रोल्पा–५ की ३२ वर्षीया रासकुमारी बुढामगरलाई गत वैशाखमा एक्कासि देब्रे खुट्टा सुनिने र देब्रेपट्टिको पेट दुख्न थाल्यो। उनी उपचारका लागि कर्णाली प्रदेश अस्पताल जान्छिन्।
अस्पतालले सबै जाँच गरेपछि उनको मिर्गौला बिग्रिसकेको रिपोर्ट दिन्छ। उनलाई विश्वास नै लाग्दैन। १० वर्षपहिला पनि दाहिनेपट्टिको मिर्गौला बिग्रेकाले फालिसकेकी थिइन्।
त्यतिबेला बिग्रेको मिर्गौलाले स्वस्थ मिर्गौलालाई असर गर्छ भनेर फालिएको थियो। रिपोर्टमा अविश्वास लागेर उनी जाँच गराउन नेपालगञ्ज जान्छिन्, त्यहाँ पनि रिपोर्ट उही नै आउँछ।
रासकुमारीकी बहिनी काठमाडौंमा भएकाले १५ वर्षीय छोरालाई माइतमै छोडेर उनी त्यतै जान्छिन्। काठमाडौं आउँदा उनको स्वास्थ्य अवस्था निकै जटिल भइसकेका हुन्छ। सिधै भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र जान्छिन्। जहाँ उनको डायसलासिस सुरु गरिन्छ।
बहिनीसँग जोरपाटीमा बस्दै आएकी उनलाई दैनिकी चलाउन पनि निकै मुस्किल छ। सरकारले डायलासिस निशुल्क गरिदिए पनि औषधि, उपचार र खानबस्न सबै गरेर महिनामा २०/२५ हजार लाग्ने भएकाले निकै समस्या भोग्नु परेको उनी सुनाउँछिन्।
रासकुमारीले पाँच वर्षपहिला रक्त क्यान्सरका कारण श्रीमान् पनि गुमाइसकेकी छन्। श्रीमानको उपचारमा घरबार सबै बेच्नु परेकाले अहिले छोरा र उनी माइतीको भरमै बाँचिरहेका छन्।
उनलाई मिर्गौला दिन आमा, बहिनी र दुई जना भाइले कोसिस गरेका थिए। तर, तीनै जनाको म्याच भएन। एक जना भाइको मिले पनि दिर्घ रोग भएकाले दिन नमिलेको उनले सुनाइन्।
उनलाई मिर्गौला दिन इच्छुक भएकाहरुको म्याच नभएपछि प्रत्यारोपण केन्द्रले उनलाई मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिको अङ्ग लिन मिल्नेबारे बताउँछन् र उनले त्यो फारम भर्छिन्।
त्यसपछि मस्तिष्क मृत्यु भएका एक जनाको मिर्गौला उनलाई दिन केन्द्रले बोलाए पनि सबै जाँच गर्दा म्याच हुँदैन। त्यसयता अस्पतालले केही खबर नगरेको उनले सुनाइन्।
उपचारमा संलग्न चिकित्सकले बुढामगरलाई जति सक्दो चाँडो मिर्गाैला प्रत्यारोपण गर्न सुझाव दिएका छन्।
उनी भन्छिन्, ‘डाक्टरले छिटोछिटो ट्रासप्लान्ट गर्न पाए राम्रो हुन्थ्यो भन्नु हुन्छ। बुढाबुढी भए पो डायलासिस गरेर बस्ने हो तिमी त सानै उमेर छ। ट्रासप्लान्ट गर्दा राम्रो हुन्छ भन्नु हुन्छ।’
‘माइतीले यति सहयोग नगरेको भए कहिले मरिसक्थेँ होला,’ उनी भन्छिन्, ‘मलाई लास्टै गाह्रो छ। बुढालाई क्यान्सर हुँदा ३५ लाख लाग्यो बचाउन पनि सकिएन। मलाई पनि यस्तो भएको छ। मलाई केही भयो भने छोरालाई कसले हेर्छ!’
उनी मिर्गौला दान गर्ने व्यक्तिको प्रतीक्षामा छिन्।
‘मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएको कोही मान्छे भयो र आफूसँग मिर्गौला मिल्यो भने बाँच्छु होला। त्यही पनि त्यस्तो कहाँ पाउँछ होला र खोइ!’ उनी भन्छिन्।
रासकुमारी जस्तै नेपालभर सात सय ७० जना अङ्ग पाउने प्रतीक्षामा बसेका छन्।
कानुन बनेको ६ वर्षमा जम्मा ५ जनाको ब्रेन डेथपछि अङ्गदान
एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट आठ जनाले पुनर्जीवन पाउन सक्छन्।
६ वर्ष भयो कानुनले पनि मस्तिष्क मृत्युपछि अङ्गदान गर्ने व्यवस्था ल्याएको तर यसबारे जनचेतनाको कमी हुँदा हालसम्म जम्मा पाँच जना मस्तिष्क मृत्यु भएकाको अङ्गदान गरिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले जानकारी दिए।
मानव शरीरको अंग प्रत्यारोपणको (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले अङ्गदाताको दायरा फराकिलो मात्रै भएन, मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने नयाँ व्यवस्था पनि ल्यायो।
पहिले सीमित नाताभित्र मात्र अङ्गदान गर्न मिल्थ्यो भने अहिले अङ्ग प्रत्यारोपणका लागि पर्खेर बसेका परिवारमा अङ्ग मिलेन भने अर्को त्यस्तै व्यक्तिसँग साटासाट गर्ने मिल्ने व्यवस्था पनि छ।
१५ वर्षमा दुई हजार मिर्गौला प्रत्यारोपण
प्रत्येक १० जना व्यक्तिमध्ये एक जनामा मिर्गौला समस्या छ। प्रत्येक एक वर्षमा नयाँ तीन हजारको मिर्गौला फेल र एक हजारको कलेजो फेल हुने गरेको केन्द्रको नेफ्रोलोजी विभाग प्रमुख डा.कल्पना श्रेष्ठले जानकारी दिइन्।
मिर्गौला फेल हुने प्रमुख कारण भनेको मधुमेह हो र मधुमेहका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुनेको संख्या पनि बढ्दै जाने उनी बताउँछिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालभर लगभग ३५ हजार मिर्गौला रोगी छन्। तीमध्ये ६ हजार ५३४ जना हेमोडायलासिस र दुई २६ जनाले पेरिटोनियल डायलासिसको भरमा बाँच्न बाध्य छन्।
नेपलामा सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो। सरकारी र निजी गरेर १५ अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएको मन्त्रालयले बताएको छ।
अनुमति पाएका अस्पतालहरुमध्ये शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), त्रिवि शिक्षण अस्पताल, विराटनगरको नोबेल मेडिकल कलेज, ग्रान्डी, नर्भिक, किष्ट, सुमेरु, मेडिसिटी, कलेज अफ मेडिकल साइन्स चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्यारोपण भइरहेको मन्त्रालयले जनाएको छ।
पहिला निकै कम अस्पतालहरुमा मिर्गौला प्रत्यरोपण गर्ने भएकाले १५ वर्षसम्ममा मात्र दुई हजार एक सय ८० को हाराहारीमा प्रत्यारोपण गरिएको छ। तीमध्ये एक हजार प्रत्यारोपण केन्द्रमै गरिएको डा. श्रेष्ठले जानकारी दिइन्।
डा. श्रेष्ठका अनुसार सरकारी क्षेत्रमा अङ्ग प्रत्यारोपणकै लागि स्थापना भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल वार्षिक दुई सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिहेको छ। केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपण गर्दै आइरहेको छ।
के हो मस्तिष्क मृत्यु?
मस्तिष्कले पुरै काम गर्न छोडेको अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ। त्यो व्यक्ति फेरि फर्केर आउँदैन। मस्तिष्क मृत्युले दिमागको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा अपरिवर्तनीय क्षति भएको अवस्थालाई बुझाउने डा. श्रेष्ठले जानकारी दिइन।
मस्तिष्क मृत्यु भएको बिरामीलाई भेन्टिलेटरमा राखिन्छ जसले गर्दा उनीहरुको मुटु चलिरहेको हुने उनले बताइन्।
सरकारले मस्तिष्क मृत्युको घोषणा भएका व्यक्तिको अंग झिक्ने, झिकेका अंगलाई सुरक्षित रुपमा राख्ने र प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको सबै अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अंगलाई तोकिए बमोजिमको प्राथमिकताक्रम निर्धारण गर्ने समन्वय इकाइ राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई तोकेको छ।
ऐनमा बिरामीको मस्तिष्क मृत्युको घोषणा गरेपछि अस्पताल वा स्वास्थ्य केन्द्रले मस्तिष्क मृत्यु समन्वय इकाइलाई तुरुन्तै जानकारी गराउने उल्लेख छ।
तर, धेरै अस्पतालहरुले मस्तिष्क मृत्यु घोषण गरे पनि इकाइलाई जानकारी नगराएको इकाइ प्रमुखसमेत रहेकि नेफ्रोलोजिस्ट डा. श्रेष्ठले जानकारी दिइन्।
‘पश्चिमा मुलुकहरुमा ८० प्रतिशत प्रत्यारोपण हुने भनेको ब्रेन डेथ भएकाहरुको अङ्ग नै हो,’ उनले भनिन्, ‘नेपालमा दैनिक दुर्घटनाबाट मात्र ७ देखि ८ जनाको ब्रेन डेथ हुन्छ र काठमाडौं उपत्याकामा मात्र हरेक वर्ष एक हजार बढीको दुर्घटनाबाट मुत्यु हुन्छ तर हामीले ६ वर्षमा ३५ ब्रेन डेथ भएको जानकारी पायौं। हामी त्यहाँ गयौँ विभिन्न बाधाहरुले गर्दा जम्मा पाँच जनाको मात्र अङ्ग काम लाग्यो। जसबाट १० जनाको मिर्गाैला र ३ जनाको कलेजो प्रत्यारोपण गरियो।’
यो संख्या नेपालमा हुने ब्रेन डेथको तथ्यांकको अनुपातमा नगन्य हो। मस्तिष्क मृत्यु भएपछि मुटु चारदेखि ६ घण्टाभित्र, फोक्सो चारदेखि आठ घण्टा, कलेजो आठदेखि १२ र मिर्गौला २४ देखि ३६ घण्टासम्म प्रत्यारोपण गरिसक्नु पर्ने उनी बताउँछिन्।
मस्तिष्क मृत्युपछिको अङ्ग पाउन ७७० जना प्रतीक्षारत
नेपालभर मिर्गौला र कलोजो नपाएर डोनरको पर्खाइमा बस्नेको संख्या असीमित रहेको स्वास्थ्य विज्ञहरुको आकलन छ। केन्द्रमा रहेको तथ्यांक अनुसार मस्तिष्क मृत्युपछि मिर्गौला लिनका लागि प्रतीरक्षारतको संख्या ७७० जना छ।
मस्तिष्क मृत्यु भएकाहरुको अङ्ग लिनका लागि सबैभन्दा पहिला बिरामीले मस्तिष्क मृत्यु भएको व्यक्तिको अङ्ग आफ्नो अङ्गसँग म्याच भएमा आफू लिन तयार रहेको भनी अस्पतालमा मञ्जुरीनामा दिनु पर्ने केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले जानकारी दिए।
‘मञ्जुरीनामा दिएका व्यक्तिहरूमध्ये लामो समयदेखि पर्खाइमा बस्ने, मस्तिष्क मृत्यु भएका व्यक्ति र लिने व्यक्तिको उमेर समान भएमा, मस्तिष्क मृत्यु भएको र लिने व्यक्तिको अङ्गको म्याचिङ राम्रो भएमा प्रत्यारोपण गरिन्छ,’ उनले भने, ‘तर पहिलो प्राथमिकतामा भने महिलालाई राखिएको छ। प्राथमिकता निर्धारण भने नियमावलीमै गरिएको छ।’
नियमित तथा निषेध ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरे अनुसार कुनै व्यक्तिले मृत्युपश्चात अङ्गदानको घोषणा गरी मञ्जुरीनामा दिएको वा मृतकको मञ्जुरीनामा नभएको अवस्थामा परिवारको कुनै सदस्यले मृतकको शरीरको अङ्ग झिक्न मञ्जुरी दिएको अवस्थामा मात्रै अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था छ।
अहिलेसम्म दुई हजार एक सयले मात्रै मृत्युपश्चात अङ्गदान गर्ने मञ्जुरी दिएको केन्द्रका निर्देशक डा श्रेष्ठले जानकारी दिए।
सम्बन्धित निकाय नै छैन जानकार
नेपालजस्तो धेरै दुर्घटना हुने देशका लागि ब्रेन डेथपछि अङ्गदान गरिने व्यवस्था निकै प्रभावकारी हुनु पर्ने हो। तर यसबारे जनचेतना जगाउन नसक्दा प्रभावकारी हुन नसकेको केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले जानकारी दिए।
दुर्घटनालाई नजिकबाट नियाल्ने प्रहरी निकाय नै मस्तिष्क मृत्युपछि अङ्गदान गरिने नियमावली आइसकेको ६ वर्षसम्म पनि जानकार छैनन्।
‘मस्तिष्क मृत्युपछि अङ्गदानका लागि २०७३ सालमै नियमावली बनिसकेको अवस्था रहेछ तर अहिलेसम्म प्रहरीभित्र जानकारी थिएन,’ ललितपुरका एसएसपी सिद्धिबहादुर शाहले भने। समिति गठन भइसकेको र त्यस अन्तर्गत कार्य गर्नु पर्छ भने थाहा नभएको र प्रहरीका लागि नयाँ विषयवस्तु नै रहेको उनले बताए।
कुनै तालिम तथा कोर्समा मस्तिष्क मृत्युबारे नसिकाइएकाले यस्तो केस आएको भए आफू पनि अलमलमा पर्ने र अध्ययन गर्नुपर्ने अवस्था उनी बताउँछन्।
त्यस्तै वरिष्ठ न्युरो सर्जन डा.वसन्त पन्तले पनि सामान्य व्यक्तिदेखि उच्च पदमा रहेका सबैलाई मस्तिष्क मृत्युपछि अङ्गदान गर्दा खरानी भएर जाने मृत शरीरले कयौंको ज्यान बचाउन सक्छ भनेर जानकारी दिनुपर्ने बताए।
‘कुनैपनि नयाँ कुरा भन्दा पाँच पटक भन्नुपर्छ तब मात्र मान्छेले ग्रहण गर्छ,’ उनले भने, ‘यो विज्ञानले प्रमाणित गरिसकेको कुरा हो। त्यसैले हाम्रो समाजमा मस्तिष्क मृत्युपछि अङ्गदान गर्नु पर्छ भनेर एक पटक होइन पटक पटक भन्नु पर्छ। तब मान्छेले मान्छन्।’
‘मस्तिष्क मृत्यु हुनु भनेकै मानिसको मृत्यु हुनु हो तर त्यो कुरा जनता मान्न तयार छैन। किनभने मस्तिष्क मृत्यु भएको मानिसको मुटु चलिरहको हुन्छ, शरीर तातो नै हुने भएकाले परिवारले त्यो मानिसलाई मृत्यु भएको स्वीकार गर्न सक्दैन। पैसा भएसम्म परिवारले त्यसरी नै राख्न खोज्छन्,’ उनले भने, ‘तर त्यसरी राख्नुको कुनै अर्थ हुँदैन।’
मृत्यु पश्चात अङ्गदान दिने मन्जुरीनामा गरे पनि मृत्युलगत्तै मृतकका परिवारलाई अङ्ग निकाल्नु पर्छ भन्दा सशंकित हुने अवस्था रहेको उनी बताउँछन्।
डा. पन्तका अनुसार अङ्गदानमा धार्मिक कारण पनि जोडिएकाले यसलाई प्रभावकारी बनाउनका लागि धर्मगुरुहरुको समेत सहयोग जरुरी देखिन्छ। मस्तिष्क मृत्यु भएका सबैको अङ्ग प्रत्यारोपण गर्न उपयुक्त नहुने तर मस्तिष्कघात भएका र टाउकोमा चोट लागेर अकस्मात मृत्यु भएकाहरुको अङ्ग प्रत्यारोपणका लागि उपयुक्त हुने डा.पन्तले बताउँछन्।
Shares
प्रतिक्रिया