कोशी


रोकिएन हात्तीको आक्रमणबाट ज्यान गुमाउने क्रम, विज्ञ भन्छन्- मान्छेले नै बानी सुधार्नुपर्छ

रोकिएन हात्तीको आक्रमणबाट ज्यान गुमाउने क्रम, विज्ञ भन्छन्- मान्छेले नै बानी सुधार्नुपर्छ

तस्बिर : शंकर क्षेत्री।


ध्रुव भट्टराई
पुस १९, २०७९ मंगलबार १२:५७, विराटनगर

झापा शिवसताक्षीका शान्तिराम भण्डारी र उनकी पत्नी कृष्णमाया गत शनिबार घरमै सुतिरहेका थिए। राति आएका चार जंगली हात्तीले एकाएक घर भत्काउन थाले। वृद्ध दम्पती तत्काल घरबाट निस्किन सकेन।

७१ वर्षीय शान्तिराम र ६१ वर्षीया कृष्णमाया जंगली हात्तीको आक्रमणमा परे। उनीहरूमध्ये पत्नी कृष्णमायाको मृत्यु भएको छ। पति शान्तिराम गम्भीर घाइते भएका छन्। उनको अहिले दमकको आम्दा अस्पतालमा उपचार भइरहेको छ।

झापाको कचनकवल गाउँपालिकामा गत मंगलबार हात्तीको आक्रमणबाट वडा नम्बर १ का ३७ वर्षीय जगतबहादुर भुजेलको ज्यान गएको थियो। 

हात्तीको समूहका कारण भुजेलको शव उठाउन प्रहरी र स्थानीयलाई निकै सकस भयो। हात्तीलाई घटनास्थलबाट धपाएर शव उठाउन झन्डै ५ घण्टा लाग्यो। 

केही वर्षयता झापाका उत्तरी क्षेत्रका बासिन्दामाझ जंगली हात्तीको आतंक छ। हरेक महिनाजसो जंगली हात्तीको आक्रमणबाट एक न एकजनाको ज्यान जाने गरेको छ।  

सीमाक्षेत्रको भारतीय जंगलबाट सयौँको संख्यामा मेची नदी तरेर गाउँ पस्ने हात्तीबाट झापाको चुरेक्षेत्र आसपासका बासिन्दा सबैभन्दा बढी पीडित छन्।

मोरङ र सुनसरी जिल्लावासी पनि हात्तीको आतंकबाट आजित छन्। यी तीन जिल्लामा तीन दशकदेखि मानव र हात्तीबीच निरन्तर द्वन्द्व छ।

हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन, न त उताबाट आउने हुलका हुल हात्ती रोक्ने भरपर्दो प्रयास नै गरिएको छ। 

स्थानीयका अनुसार भारतको पश्चिम बंगाल क्षेत्रबाट मेची खोला तर्दै झापा, मोरङ र सुनसरीको कोसी टप्पु क्षेत्रमा जंगली हात्ती आउने गरेका छन्।

तस्बिर : डा. अशोककुमार राम।

भारतको पश्चिम बंगालमा महानन्द वन्यजन्तु निकुञ्ज छ। पश्चिम बंगालको वन्यजन्तु संरक्षण गरिने उक्त जंगलमा आसामदेखि आउने हात्तीले वासस्थान बनाउने गरेका छन्।

पश्चिम बंगाल र आसामसम्म फैलिएको करिडोरअन्तर्गत नेपालतर्फ कोसीटप्पुसम्मको बाटोलाई हात्तीको हिँड्ने पुर्ख्यौली रुटका रूपमा चिनिन्छ।

त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहाराको खोजीमा सीमा तरेर बाहुनडाँगी आइपुग्छ। खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनास गर्ने हात्तीले मानिसलाई पनि आक्रमण गर्ने गरेका छन्। जसमा परेर धेरैले अकालमा ज्यान गुमाइरहेका छन्।  

तीन दशकदेखि जारी जंगली हात्ती–मानव द्वन्द्वबाट झापा सबैभन्दा बढी आक्रान्त छ।

हरेक वर्ष जंगली हात्तीको आक्रमणबाट मृत्यु हुने र अंगभंग हुनेको दर बढिरहेको छ। अहिलेसम्म कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्यांक उपलब्ध छैन। तथापि सरकारी निकायहरूले ५० भन्दा बढी जनाको मृत्यु भएको र ३० वटा भन्दा बढी हात्ती मारिएको जनाएका छन्।

द्वन्द्वमा मारिएका सर्वसाधारण र हात्तीको वास्तविक आँकडा सरकारले बताएभन्दा दोब्बर हुनसक्ने मानव-हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च (बाहुनडाँगी) का संस्थापक अध्यक्ष ढुण्डिराज पौडेलको दाबी छ।

तस्बिर : शंकर क्षेत्री।

यता प्रदेश प्रहरी कार्यालय (विराटनगर) का अनुसार २०६८ देखि २०७९ मंसिर मसान्तसम्म प्रदेश १ का झापा, मोरङ र सुनसरीमा हात्तीको आक्रमणबाट ७३ जनाको मृत्यु भएको छ। जसमध्ये झापामा सबैभन्दा बढी ६३ जना छन्। 

प्रदेशमा गएको आर्थिक वर्ष ०७८/०७९ मा मात्र हात्तीको आक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन भने १५ जना घाइते भएका छन्। चालु आर्थिक वर्षको साउनयता मंसिर मसान्तसम्म हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जंगल विनासको परिणाम : मानव–हात्ती द्वन्द्व
हुल बाँधेर हिँड्ने हात्तीलाई पछिल्लो जंगल विनास गरी बस्ती बसाउने क्रम बढेपछि आहाराको समस्या हुने गरेको छ। यही कारण आहाराको खोजीमा निस्किने हात्ती र मानिसबीच द्वन्द्व बढेको विज्ञहरू बताउँछन्।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख, संरक्षण अधिकृत एवं हात्तीबारे विद्यावारिधि गरेका डा. अशोककुमार रामले  हात्ती र मानिसबीच  द्वन्द्वको मूल कारण मानिस नै भएको बताउँछन्। 

‘जनघनत्व बढेसँगै हात्तीको चरण क्षेत्र अतिक्रमणमा परेका छन्’, संरक्षण अधिकृत राम भन्छन्, ‘हात्ती आवतजावत गर्ने बाटामा ठूलठूला संरचना निर्माण गरिएको छ।’

चरण क्षेत्रमा अवरोध भएपछि हात्तीको बथान गाउँ पस्ने गरेको र मानिस आक्रमणमा पर्ने गरेको उनी बताउँछन्। उनी थप्छन्, ‘हात्ती र मानिसबीचको द्वन्द्वको उपज हामी मानिस नै हौँ।’

संरक्षण अधिकृत रामका अनुसार पूर्वी नेपालमा पश्चिम बंगालबाट आहाराको खोजीमा बर्सेनि हात्तीहरू नेपाल प्रवेश गर्ने गरेका छन्।

तस्बिर : शंकर क्षेत्री।

विशेषगरी वर्षमा दुईपटक मकै पाक्ने बेला चैत–वैशाख र धान पाक्ने समय साउन–कात्तिकसम्म आसामबाट जंगली हात्तीहरू नेपाल आउने गरेका छन्। ती सबै पाहुना हात्ती भएकाले  केही समय पूर्वी नेपालका जंगलमा बसेर फर्कने उनी बताउँछन्।

टिस्टा खोला हुँदै झापाको प्रवेशद्वार बाउनडाँगीदेखि कोसीटप्पु वन्यजन्तु आरक्षसम्मको बाटो हात्तीको पुर्खाको पुरानो रुटमा पर्छ। 

आहाराको खोजीमा नेपाल प्रवेश गर्ने हात्तीहरू हिँड्ने जैविक मार्ग पहिला चारकोसे झाडी थियो। तर चुरे क्षेत्रका घना जंगल अहिले बस्तीमा परिणत भएका छन्। 

हात्ती हिँड्ने ठाउँमा सडकसहितका संरचना निर्माण गरिएका छन्। यसरी हात्ती हिँड्ने साविकका जैविक मार्ग मासिने क्रम बढेसँगै उनीहरूको आवतजावतमा अवरोध सिर्जना भएको छ।

अनि स्थानीयले हात्तीलाई मनपर्ने खानेकुरा मकै, धानलगायतका खाद्यान्न बाली लगाएका कारण उनीहरू आहारका लागि गाउँ पस्ने क्रम बढेको हो। जसले गर्दा मानिस र हात्तीबीच द्वन्द्व बढ्दै गएको हात्तीविज्ञ रामको भनाइ छ। यो क्रममा हात्ती पनि मारिने क्रम बढेको उनले बताए। 

तस्बिर : शंकर क्षेत्री।

हात्तीविज्ञ रामका अनुसार हात्ती आफ्ना आनीबानी परिवर्तन गर्न नसक्ने जनावरमा पर्छ। त्यसैले हात्ती–मानव द्वन्द्व घटाउन मानिसले नै आफ्ना व्यवहार सच्याउन जरुरी छ।

त्यसका लागि हात्तीलाई स्वतन्त्र रूपमा आफ्नो रुटमा हिँड्ने वातावरण बनाउन सके मात्र मानव–हात्ती द्वन्द्वबाट निम्तिने घटना न्यूनीकरण हुने उनी बताउँछन्।

हात्तीविज्ञ रामका अनुसार नेपाल प्रवेश गर्ने मुख्य नाका झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रसम्म आइपुग्दा धेरैवटा अवरोध छिचोल्नुपर्छ। यही क्रममा धेरै स्थानमा हात्ती र मानिसबीच द्वन्द्व हुने गरेको हो। 

नेपालमा रैथाने २ सय ७० र वर्षमा दुईपटक गरी १ सय ५० को संख्यामा भारतबाट नेपालका पूर्वी क्षेत्रमा पाहुना हात्ती आउने गरेका छन्। हात्ती–मानव द्वन्द्व सिर्जित घटनामा पछिल्लो समय  वर्षमा ५/६ वटा हात्ती अल्पायुमै मर्ने गरेको तथ्यांक रहेको हात्तीविज्ञ रामले बताए। 

मानव–हात्ती द्वन्द्वका कारण मानिस मारिने क्रम पनि उत्तिकै छ। यसकारण सरकारले मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरणका लागि विशेष पहल थाल्न जरुरी रहेको उनी बताउँछन्। 

हात्ती हिँड्ने साविकको मार्ग र वासस्थान संरक्षण मात्रै गर्ने हो भने पनि हात्तीबाट मानिस मारिने क्रम ७० प्रतिशतसम्म रोकिने उनको दाबी छ। 

इलामको जिर्मलेस्थित दुधे टोलबाट बाहुनडाँगी हुँदै झापाको नकलबन्धा भेट्ने गरी मेची नदीको नेपालपट्टिको किनारमा विद्युतीय तारबार लगाइएको छ।

विद्युतीय तारबार नाघेर वा भत्काएर हात्ती मानव बस्तीमा पस्ने गरेका छन्। हात्तीको मार्गलाई रोक्ने, छेक्ने र अवरोध गर्ने कुरा सम्भव नभएको जिकिर गर्दै अहिलेसम्म गरिएका काम अस्थायी समाधान मात्र भएको उनी बताउँछन्।

‘तारबार लगाएर हात्ती छेक्न खोज्नु स्थायी समाधान होइन’, हात्तीविज्ञ राम भन्छन्, ‘हात्ती–मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि पर्यावरणीय काम गर्न आवश्यक छ। यसका लागि हात्ती पनि बाँच्नुपर्छ भन्ने चेतना सर्वसाधारणलाई दिनुपर्छ।’ मान्छे र हात्तीसँगै बस्ने उपायको खोजी गरिनुपर्ने उनी बताउँछन्।

राहत पाउन सास्ती 
झापा मेचीनगर नगरपालिकाका ६५ वर्षीय श्याम राई गत जेठ ४ गते घरछेउमा हात्तीको आक्रमणमा परेर मारिए। ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेको राईको परिवारले एक महिनासम्म नगरपालिकाबाट काजकिरिया खर्च लिन निकै सास्ती बेहोर्नुपर्यो।

तर नगरपालिकाले वन्यजन्तुबाट मृत्यु भएकाका परिवारलाई १३ दिनभित्रै किरिया खर्च भनेर २५ हजार रुपैयाँ दिने नियम बनाएको छ।

मृतककी पत्नी जुनबिरा राईले किरिया खर्चबापतको रकम लिन नगरपालिका र वन कार्यालय धाउँदाधाउँदा हैरानी बेहोर्नुपरेको गुनासो गरिन्।

तस्बिर : शंकर क्षेत्री।

दुई वर्षअघि राति घरछेउमा हात्तीसँगको जम्काभेटमा ज्यान जोगाउन सफल भद्रपुर नगरपालिका २ का आशबहादुर राईको पीडा पनि उस्तै छ। हात्तीको आक्रमणबाट घाइते आफूले अहिलेसम्म कुनै राहत तथा उपचार नपाएको गुनासो उनले गरे।

सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ। तर धेरैजसो पीडितले उक्त रकम बेलैमा पाउँदैनन्।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएकाका परिवारले १० लाख रुपैयाँ राहत पाउने व्यवस्था छ। सख्त घाइतेको उपचारमा लाग्ने सबै खर्च बेहोर्ने र सामान्य घाइतेलाई उपचार खर्च बापत २० हजार रुपैयाँसम्म दिने कानुनी व्यवस्था छ।

घरगोठ भत्काएमा, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्य बालीमा क्षति पुर्‍याएमा १० हजार रुपैयाँसम्म दिने व्यवस्था छ।

डिभिजन वन कार्यालय (झापा) ले २०६२ सालदेखि हालसम्ममा हात्तीपीडित २ हजार ७ सय ९५ जनालाई विभिन्न शीर्षकमा ४ करोड ४७ लाख १४ हजार ४ सय ४० रुपैयाँ बराबर राहत वितरण गरिएको तथ्यांक छ। 

तस्बिर : शंकर क्षेत्री।

यता बाहुनडाँगीको विद्युतीय तारबार सफल भएपछि दक्षिण झापास्थित जलथल र निचाझोडा जंगल वरिपरि तारबार लगाइएको छ। जलथल र निचाझोडा जंगलको बाहिरपट्टि हाल्दिबारी, कचनकबल र भद्रपुर क्षेत्रमा ४२ किलोमिटर विद्युतीय तारबारका लागि सरकारले ७ करोडभन्दा बढी लगानी गरिसकेको छ।

तारबारको नियमित मर्मतसम्भार नहुँदा र मानिसले नै वनको अवैध तस्करी गर्न तारबार भत्काउँदा हात्ती गाउँ पस्न सजिलो हुने गरेको छ। नत्र तारबारले हात्तीलाई जंगलभित्रै बस्न बाध्य तुल्याउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .