व्यावसायिक मानिसको हरेक कार्यले उसको करियरमा प्रत्यक्ष/अप्रत्यक्ष असर पारिरहेको हुन्छ।
त्यसैले हरेक कदम चाल्नुअघि सोचेर मात्र निर्णय गर्नु राम्रो हुन्छ। केवल एक मात्र गलत कदमले मानिसको करियर सधैंको लागि बिग्रिन सक्छ। त्यसैले स–साना कुराहरुमा पनि ध्यान दिनु जरुरी हुन्छ।
जानाजान नगरे पनि केही गल्ती मानिसको लागि महँगो पर्न सक्छ। यहाँ करियरमा नै असर पार्न सक्ने केही गल्ती उल्लेख गरिएको छ–
१. पैसालाई मात्र प्राथमिकता दिनु
तपाईंले कुनै पनि काम सुरु गर्दा पैसाको मात्र मुख हेर्नुहुँदैन। कुनै पनि व्यवसाय गर्दा होस् वा नोकरी गर्दा होस् आफू के गर्न चाहन्छु भन्ने कुरालाई प्राथमिकता दिएर काम गर्नुपर्छ। पैसालाई मात्र प्राथमिकता बनाउनाले मानिसले करियर राम्रो बन्न सक्दैन।
२. हीनताबोध हुनु
त्यस्तै गरिरहेको काममा केही कुरामा चित्त बुझेको छैन वा आफू त्योभन्दा राम्रो सेवा सुविधाको हकदार छु भन्ने लाग्छ भने पनि आफूलाई कमजोर नसोची सम्बन्धित व्यक्तिसँग कुरा राख्नुपर्छ। त्यस्तै कुनै जिम्मेवारी लिने बेलामा पनि आफूलाई कमजोर सम्झेर पर सर्ने बानीले पनि करियरमा नराम्रो असर पार्न सक्छ।
३. घुलमिल हुन नसक्नु
मित्रवत् व्यवहार देखाउनु वा साथीभाइहरुसँग घुलमिल हुनु व्यावसायिक जीवनको महत्वपूर्ण भाग हो। व्यावसायिक मानिससँगको सम्पर्कमा रहनाले तपाईंलाई धेरै अवसरहरु मिल्न सक्छ। त्यस्तै समान विचारधारा भएका मानिससँगको सम्पर्कले तपाईंलाई धेरै कुराको ज्ञान पनि हुन सक्छ। यसले आफ्नो करियर विकासमा थप सहयोग गर्न सक्छ।
४. धेरै क्षेत्रमा दिमाग चलाउनु
सबै किसिमको सीप सिक्नु राम्रो कुरा हो। तर, व्यावसायिक क्षेत्रमा भने यो राम्रो मानिँदैन। व्यावसायिक क्षेत्रमा सबैभन्दा पहिला आफूलाई मनपर्ने क्षेत्रको लागि योग्य बनाउनु र त्यसैलाई निखार्दै जाने बानीलाई राम्रो मानिन्छ।
Shares
प्रतिक्रिया