सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलातर्फ तीर्थयात्री बोकेर गइरहेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। भेरीगंगा नगरपालिका–५ बबईनजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको हो।
आइतबार साँझ भएको उक्त दुर्घटनामा परी ३६ जना घाइते भएका र उनीहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरविक्रम विश्वकर्माले प्रहरीलाई ३६ जना घाइते भएको विवरण आएको जानकारी दिए।
उनले भने, ‘बस दुर्घटनामा ३६ जना घाइते भएका विवरण प्रहरीसँग छ। ती मध्ये पाँच जना गम्भीर र अन्य सामान्य घाइते छन्। उनिहरुको उपचार नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा भइरहेको छ।’
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बसमा कति यात्रु सवार थिए भन्ने बारेमा एकिन विवरण नखुलेको बताए।
उक्त बसमा पश्चिम सुर्खेतको पञ्चपुरी र वीरेन्द्रनगर नगरपालिकाबाट महाकुम्भ हिँडेका तीर्थयात्रीहरू रहेको जनाइएको छ।
बस मोड्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बस सडकबाट करिब ८ मिटर तल खसेको छ।
Shares

प्रतिक्रिया