राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक विस्तारलाई तीव्रता दिँदै कोसी प्रदेशका सबै १४ वटै जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ। पार्टीको प्रथम जिल्ला अधिवेशन तथा जिल्ला भेलाहरूका क्रममा केही सीमित जिल्लामा मात्र सर्वसम्मत नेतृत्व छानिएको छ। अधिकांश जिल्लामा तीव्र प्रतिस्पर्धा र आन्तरिक चुनावी प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।
तीन जिल्लामा मात्रै सर्वसम्मत
कोसी प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभा, पाँचथर र ओखलढुंगामा मात्रै जिल्ला नेतृत्व सर्वसम्मतरूपमा चयन भएको छ।
सङ्खुवासभाको प्रथम जिल्ला अधिवेशनबाट भक्तनारायण श्रेष्ठ पुनः निर्विरोध जिल्ला सभापतिमा चयन भएका छन्। २१ सदस्यीय कार्यसमितिमा उपसभापति सुमन डाँगी, सचिव सुनिल श्रेष्ठ, कोषाध्यक्ष पवित्रा बजगाईँ र सहसचिव सन्तोष बस्नेत पनि निर्विरोध चुनिएका छन्।
पाँचथर जिल्ला सभापतिमा प्रकाश गुरुङ र ओखलढुंगामा कृष्णबहादुर थापाको नेतृत्वमा सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको छ। सोलुखुम्बुमा पनि नारायणकाजी कार्कीको नेतृत्वमा पदाधिकारीहरू निर्विरोध भएका छन्।
चुनावी रस्साकस्सी
यस्तै सुनसरीमा प्रतिनिधि विवादका कारण केहीबेर हात हालाहाल र तनावकै स्थिति सिर्जना भएको थियो। विवादकै बीच भएको निर्वाचनबाट सागर दाहाल सभापतिमा निर्वाचित भए। सुनसरीमा सभापति र उपसभापतिमा चुनाव भए पनि सचिवमा राजारामकुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी मात्र निर्विरोध भएका हुन्।
उदयपुर र खोटाङमा पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेन। उदयपुरमा भएको कडा प्रतिस्पर्धात्मक मतदानमा चित्रकुमार कार्कीले जिल्ला सभापतिमा बाजी मारे। त्यहाँ कार्कीकै प्यानलका अधिकांश पदाधिकारीहरू विजयी भएका छन्।
खोटाङ जिल्ला भेलामा पनि आकांक्षीहरू धेरै भएपछि बहुमतको आधारमा नेतृत्व छानिएको छ। डा. राजकुमार राईलाई पछि पार्दै मुकुन्दकृष्ण थापा बहुमतका आधारमा सभापति निर्वाचित भएका छन्।
झापा जिल्लामा ओमनाथ भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। तेह्रथुम जिल्लामा भने नेकपा एमालेको राजनीतिक पृष्ठभूमि भएका सुमन खत्री जिल्ला सभापति बनेका छन्।
भोजपुरको प्रथम जिल्ला अधिवेशनबाट ख्याम भुजेल जिल्ला सभापतिमा निर्वाचित हुँदा धनकुटामा भुवनकुमार तामाङ (थापा) ले नयाँ जिल्ला कार्यसमितिको जिम्मेवारी पाएका छन्। इलाममा सम्पन्न अधिवेशनबाट दिनेशकुमार महत जिल्ला सभापतिमा निर्वाचित भएका छन्।त्यस्तै ताप्लेजुङको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा राजनकुमार गुरुङ निर्वाचित भएका छन्।
कोसी प्रदेशका अधिकांश जिल्लामा सर्वसम्मतिको प्रयास असफल हुँदा तल्लो तहदेखि नै रास्वपाका जिल्ला सभापतिहरू चुनावी प्रतिस्पर्धाबाट छानिएका छन्। चुनावी प्रतिस्पर्धामा तीनवटा समूह हाबी भएको छ। संस्थापन रवि लामिछाने समूह, बालेन शाह समूह र विवेकशील साझा समूह सहितको गुटहरू बनेको नेताहरू बताउँछन्।
यसरी कोसी प्रदेशका सबै १४ जिल्लामा अधिवेशन र भेलाहरू सम्पन्न भएसँगै रास्वपाले प्रदेश अधिवेशनको तयारी थालेको छ। रास्वपा कोशी प्रदेश महासचिव लालविक्रम थापाले बुधबारको लागि प्रदेश अधिवेशन तय भएको जानकारी दिए।
Shares

प्रतिक्रिया