कर्णाली


उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

हेमन्त केसी
असोज ९ , जाजरकोट

डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउन्टेन होटल चलाउँछन्। उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउँछन्। 

वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ। दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ। पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्छन्। धो आफैँमा सुन्दर फाँट छ।

उपल्लो डोल्पाको चर्चित ठाउँसमेत हो। अहिले धो मा पहेलपुर हुँदै उवा बाली पोकेको छ। कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउन उपयुक्त समयको खोजीमा छन्। उवा उपल्लो डोल्पाको मुख्यबालीका रुपमा लिइन्छ। हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ। 

वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्र्याउने गरिन्छ। उपल्लो डोल्पावासी अबको हप्ता दिनमा उपयुक्त समय हेरेर उवा भित्र्याउने योजनामा रहेको दोर्जेले बताए। धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कु गाउँलगायतका २३ वटा गाउँमा उवाको खेती गरिन्छ। वर्षायामको झरीसँगै फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्न देशका विभिन्न क्षेत्रबाट सर्वसाधारण उपल्लो डोल्पा जाने गर्छन्।

उपल्लो डोल्पालाई चिनाउन बर्सेनि विभिन्न नाम दिएर मेला तथा महोत्सवसमेत हुने गरेका छन्। मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसमेत छ। शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यसको क्षेत्र डोल्पा र मुगु जिल्लामा समेत फैलिएको छ। नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ। यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भूधरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन्। 

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ। यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ।

काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ। उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ।

एघारौँ शताब्दीमा निर्मित शे गुम्बा यहीँ छ। गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ।

जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली सहरको नीति ल्याएर काम सुरु गरेको छ। पशुपालनका लागिसमेत जोड दिँदै सरकारले अनुदानको व्यवस्थालाई व्यापक बढाएको छ। वर्षको आधा समय हिउँले ढाक्ने यहाँ आधा समयमा मात्र खेतीबाली गर्ने गरिएको छ। चिसो मौसममा हिमपात हुने भएकाले खेतीबाली १२ महिना नहुने गरेको शे–फोक्सुण्डोकी प्रेमा गुरुङले बताइन्। 

उवा बाली भित्र्याएपछि उपल्लो डोल्पाका सर्वसाधारण चिसो छल्न बेंसी झर्ने गर्छन्। केही सर्वसाधारण उपल्लो डोल्पामा आयतित र आफैँले उत्पादन गरेको उवाबाट बनेका परिकार खाएर जीवन चलाउने गरेको गुरुङले बताइन्। उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा हुँदैन। पानीभन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुने गर्छ।

उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो गाउँपालिका पर्छन्। भूगोलका हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो। मुस्ताङबाटसमेत उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी छ। 

गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्न काम निरन्तर भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडक निर्माण जारी राखेको हो।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण जारी छ। उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ। यो  कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ। समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ। 

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने पूवमन्त्री सत्य पहाडीको बुझाइ छ। अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ। कृषिउपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्नेसमेत विश्वास छ।

भेरी करिडोरअन्तर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडकको निर्माण जारी छ। यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति कालोपत्रको काम निरन्तर जारी छ। यो पर्यटकीय रुटका रुपमा स्थापित छ। यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माण जारी रहेका दुई ठूलो जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्नेछ। 

यातायात जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्नेछ। डोल्पामा पाइने उच्च कोटीको स्याउलेसमेत बजार पाउनेछ। आर्थिक रुपमा सक्षम बनाउन यहाँको स्याउ आम्दानीको स्रोत हो। यार्सागुम्बासहित अन्य मूल्यवान् जडीबुटी डोल्पाका आम्दानीका आधार हुन्। डोल्पाको पूर्वमा मुस्ताङ, चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु पर्छन्। उत्तरमा चीनको तिब्बत, दक्षिणमा जाजरकोट र रुकुम पश्चिम पर्दछन् । डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको सङ्ख्या दुई हजार भन्दाबढी रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। रासस

असोज ९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad