ad ad

कर्णाली


सल्यानको चुनावी कुस्ती : एमालेकै पूर्वसहकर्मी आमने-सामने

प्रकाश ज्वालालाई गठबन्धनको बल
सल्यानको चुनावी कुस्ती : एमालेकै पूर्वसहकर्मी आमने-सामने

दिनेश बुढा
कात्तिक ७, २०७९ सोमबार ६:५८, सुर्खेत

सल्यानमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला र एमालेबाट राजेन्द्रवीर रायबीच प्रतिस्पर्धा हुने भएको छ।दुबै नेकपा एमालेका पूर्वसहकर्मी हुन्। 

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट मैदानमा उत्रिएका ज्वाला एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली इन्चार्ज हुन्। सल्यानमा ज्वाला बलियो उम्मेदवारका रुपमा चिनिन्छन्।

ज्वालालाई टक्कर दिन एमालेले रायलाई चुनावी मैदानमा उतारेको छ। ज्वाला संसदीय अभ्यासमा कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीको सरकार जोगाउने योजनाकारसमेत हुन्। 

तत्कालीन माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेपछि आफ्नै नेतृत्वमा उनीसहित एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए। त्यसैका कारण देशभर एमालेभित्र विवाद चर्किँदै गएको थियो।

एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा लागे। ज्वालाले जित हासिल गर्न कांग्रेस र माओवादीको साथ लिएका छन्। ज्वाला कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए।

एकीकृत समाजवादी जिल्ला कमिटी सल्यानले प्रतिनिधिसभा निर्वाचनका लागि प्रकाश ज्वालाको नाम एकल सिफारिस गरेको थियो। ज्वालाले ‘सल्यानको समग्र विकास र सल्यानी जनताको खुसीः मेरो प्रतिवद्धता’ नाराका साथ चुनावी अभियानमा होम्मिएका छन्। 

समाजवादी जिल्ला सचिव रमेश गौतमले सल्यानमा एमालेको साख ज्वालाले जोगाएको भन्दै अब समाजवादीमा लागेपछि धेरै शक्ति ज्वालासँग नै भएको दाबी गरे। 

सल्यानमा एमाले विभाजन हुनुपहिले एमाले पहिलो दल बनेको थियो। जिल्लाका प्रभावशाली नेता ज्वाला समाजवादीमा लागे पनि समाजवादीको मत सल्यानमा कम देखिएको छ।

एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला

पार्टीको जनाधार कमजोर भएपनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका ज्वाला बलियो उम्मेदवार मानिन्छन्।

यसअघि कर्णाली प्रदेशमा अर्थमन्त्री भइसकेका ज्वाला ०५१ सालमै प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। ०५६ को आम निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्यमा एमालेबाट निर्वाचित भएका थिए। 

यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका राजेन्द्रवीरले ज्वालालाई टक्कर दिने छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिए।

उनी तत्कालीन राप्रपाका एक प्रभावशाली नेतासमेत हुन्। राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति सदस्य रहेका उनी एमालेमा आउनु अघि राप्रपा नेपालको उपाध्यक्ष थिए। 

राय राप्रपामा हुँदा २०४६ सालपछि सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिनको मुद्दा, भ्रष्टाचार अराजकता रोक्ने कानूनी शासनको आवश्यकता लगायतका विषयवस्तु उठान गर्ने व्यक्ति हुन्।

उनी ०७४ सालको निर्वाचनमा सल्यान प्रदेश सभा (२)मा राप्रपाबाट चुनाव लडेका थिए। उनले जम्मा ६ हजार ५४ मत प्राप्त गरेका थिए।

सल्यानबाट प्रतिनिधि सभा एक सिटका लागि सात जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्।

मुख्य प्रतिस्पर्धी मानिएका ज्वाला र रायसँगै राप्रपाबाट नेत्रलाल श्रेष्ठ, नेकपा मालेबाट भीमबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटा तथा राजेन्द्रबहादुर शाह र जुद्धबहादुर सिंह स्वतन्त्र उम्मेदवार बनेका छन्। 

एमालेका उम्मेदवारहरु

प्रदेश सभा (१)
यस्तै, दुई वटा प्रदेश सभा निर्वाचन रहेको सल्यानमा ११ जना प्रतिस्पर्धी रहेका छन्। जसमा प्रदेश सभा (१)मा पाँच र प्रदेश सभा (२)मा ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रदेश सभा (१)मा गठबन्धन र एमालेबीच नै मुख्य भिडन्त हुने देखिन्छ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका भीमप्रकाश शर्मा चुनावी मैदानमा छन्। उनी कर्णालीका पूर्वमुख्यमन्त्री कालीकोटका महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकारसमेत थिए। उनीसँग प्रतिस्पार्धाका लागि एमालेबाट कुलबहादुर गिरी मैदानमा छन्। 

यस्तै, अन्य दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवबहादुर वली र स्वतन्त्रबाट रमेश बुढाथोकी र तुले सुनार चुनावी मैदानमा छन्। 

प्रदेश सभा (२)
सल्यान प्रदेश सभा (२) मा चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ। जहाँ नेकपा एमालेका प्रभावशाली नेता गुलावजंश शाह चुनावी मैदानमा छन्। उनीसँग टक्करका लागि बाम–लोकतान्त्रिक गठबन्धनले कांग्रेसका सुरेश अधिकारी चुनावी मैदानमा खडा गरेको छ।

एमालेका उम्मेदवार शाह पार्टीको पोलिटब्युरो सदस्य, कर्णाली प्रदेश सह–इन्चार्ज तथा सल्यान जिल्ला इन्चार्जसमेत हुन्।

उनी ०७४ सालको प्रदेश सभाको निर्वाचनमा सल्यान प्रदेश सभा (१)बाट प्रत्यक्ष निर्वाचन जितेका थिए। उनी यस पटकको निर्वाचनमा भने निर्वाचन क्षेत्र नम्बर बदल्दै प्रदेश सभा (२) तिर लागेका छन्। 

यस क्षेत्रमा प्रदेश सभाका लागि एमालेका शाह र कांग्रेसका अधिकारीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारायणकुमार शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट डण्डवीर पुन, जनता समाजवादी पार्टी नेपालबाट अशोक रेउले र स्वतन्त्रबाट निर्मल सिंह उम्मेदवार बनेका छन्। 

यस्तो छ, अंकगणित 
०७४ मा प्रतिनिधि सभामा माओवादीले जितेको थियो। माओवादीका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए।

यस्तै, स्वतन्त्र उम्मेदवार उमाकान्त खनालले तेस्रो नम्बरमा २ हजार ९२१ र मालेका बलबहादुर गिरी २ हजार २९२ मत ल्याएका थिए।  

०७४ को निर्वाचनमा प्रदेश सभा (१) बाट एमालेका गुलाबजंग शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए।

प्रदेश सभा (२)मा पनि एमालेबाट प्रकाश ज्वाला १९ हजार ८३६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत प्राप्त गरेका थिए। राप्रपाले ६ हजार ५४ मत पाएको थियो। 

०७४ को स्थानीय तहको निर्वाचनमा १० वटा पालिकामध्ये एमालेले चार पालिका प्रमुख, कांग्रेसले तीन, माओवादीले तीन पालिकाको नेतृत्व पाएको थियो।

तर, स्थानीय निर्वाचन–२०७९ मा कांग्रेसले पाँच वटा पालिकाको नेतृत्व पाउँदा एमाले र माओवादीले दुई–दुई वटा र समाजवादीले एउटा पालिका जितेको छ। यस जिल्लामा कांग्रेसको एउटा पक्ष एमाले र एउटा समुह माओवादीसँग तालमेल गरेर चुनाव लडेका थिए। 

१० पालिकामध्ये माओवादीले ३ को प्रमुखमा उम्मेदवार उठाएको थिएन भने कांग्रेस र एमालेले एक–एक वटा पालिका प्रमुखमा उम्मेदवारी दिएको थिएन। समाजवादीले धेरैजसो पालिका प्रमुख पदमा माओवादी र कांग्रेसलाई साथ दिएको थियो। 

यस्तै, उपप्रमुखसहितको मतभार जोड्दा कांग्रेसको ४२ हजार १००, माओवादीको ३८ हजार ३८४, एमालेको ३१ हजार ९९४ र समाजवादीको १५ हजार ३११ मतभार संख्या  छ। 

यस्तै, गत वैशाखमै भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतको अधारमा जिल्ला भर सबै भन्दा धेरै नेपाली कांग्रेसले पाएको छ।

जसमा कांग्रेसले ३३ हजार ६१६ मत पाएको छ भने माओवादीले, २६ हजार ७१३, एमालेले २६ हजार ६२८, समाजवादीले ९ हजार ४६७ मत पाएको छ। यस्तै, राष्ट्रिय पजातन्त्र पार्टीले २ हजार ११७ र राप्रपा नेपालले १३६ मत मात्रै पाएको छ।

यहाँ प्रदेश सभा (१) तर्फ बनगाड कुपिण्डे नगरपालिकाको १ देखि ७ नम्बर वडा, कुमाख, दार्मा, सिद्धकुमाख गाउँपालिका तथा बागचौर नगरपालिका र शारदा नगरपालिकाका १ देखि ४ नम्बर वडा पर्दछन्। 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षले पाएको मतको आधारमा सबै भन्दा बढी मत कांग्रेसको छ। जसमा नेपाली कांग्रेसले १७ हजार १९८, एमालेले १० हजार ४०७, माओवादीले १६ हजार ५३१, समाजवादीले ५ हजार ४९१ मत पाएको छ।

यस क्षेत्रमा एमाले भन्दा गठबन्धन करिब २९ हजार मतले अगाडि देखिन्छ। यस निर्वाचन क्षेत्रमा जम्मा ७८ हजार ६६८ मतदाता संख्या र ९९ मतदान केन्द्र रहेका छन्।

प्रदेश सभा (२) मा शारदा नगरपालिकाका ५ नम्बरदेखि १५ नम्बरसम्मका वडा, कालिमाटी, त्रिवेणी, छत्रेश्वरी, कपुरकोट गाउँपालिका तथा वनगाड कुपिण्डे नगरपालिकाका ८ नम्बर वडा देखि १२ नम्बर वडासमेत पर्दछन्। 

यस क्षेत्रमा दलगत हिसाले हेर्दा सबै भन्दा बढी एमालेको मतभार रहेको छ। जसमा एमालले १६ हजार २२३ मत छ। कांग्रेसको १६ हजार १२७, माओवादी केन्द्रको ११ हजार ३२९ र एकीकृत समाजवादीले ५ हजार १७६ मत पाएको छ। 

यहाँ गठबन्धनको मत जोड्दा एमाले भन्दा दोब्बर मतान्तरले अघि रहेको छ। तर, गत वैशाखमा भएको स्थानीय तहको यो तथ्यांक ७ महिनासम्म उही नरहेर बदलिन सक्ने आकलन गरिएको छ। यस निर्वाचन क्षेत्रमा ७९ हजार ३३ मतदाता संख्या र १०३ मतदान केन्द्र रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .