कोशी


मन्त्रीले क्यूआर मार्फत घुस मागेको विषयमा माओवादी भन्छः मुख्यमन्त्री लाचार भए

मन्त्रीले क्यूआर मार्फत घुस मागेको विषयमा माओवादी भन्छः मुख्यमन्त्री लाचार भए

नेपालखबर
साउन १२, २०८२ सोमबार २०:१४, विराटनगर

कोसी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको सचिवालय मार्फत क्यूआर कोड पठाएर भ्रष्टाचार गरेको आरोपबारे मौनता साँधेको भन्दै नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको आलोचना गरेको छ।

मन्त्रीले आरोपबाट चोखिने गरी मात्रै जवाफ दिएको माओवादीको आरोप छ।

सोमबारको प्रदेश सभाको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले चोरले आफूले चोरेँ नभन्ने भन्दै छानबिन आवश्यक रहेको बताए।

उनले भने, ‘कुनै पनि चोरले मैले चोरेको भन्ने इतिहास छैन, कुनै पनि भ्रष्टाचारीले मैले भ्रष्टाचार गरेँ भनेर आफैँ सदनमा आएर या अदालत अगाडी गएर भनेको इतिहास नभएकोले यस्ता भ्रष्टाचारका विषयहरू छानबिन गर्न आवश्यक छ।’ 

आइतबारको प्रदेश सभाको बैठकमा मन्त्री मण्डलले आफूले आफ्नो मोबाइलबाट क्यूआर कोड नपठाएको र कसले पठायो आफूलाई थाहा नभएको भनी दिएको जवाफमा चुप लागेर बस्ने अवस्था नभएको बताए। 

‘मन्त्रीले प्रदेश सभा भित्र शालीन ढङ्गले आफूले क्यूआर कोड पठाएर  भ्रष्टाचार गरेको छैन भनेर सदनमा भन्नुभयो,’ उनले भने, ‘कसले गर्‍यो मलाई थाहा छैन, भ्रष्टाचार भएको छ तर मेरो नम्बरबाट भएको छैन भनेर स्वीकार गरेको देखियो।’  

प्रश्न उठिसकेपछि यसको अनुसन्धान हुनु पर्ने उप्रेतीको भनाई छ। यसको मुख्यमन्त्री र सम्बन्धित दलको नेताको लाचार प्रवृत्तिका कारण अहिलेसम्म छानबिन नगरिएको भन्दै उनले कांग्रेस र सरकारको आलोचना गरे। 

उनले भने, ‘आफ्नो क्याबिनेटका मन्त्रीहरूको खुलेआम भ्रष्टाचारका प्रकरणहरू उठिरहँदा पनि चुप लागेर मौन स्वीकार गरेको देखियो। हुन त लुट्न र चोर्नको लागि नै बनेको सरकार भनेर जनताले नै भनिरहेका छन्।’  

मन्त्रीको घुस काण्ड आउँदा पनि मुख्यमन्त्री आनन्द मानेर बसेको उप्रेतीको आरोप छ। छानबिन गरेर मन्त्रीका विरुद्धमा उठेका विषयलाई सरकारले सामान्य आँक्न नहुने उनको भनाई छ।

‘मुख्यमन्त्री लाचार छाया बनेर बसिरहनु भएको छ, यसको जवाफ मुख्यमन्त्रीले दिनु पर्छ, दलको नेताले दिनु पर्छ,’ उनले भने, ‘यस्ता विषयहरू उठेका छन्, यत्रा विषय माननीयज्यूहरूले उठाउनु भएको छ, यस्ता विषयमा कसैले छुट पाउँदैन।’ 

घुस प्रकरणमा क्याबिनेट नै मुछिएको, प्रदेश सरकार प्रति नागरिकको गलत धारणा बनेको भन्दै सरकारको आलोचना गरे। 

मन्त्रीमाथि लागेको आरोपको तत्काल छानबिन गर्नुपर्ने उनको माग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad