कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशन सम्पन्न गरेको छ। प्रदेशका ८ जिल्लामा कहीँ सर्वसम्मत तथा कहीँ निर्वाचनबाट चुनिसकेको छ।
देशैभर जिल्ला अधिवेशनमा जुटेको रास्वपा डोल्पा जिल्लामा भने सुनसान छ। माथिल्लो कमिटीले कुनै निर्देशन नदिँदा अन्योल सिर्जना भएको रास्वपाका नेता हरिप्रसाद डाँगीले गुनासो गरे। हाल्लसम्म अधिवेशनबारे प्रदेश तथा केन्द्रबाट कुनै पनि जानकारी नआएको उनले बताए।
‘अधिवेशन कहिले हुने टुंगो भएको छैन, पार्टी केन्द्रबाट कुनै सरसल्लाह र निर्देशन पनि छैन’ डाँगीले नेपालखबरसँग भने, ‘चासो हुनुपर्ने सबैलाई हो तर डोल्पालाई केन्द्रले प्राथमिकता नदिएको हो कि, नचिनेको वा गणना नगरेको हो कि?’
यस्तै, उनले डोल्पा जिल्लामा विस्तारै पार्टी विस्तार भइरहेकाले अहिले केन्द्रको निर्देशन बिनै अधिवेशन गर्न नसकिने बताए। सुरुवाती चरणमा पार्टीमा आवद्ध भएका नेता तथा कार्यकर्ताहरू अहिले संगठनमा नदेखिँदा समस्या भएको उनको भनाइ छ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा डोल्पामा रास्वपा चौथो भएको थियो। रास्वपाबाट उम्मेदवार बनेका दानसिंह एडीले १८१ मत पाएका थिए। निर्वाचित भएका नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढाले ६ हजार बढी मत प्राप्त गरेका थिए।
Shares

प्रतिक्रिया