कोशी


बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाइयो

बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाइयो

सुभाष कर्ण
बैशाख २०, २०८३ आइतबार २१:५६, जनकपुरधाम

रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोपमा पूर्ववडा सदस्य दलित महिलालाई मुलमूत्र खुवाइएको छ। 

कटहरिया–९ की करिब ५५ वर्षीया पूर्ववडा सदस्य अंकलिया देवी मुसहरिनलाई स्थानीय केही व्यक्तिहरूले बलपूर्वक मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको हो।

घटना शनिबार साँझ करिब ७ बजे डूमरिया मुसहरी टोलको हो। छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्तीमा सहभागी एक १० वर्षीय बालकले अचानक बान्ता गरेपछि त्यसैलाई निहुँ बनाएर ‘जादुटुना गरेको’ आरोप लगाउँदै केही व्यक्तिको समूहले महिलामाथि आक्रमण गर्दै अमानवीय व्यवहार गरेको थियो। 

पीडितकी छोरी सुमिला देवी मुसहरिनले भनिन्, ‘हामी आमा–छोरी मात्र घरमा रहेको बेला अचानक भीड घरभित्र केही व्यक्तिको हुल पसेर आमालाई समातेर एक बोतलमा घोलेर ल्याएको मलमूत्र जबरजस्ती खुवायो।’

विरोध गर्दा सामान्य कुटपिट समेत गरिएको उनले पीडा सुनाइन्। 

घटनापछि पुगेका इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको प्रहरी टोलीले अचेत अवस्थामा रहेकी महिलालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। उपचारपछि उनको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेका इप्रका कटहरियाका सई मोहन आले मगरले घटनालगत्तै आरोपितहरूलाई पक्राउ गर्न जाँदा स्थानीयको भीडले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको बताए। अहिले पीडितलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ भने आरोपीहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

यता इप्रका गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले घटनामा संलग्न शंकर माझी मुसहर पक्राउ गरिएको तथा अन्यको खोजी भईरहेको बताएका छन्। उनले घटनाको गम्भीर अनुसन्धान भइरहेको र दोषी जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने बताए। 

उक्त घटनामा स्थानीय पुकार माझी मुसहर, राजेन्द्र माझी मुसहर, लक्ष्मी माझी मुसहर, शंकर माझी मुसहर, सुरेन्द्र ठाकुर लोहार, गौरी साह कलवार लगायत संलग्न रहेको पीडित परिवारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad