कोशी


कांग्रेसका तत्कालीन महानगर सहसचिव रास्वपाको जिल्ला सचिवमा निर्वाचित

कांग्रेसका तत्कालीन महानगर सहसचिव रास्वपाको जिल्ला सचिवमा निर्वाचित

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १४:२३, विराटनगर

नेपाली कांग्रेस विराटनगर महानगर समितिका तत्कालीन सहसचिव दिवस नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको जिल्ला सचिवमा निर्वाचित भएका छन्। लामो समय का‌ंग्रेसको संस्थापन र भ्रातृ संगठनको राजनीतिमा सक्रिय रहेका नेपाल परम्परागत दलको कार्यशैलीप्रति विद्रोह गर्दै वैकल्पिक राजनीतिको धारमा लागेका थिए।

वि.सं. २०५८/५९ सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गरेका नेपाल महेन्द्र मोरङ क्याम्पस एकाइ सचिव,  नेविसंघको जिल्ला सहसचिव हुँदै माउ पार्टी कांग्रेसको महानगर सहसचिवको जिम्मेवारीमा पुगेका थिए। कांग्रेसको संस्थागत पदीय रूपमा रहेकै बेला नेतृत्वको कार्यशैली, जनभावना र दलको प्राथमिकताबीच ठूलो खाडल देखिएपछि आफूमा तीव्र वितृष्णा पैदा भएको नेपालले बताए। नेताहरूले मञ्चमा चढेर सधैँ झुट बोल्नुपर्ने परिस्थिति बनेपछि आफूले पदमै छँदा कांग्रेसका गतिविधि र बैठकहरूबाट दूरी बढाएको उनले खुलाए।

कांग्रेस छाडेर वैकल्पिक राजनीति रोज्नुमा 'जेनजी आन्दोलन' मुख्य प्रस्थान बिन्दु बनेको नेपालको भनाइ छ। आन्दोलनका क्रममा बालबालिकाको मृत्यु भएपछि विचलित हुँदै उनले सोही दिन सामाजिक सञ्जालमार्फत कांग्रेसको पद र साधारण सदस्यता परित्यागको घोषणा गरेको सुनाए।

कांग्रेस परित्याग गरेपछि रास्वपाको नेतृत्वसँग नजिकिएका पार्टी सभापति रवि लामिछानेको राजनीतिक त्याग र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) को 'कम बोल्ने, काम धेरै गर्ने' एक्सन ओरिएन्टेड कार्यशैलीका कारण आफू यो धारमा आकर्षित भएको बताउँछन्।

पार्टी परिवर्तनलाई कांग्रेस वृत्तबाट 'अवसरवाद' को संज्ञा दिइए पनि नेपालले त्यसको कडा प्रतिवाद गरेका छन्। आफूले कुनै पद वा  संसदीय टिकटको बार्गेनिङ नगरेको, बरु निर्वाचनको चुनौतीपूर्ण समयमा रास्वपाको मोरङ, सुनसरी, धनकुटा र इलामसम्म पुगेर संगठन निर्माणमा खटिएको उनले स्पष्ट पारे। जमेर बसेको पोखरी गन्हाउने भन्दै पार्टीलाई चञ्चल बग्ने खोला बनाउन आफू लोकतान्त्रिक विधि र जिल्ला अधिवेशनमार्फत मत पाएर सचिव निर्वाचित भएको उनको जिकिर छ।

राजनीतिक रूपान्तरणसँगै नेपालको व्यावसायिक र सामाजिक आयाम पनि बलियो देखिन्छ। विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा वरिष्ठ व्यवस्थापकीय अनुभव सँगालेका उनी हाल होटल व्यवसायी हुन्। उनी मोरङ जिल्ला तेक्वान्दो संघ र लायन्स क्रिकेट एकेडेमीको अध्यक्षसमेत हुन्। दुर्गा चोकमा  उनले क्रिकेट एकेडेमीमार्फत हाल २० देखि २५ प्रतिशत आर्थिक रूपमा विपन्न तर प्रतिभावान् बालबालिकाहरूलाई निःशुल्क छात्रवृत्तिमा प्रशिक्षण दिइँदै आएका छन्।

रास्वपा मोरङको प्रथम अधिवेशनबाट जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन्। उनी संस्थापक जिल्ला सभापति हुन्।

उपसभापतिमा विमला बस्नेत निर्विरोध हुँदा सचिवमा दिवस नेपाल विजयी भएका हुन्। ९५ मत प्राप्त गर्दै नेपाल सचिवमा विजयी हुँदा सचिवका अर्का उम्मेदवार कुमार खुलालले ८५ र इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरेका थिए। सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन्।

जिल्ला समिति सदस्यमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, परमेश्वर शाह निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad