कोशी


कोसी प्रदेशसभाको शून्य समय : विपद् र मल खादबारे सरकारको जवाफ माग

कोसी प्रदेशसभाको शून्य समय : विपद् र मल खादबारे सरकारको जवाफ माग

नेपालखबर
असार १६, २०८२ सोमबार १६:४७, विराटनगर

कोसी प्रदेशसभाका सांसदहरूले किसानले मलखाद पाउन नसकेको तथा मनसुन सक्रिय हुँदा समेत सरकारको तयारी नदेखिएको बारेमा सरकारको जवाफ मागेका छन्। 

कोसी प्रदेशसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले मनसुन सुरु भइसक्दा समेत सरकारको तयारी अझै नदेखिएको बताए। प्रदेशसभा सदस्य सपना दर्जीले मनसुन सुरु भइसकेको अवस्थामा सरकारको तयारी कसरी अघि बढिरहेको छ भन्दै प्रश्न गरिन्। 

उनले यो वर्ष मनसुनमा अरू वर्षहरू भन्दा बढी नै बाढी पहिरो जाने पूर्व अनुमान गरिएकोले त्यसको तयारीको बारेमा चासो राखिन्। ‘सरकारले विपद्‍बारेमा यथार्थ तयारी कस्तो गरिरहेको छ भन्ने बारेमा मुख्य प्रश्नहरू छन्,’ उनले भनिन्, ‘विपद्का नाममा सरकारले छुट्याउने बजेट आपत परेको बेला मात्रै खर्च गरिन्छ त्यसको रोकथाम र पूर्व तयारीमा खर्च गरेको देखिँदैन।’ 

विपद् भइहालेको अवस्थामा सरकार कुन अवस्थामा छ भन्ने जानकारी सबै नागरिकले पाउनुपर्ने उनको भनाई छ। स्थानीय तहहरूले समेत विपद्को पूर्व तयारीमा लाग्नु पर्नेमा विपद् पछि राहत बाँड्ने काममा मात्रै लाग्ने गरेको बताइन्। ‘पूर्व तयारीलाई कोसी प्रदेश सरकारले कसरी काम गरिएको छ, त्यसको बारेमा जानकारी चाहियो’, उनले भनिन्। 

अर्का सांसद गोम्बु शेर्पाले असार १५ गइसक्दा समेत किसानले मल र बिउ पाउन नसकेको बताए। खेतबारीमा हुनुपर्ने किसानहरू मल गोदाम अगाडि, कृषि सहकारीहरू र कृषि ज्ञान केन्द्र अगाडि लाइन लागेर बस्नु पर्ने अवस्था रहेको बताए। लाइनमा बस्दा समेत किसानले मल खाद पाउन नसकेको सांसद शेर्पाले आक्रोश व्यक्त गरे। 

उनले भने, ‘सरकारले मलको सहज उत्पादन पनि नगर्ने अनि सम्बन्धित ठाउँबाट आयात गर्नु पर्ने मल समेत आयात गर्न नसकेर सरकारीले असक्षमता देखायो।’ 

कृषकलाई सहज मल बिउ उपलब्ध गराउन नसकेर सरकारले आफ्नो असक्षमता र असफलता देखाएकोले त्यसलाई तत्काल समस्या समाधान गर्न माग गरे। उनले सरकारलाई गीति शैलीमा भने, ‘हो हो सरकार हो हो, मल बिउ चाहियो हो हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad