन्ने गुनासो छ। किन रोक्नुहुन्छ?
अत्यावश्यकीय सेवाका गाडीलाई नेपाल सरकारले नै छुट दिएको छ। जरुरी पर्‍यो भने हामीले पनि छाडिदिएका छौं।

तर त्यसका लागि आत्यावश्यक प्रमाणित हुने कागजात हुनु पर्‍यो, जस्तै अस्पताल गएको हो भने अस्पतालको कार्ड चाहियो। बनावटी कामका लागि हामी दिँदैनौं। १०० नम्बरमा फोन गरेकालाई पनि हामीले सहजीकरण गरिदिएका छौं। पास लिएका बाहेकलाई जरुरी पर्‍यो भने हामीलाई फोन गर्नुहोस्, हामी सहजीकरण गर्छौं।

10_bhim_dhakal_ssp.jpg

तर, प्रहरीले आँखा नहेरी कारबाही मात्रै गर्छ, सहजीकरण गर्दैन भन्ने गुनासो छ। मानिसहरु पिटिएका छन्।
हामीले धेरै सहजीकरण गरेका छौं। दैनिक फोन कल आउने मसँगै रेकर्ड छ। ११ गते मात्रै ४२ सय कल आएको थियो १२ गते ४ हजार कल आएको थियो। त्यसपछि पनि नियमित २ हजारको हाराहारीमा कल आइरहेका छा्। लकडाउनपछि ५० हजार जति कल आइसकेका छन् हाम्रो १०३ मा।

हामीले अवस्था हेरेर ठाउँसम्म पुर्‍याउने व्यवस्था गरेका छौं। हाम्रो उदेश्य भनेकै नागरिकको गुनासो सम्बोधन गर्नु हो। घुम्न हिँड्ने, साथीभाइकोमा जाने, खटपट लागेर बाहिर जाने कुरालाई समस्या भनिदिनु भएन। ती कुरा सहनु पर्‍यो। बिनाकाम हिँड्नेलाई मात्रै प्रहरीले सडकमा होल्ड गरेको छ, अरुलाई काम सकेर जानुस् भनेका छौं। अभाव भएकालाई राज्यले खान दिन्छु भनेको छ बिनाकाममा किन जानु पर्‍यो बाहिर?

कसैलाई अहिले आपत पर्‍यो, अब के गर्ने?
अस्पताल जान आपत पर्‍यो, मलामी जान आपत पर्‍यो, कहीँ सुत्केरी हुन लाग्या छ, उपचार गर्न जानु पर्‍यो भने हामी सहजीकरण गरिदिन्छौं। घरमै एम्बुलेन्स बोलाइदिन्छौं। जरुरी कामका लागि १०३ अथवा १०० मा फोन गर्नुहोस्, हामी सहजीकरण गर्छौं तर दुरुपयोग गर्न पाइएन। ससुराल जान भएन, साथीभाइ भेट्न जानु भएन।

9_bhim_dhakal_ssp.jpg

आपतै परेकालाई उपत्यकाबाहिर पठाउन सक्नु हुन्छ?
यो उच्चस्तरीय समितिको विषय हो। उसले निर्णय गर्ने कुरा भयो। हामीले भनेको लकडाउनलाई कार्यन्वयन गराउने हो। जो जहाँ छ, त्यहीँ बसेर सहयोग गरिदिनुस्। चहलपहल रोक्ने काम हो हाम्रो।

१५ सय बढी ट्राफिक परिचालन गरेका छौं। १ सय ५२ ठाउँमा ड्युटी छ, ३९ ठाउँमा राति पनि डियुटी छ। ४६ ठाउँमा विशेष चेकिङ भइरहेको छ। केही दिनदेखि लकडाउनलाई अझै कडाइ गरिएको छ। लकडाउन उल्लंघन बढेको हो कि भनेर कडाइ गरेका छौं। काठमाडौंमा २४, ललितपुर र भक्तपुरमा ११/११ ठाउँमा चेकिङ थपेका छौं।

आफ्ना जवानलाई संक्रमणबाट जोगाउन चाहिँ ट्राफिक प्रहरीले के गरिरहेको छ?
हामी पनि मान्छे नै हौं। सम्पूर्ण नागरिक घरमा हुनुहुन्छ, हामी सबै सडकमा छौं। कोरोनाले यो पुलिस हो, यसलाई लाग्नु हुँदैन भन्दैन। हामीलाई पनि धेरै जोखिम छ। हाम्रा साथीहरु घाम, पानी, धुलो, रात नभनीकन खटिरहनुभएको छ। राति दुई बजे हेर्नुस् सडकमा ट्राफिक उभिइरहेको छ। यो सबै के को लागि भन्दा नागरिकको सुरक्षाकै लागि त हो नि।

अहिले हामीलाई एउटै मात्रै भावना छ हामीलाई कोरोना लागोस् नलागोस्, तर नागरिकलाई कोरोना नलागोस्। हामी मनमा त्यो भावना लिएर खटिरहेका छौं। प्रहरी हाम्रा लागि भनेर सोचिदिनु भयो भने सबै कुरा समाधान हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad