कोशी


मनमोहन प्राविधिक विश्वविद्यालयमा फार्मेसी विद्यार्थीले लगाए ताला

मनमोहन प्राविधिक विश्वविद्यालयमा फार्मेसी विद्यार्थीले लगाए ताला

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १९:५७, विराटनगर

मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेजमा अध्ययनरत बी फार्मेसीका विद्यार्थीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। शैक्षिक तथा प्रशासनिक व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि जनाउँदै उपकुलपतिलाई माग पत्र बुझाएको भए पनि माग सम्बोधन नभएको भन्दै तालाबन्दी सहित टायर बालेर प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले विश्वविद्यालयमा चिकित्सा शिक्षा आयोग र नेपाल फार्मेसी काउन्सिलको मापदण्ड अनुसारको शैक्षिक वातावरण नभएको भन्दै उनीहरूले १६ बुँदे समस्याहरू वैशाख ८ गते नै उपकुलपति सहित कलेज प्रशासनलाई बुझाएका थिए। बुझाइएको ध्यानाकर्षण पत्रमा विद्यार्थीहरूले दक्ष र विशेषज्ञ शिक्षकहरूको अभाव हुनुका साथै काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूको संलग्नताले पठनपाठनमा प्रत्यक्ष असर पारेको उल्लेख गरेका थिए।

विद्यार्थीहरूले भौतिक पूर्वाधारको अभावलाई मुख्य समस्याका रूपमा उठाएका छन् जसमा बी फार्मेसीका लागि छुट्टै शैक्षिक भवन नहुँदा इन्जिनियरिङ ल्याब र अडिटोरियम हलमा कक्षा लिनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।

त्यस्तै फार्मेसी शिक्षाका लागि अत्यावश्यक मानिने मोडल फार्मेसीको स्थापना नभएको, विभागमा पर्याप्त पुस्तक र अध्ययन सामग्री नभएको तथा पाठ्यक्रमसमेत मनोमानी ढङ्गले परिवर्तन गरिएको उनीहरूको आरोप छ।

विद्यार्थीहरूले प्रशासनिक कर्मचारीहरूको समय तालिकामा एकरूपता नभएको र संकायमा डिन तथा विभाग प्रमुखको स्पष्ट व्यवस्थापन नहुँदा दैनिक कार्यसम्पादन र समन्वयमा कठिनाइ भइरहेको गुनासो गरेका छन्।

यसका अतिरिक्त विद्यार्थी कल्याण कोष, स्वास्थ्य सेवा कोष र व्यवस्थित छात्रावासको माग गर्दै विद्यार्थीहरूले खेलकुद सप्ताह र अन्तर्राष्ट्रिय सेमिनारहरूमा समेत स्पष्ट कार्यविधि नभएको बताएका छन्। क्यान्टिनको अव्यवस्थित अवस्था र शैक्षिक भ्रमणको समय तालिकामा देखिएको अन्यौलताले विद्यार्थीहरूमा थप निराशा पैदा गरेको पनि उनीहरूको आरोप छ। समस्या समाधानका लागि लामो समयसम्म विश्वविद्यालयले बेवास्ता गरेका कारण तालाबन्दी गर्नु परेको विद्यार्थीहरूले बताएका छन्।  

विश्वविद्यालयका उपकुलपति डा सुवास पोखरेलले विद्यार्थीका अधिकांश मागहरू पूरा गर्न सकिने प्रकृतिका भए पनि केही मागहरू राजिष्टार नहुँदा पुरा गर्न समस्या भएको बताए। विद्यार्थीहरूले उठाएको दक्ष शिक्षकको मागका सम्बन्धमा विश्वविद्यालयले पटक–पटक विज्ञापन आह्वान गरे पनि मापदण्ड अनुसारका प्राध्यापकहरू उपलब्ध हुन नसकेको बताए।  

विश्वविद्यालयमा रजिस्ट्रारको पद रिक्त हुनुले पनि समस्या समाधानमा ढिलाइ हुन पुगेको डा। पोखरेलले स्वीकार गरे। विद्यार्थीको माग सामान्य भएको र त्यसलाई सम्बोधनका कामहरू भइरहेको भए पनि विद्यार्थीहरू बाहिरी उक्साहटमा आएको हुनसक्ने कलेज प्रशासनको भनाई छ। 

प्रशासनिक र आर्थिक निर्णयहरूका लागि रजिस्ट्रार अनिवार्य हुने भएकाले छात्रावास व्यवस्थापन र स्वास्थ्य सेवा कोष जस्ता मागहरू कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ। वार्ताका लागि विद्यार्थीहरूले उपकुलपति सडकमै आउनुपर्ने सर्त राखेका कारण अहिलेसम्म उपकुलपति भित्रै थुनिएका छन्। कलेज प्रशासनको मुख्य गेटमा लगाएको ताला भने कर्मचारीहरूले नै फोडेर निस्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad