प्रायः सबैभन्दा धेरै व्यक्तिलाई प्रताडित गर्ने स्वास्थ्य समस्याहरूमध्ये माइग्रेन नै प्रमुख स्वास्थ्य समस्या हो।
अधिकांश व्यक्तिहरूलाई कहिले न कहिले कुनै समयमा टाउको दुखाई भएकै हुन्छ। कुनै बेला टाउको दुखाइ घरमा आराम गरेर हराएको हुन्छ भने कुनै बेला अस्पताल र स्वास्थ्य क्लिनिक जान बाध्य बनाएको हुन्छ। आजको यस विशेष लेखमा हामी माइग्रेनको विषयमा जानकारी गराउने छौँ।
टाउको दुखाई माइग्रेन नै हो त?
टाउको दुख्ने रोग मध्ये माइग्रेन संख्यात्मक हिसाबले अगाडि आउँछ। तर सबै टाउको दुख्ने रोग माइग्रेन नै हुँदैन। टाउको दुख्ने कारण र टाउको दुख्ने तरिका तथा टाउको दुख्ने अवधिले एक किसिमको डाइग्नोसिस गर्न सकिन्छ र माइग्रेन हो कि होइन यकिन गर्न सकिन्छ।
माइग्रेनको लक्षण तथा प्रकार
कहिलेकाहीँ टाउको दुखेको बेला रिंगटा जस्तो लाग्ने, टाउको दुख्नु अगाडि आँखा अगाडि इन्द्रधनुष जस्तो देखिने, तोरीको फूल जस्तो देखिने अथवा आँखा अगाडि कालो/पहेँलो धर्काहरू देखिने जस्तो पनि हुन सक्छ।
यस्ता लक्षणहरु धेरै बेर रहँदैनन् र लक्ष्ण हराउनासाथ टाउको दुख्न थाल्छ। माइग्रेनको टाउको दुखाइ उचाइ निचाइ (क्रिसेन्डो/डिक्रिसेन्डो) जस्तो हुन्छ। टाउको दुख्ने, समयको बीचमा नदुख्ने समयको अन्तराल पनि हुन्छ। नदुखेको समयमा आफूलाई केही नभएको जस्ता महसुस हुन्छ।
माइग्रेन कसलाई हुन सक्छ?
माइग्रेन उमेर, लिङ्गको आधारमा हुँदैन। यो रोग जसलाई पनि हुन सक्छ। यद्यपी यो रोग लाग्ने औषतमा महिला बढी हुन्छन्। प्रायः तीन महिला छन् भने एक पुरुषमा देखिएको छ। महिनावारी भइराखेको उमेरमा बढी देखिएको छ भने वंशानुगत आमा छोरीमा बढी देखिएको छ।
पहिला माइग्रेनको लक्षण नभएका तर प्रौढावस्थामा आएर माइग्रेन जस्तो लक्षण भएमा अलि सर्तकता राख्नुपर्दछ।
माइग्रेन किन हुन्छ?
माइग्रेन यो कारणले हुन्छ भन्ने ठोस प्रमाण विज्ञानसँग फेला परेको छैन। अनेक कारणहरु मध्ये साधारण भाषामा बुझ्नु पर्दा हाम्रो जीवनशैली, तनाव, वंशानुगत विशेषता, नशा भित्रका रसायन आदि धेरै चीजहरूको रोल हुन्छ।
माइग्रेन भएमा के गर्ने?
माइग्रेन छ कि छैन भन्ने कुरा पहिला यकिन गर्नु पर्छ। यहाँ उल्लेखित लक्षणसँग मिल्दो जुल्दो भएपनि माइग्रेन आफैँले अथवा गुगल तथा अन्य सर्च इन्जिन हेरेर स्वयं सेल्फ डाइग्नोसिस गर्न हुँदैन। डाक्टरसँग सल्लाह लिएर गर्नुपर्छ। माइग्रेनको उपचार निर्मुलात्मक (क्युरेटिभ) नभएर बचाव गर्ने (प्रिभेन्टिभ) हुन्छ।
यसको उपचार टाउको दुखाईको प्रकार र यसले दैनिक जीवनमाथि गरेको असरको हिसाबले हुन्छ। विद्यार्थीहरुलाई यसले गर्ने असरको आधारमा औषधिको प्रयोग गरिन्छ।
घरेलु उपचारमा जीवनशैलीको परिवर्तन, ‘ट्रिगेरिङ फ्याक्टर’हरुबाट गरिने बचाव नै प्रमुख मानिन्छ।
गम्भीर खालका टाउको दुखाइहरू र त्यसका लक्षण
सामन्यतया टाउको दुखाइलाई धेरैले गम्भीर रूपमा लिँदैनन्। तर तलको अवस्था भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ।
जस्तोकी : एक्कासी तर अत्यधिक रुपमा कडा टाउको दुखाइ भएमा, टाउको दुखाईसँगै होश हराएमा, बेहोश भएमा, टाउको दुखाइसँगै शरीरका अंगमा कमजोरी देखा परेमा, टाउको दुखाईसँगै आँखाको ज्योति गुम्दै गएमा, अथवा कुनै लक्षण जुन असामान्य लागेमा।
(डा. अभिनाष चन्द्र काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिकका सिनियर कन्सल्ट्यान्ट न्यूरोलोजिस्ट हुन्।)
Shares
प्रतिक्रिया