ad ad

साहित्य


एकविना दुनियाँ रहन्छ तर दुनियाँविना एक रहन सक्दैन– तिमीविनाको म

एकविना दुनियाँ रहन्छ तर दुनियाँविना एक रहन सक्दैन– तिमीविनाको म

उमेश अवस्थी आदर्श
साउन ३, २०७९ मंगलबार ९:४२, काठमाडौँ

तिमीवनाको म (कविता–संग्रह)

स्रष्टा : बसन्त चोधरी

प्रकाशक : मेघा चौधरी

पृष्ठ : २४२/मूल्य : ४९९ रुपियाँ

तिमीविनाको म’ कविता–सङ्ग्रहभित्रको तिमी खोज्न सकस परेपछि– मैले कविता–सङ्ग्रहलाई मनन गरे । कवि बसन्त चौधरीद्वारा रचित कविता–सङग्रह ‘तिमीविनाको म’ भित्र  ८५ वटा कविता छन्। प्रेम, अनुराग, पारिवारिक सद्भाव, परिवर्तनका साथै वर्तमान परिप्रेक्ष्यलाई समेटिएको कविता–सङ्ग्रह ‘तिमीविनाको म’ सरल भाषामा कोरिएको छ।

प्रकृतिप्रतिको प्रेम, राष्ट्रप्रतिको स्वतन्त्र चेत, काल/परिस्थितिप्रतिको दृष्टिकोण, सामाजिक कुरीतिप्रतिको असन्तुष्टि, आधुनिकताका नाममा खस्किँदो संस्कार, जीर्ण अवस्थामा रहेको भाषा र मनुष्यले आफैँले आफ्ना लागि निम्त्याएका समस्याहरूलाई उठाउँदै कवि बसन्तले आफ्नो कविता–सङ्ग्रहलाई पोषण गरेका छन्।

कवितामा नम्रता, काल्पनिकताभन्दा यथार्थतालाई चित्रण गरेका कविले भौतिक प्रेमभन्दा प्रेमको कल्पनालाई बढी जोड दिएका छन् र हृदयबाट प्रेमको मार्गलाई पवित्रताको संज्ञा दिएका छन्। अन्तर्मनका प्रेम, विरह, वेदना, मिलन र स्मृतिलाई कविले कवितामा राम्रो कोरेका छन्। सुन्दर प्रेमको कल्पना, अतृप्त रहर, पारिवारिक प्रेमले जीवनलाई दिएको उत्कर्ष, मिलनका सुखी क्षणहरूलाई कवितामा बटुलेका कवि चौधरीले जीवनमा एकजना मात्र मान्छेको अभावमा जीवन जीवित नहुने कुरा व्यक्त गर्न खोजेका छन्। 

मानव जीवन हुन पनि यस्तै हो। एक जनाको मात्र जीवनमा अपुग हुने हो जीवन अधुरो रहन्छ। झट्ट हेर्दा ‘तिमीविनाको म’ प्रेमीले प्रेमिकालाई भनेजस्तो लाग्छ। यो कविता–सङ्ग्रह पढिसक्दा भने ‘तिमीविनाको म’ अर्थात् आमाविनाको पुत्र, देशविनाको नागरिक, छोराछोरीविनाका बाआमा, प्रकृतिविनाको मनुष्य, प्रेमविनाको जीवन, सूर्यविनाको संसारलाई बिम्बित गरिएको छ। प्रविधिको प्रयोगले सिर्जना गरेको समस्या, मानवीय पीडा, भौतिक वस्तुप्रतिका मानवीय चाहनाहरू पनि कविता–सङ्ग्रहभित्रका कवितामा भेटिन्छन्।

अब यहाँ कवि बसन्तका कविताका केही हरफहरू प्रस्तुत गर्छु–

तिमी नै तिमीले भरिएको यो मन
तिमीसँग रमाएर आह्लादित छ
रोमाञ्चित छ कणकण

​तिमी भएर नै जमिन टेकेका छन् सपना
तिमी भएर नै फक्रेको छ मौसममा रङ
मुटु मुटुसँग साटिएपछिको आनन्द

तिमीले जितेको जीवनको सौभाग्य
अचम्मको छ, आनन्दको छ

यसैगरी हिँडिरहून् मेरा खुसीहरू माइलौँमाइल
तिम्रा पाउसँग !! (कामना कविताबाट)

सन्तानको मुटु केवल आमासँग साटिन्छ। प्रेमको बहकावमा प्रेमजोडीहरू सजिलै एकअर्कालाई मुटुको संज्ञा दिने गर्छन्। तर कविले यहाँ मुटु मुटुसँग साटिएको कुरा जोडेका छन्। संसारमा सबैभन्दा पहिला मुटु मातृसँग साटिन्छ। मातृ भएर नै मनुष्यको शरीरले आफ्नो खुट्टा भूमिमा टेक्छ। मातृ भएर नै सन्तानका सपनाले जमिन टेक्छन्।

कविले निःस्वार्थ भएर व्यक्त गरेका छन्– ‘मातृका पाउसँगै हिँडिरहून् माइलौँमाइलसम्म मेरा खुसी।’ यो कविको त्याग हो। कविमा यसरी नै संवेदना र भावना हुनु जरूरी हुन्छ। त्याग हुनु जरुरी हुन्छ।

बिर्सेर आफैँले टेकेको माटो

बिर्सेर आफैँले फेरेको सास

भुलेर आफैँले पिएको पानी

यही भूलले

मानवीय सभ्यतामा

उब्जाएको छ सङ्कट !! (आजको वर्तमान कविताबाट) 

वर्तमानमा मनुष्यप्रतिको गतिलो झटारो हो यो हरफ। यो हरफमा कविले चिन्ता व्यक्त गरेका छन्। वर्तमान समयको चित्रण गरेका छन्। सभ्यता, संस्कार र मानवीयतामा सङ्कट तब उत्पन्न हुन्छ, जब मनुष्यले आफ्नो धरातल बिर्सिने गर्छ। आफ्नो धरातल बिर्सिनु भनेकै माटो, पानी र सास बिर्सिनु हो। 

सन्त्रासमा सास फेरिरहेको विश्व
पलपल आत्तिएको छ,

युद्धरत छ जीवन मृत्युसँग

आँखामा आत्मीय पीडाको
आँसु बोकेर

बन्दी छ मान्छे

आफ्नै घरभित्र । (अन्योल समयको भीडबाट कविताबाट)

यो हरफका माध्यमबाट कविले इतिहासको कठोर समय कोरोनाकाललाई बिम्बित गरेका छन्। एउटा त्यस्तो समय चल्यो संसारभर। चन्द्रमामा खुट्टा टेक्ने मनुष्य आफ्नै आँखामा आत्मीयताका आँसु बोकेर आफ्नै घरभित्र बन्दी बनेको थियो। 

वर्तमान बन्दैछ नशा

साइबर बन्दैछ मान्छे
म साइबरको यौटा साइट
सरल साइबरको द्रुत सडकबाट
कठिन छ मलाई ओर्लिन

म साइबरको अर्को साइट
सञ्जालको भीडभाडबाट
गाह्रो छ मलाई निस्कन
म बेनाम खबर

भाइरल बनेको छ परिचय
सङ्कटमा छ मेरो अस्तित्व । (नशा साइबरको कविताबाट)
यो हरफ पनि वर्तमान समयमा मनुष्यहरूका लागि गतिलै झटारो हो। व्यङ्ग्य हो र यथार्थता पनि। यस्तै यस्तै यथार्थ हरफ लेखेकाले नै कवि बसन्त कवि बनेका हुन्। सामाजिक सञ्जाल तथा साइबरको चरम प्रयोगले गर्दा मनुष्यको अस्तित्व नै सङ्कटमा पर्दैछ। जीवन घनघोर बादलभित्र मडारिरहँदा पनि परिचय भाइरल बनिरहेको हुन्छ। परिचयलाई भाइरल बनाउँदै दुनियाँले आनन्द लिँदै छन्। तर भाइरल हुने व्यक्ति नै सङ्कटमा परेको हुनेछ भने कविले यहाँ भनेका छन्। जुन हरफ आजको वर्तमानको ऐना हो।

खोजेर भेटिन्न
बाहिर कतै पनि
जीवनको खुसी

त्यस्तै हो माया
जुन न हुन्छ कहिल्यै गरेर
नियतिको एक्लोपन

बीभत्स खण्डहरजस्तै छ
तर यो आवरण हो 

किनकि यसैभित्र छ
सदाबहार वसन्त । (प्रेम र नियति कविताबाट) 

खुसीहरूको भारी बोकेर आउँदैनन् जीवनमा। फेरि खुसीहरू बाहिर पनि हुँदैनन्। खुसीहरू त स्वयम् व्यक्तिभित्रै हुन्छन्। माया, माया पनि खुसी जस्तै हो। जो व्यक्तिभन्दा पर बाहिर कतै पनि हुन्न। तर यी खुसी, माया भन्ने चीज नै यस्तै हुन् कि जो मौसमका वसन्त हुन्। ऋतुको राजा वसन्त भए तापनि मौसमले त आफ्ना सबै ऋतुको प्रभाव धरतीमा छोडिरहन्छ। त्यस्तै हो जीवनमा सबैथोक भइरहन्छन्। ती सबैथोकमध्ये माया र खुसी भन्ने चिज जीवनका वसन्त ऋतु हुन्। 

रोगी र सङ्क्रमित म
युगको प्रगति हाँक्ने

सभ्यताको आनन्द बोक्ने
सङ्क्रमित समयको एकपल हुँ
जो आफैँसँग द्वन्द्वरत छ ! (सङक्रमित युगको एकपल हुँ कविताबाट)  
    युग र युगको प्रगति हाँक्ने मनुष्य स्वयंभित्र द्वन्द्वरत छ। आफैँसँग अनेक द्वन्द्व गर्दा गर्दै मनुष्यको जीवन अन्त्य हुन्छ। 

शून्यकै भविष्य लिएर
बाँचेको जीवनले

शून्यता भोग्न नपाएको
शून्यता खोस्न नपाएको
शून्यता गाउन नपाएको

के शून्यतासँग
जीवन सौन्दर्य मृत छ र! (एकान्तको चाह कविताबाट)

शून्यबाट मनुष्यको जीवन सुरु हुन्छ र शून्यमै गएर बिलिन हुन्छ । तैपनि सामान्य मानिसले आफ्नो जीवनकालमा कहिल्यै पनि शून्यता भोग्न पाउँदैनन्, शून्यता गाउन खोज्दैनन्। शून्यताको आनन्दी भनेकै सिद्धि प्राप्ति र जीवनको चरम सन्तुष्टि तथा परमात्मा प्राप्ति हो। यस कवितामा कविले चिन्ता, चिन्तनजत्तिकै चैतन्यलाई जोडेका छन्। यो नै कविको खुबी हो। कवितामा जब चिन्ता, चित्रण, चिन्तन हुँदै चैतन्यलाई सम्बोधन गरिन्छ तब कवितामा शिशिरमा पनि गुलाफको फूल फुल्छ। 

लोकतन्त्रको स्टिकर टाँसेर
गरिरहेछ तानाशाहातन्त्रको
खेती

उमार्दै छन् 
भ्रष्टाचार, बेथिति र विकृति । (हारिरहेछ देश कविताबाट)  

कवि चौधरी प्रेमलाई मात्र हैन, उहाँ आक्रोशलाई पनि कवितामा व्यक्त गर्नमा माहिर छन्। उसो त कवितामा शालीन विद्रोह हुन्छ नै। हाम्रा देश, काल परिस्थितका साथै समसामयिक राजनीतिक चरित्रलाई कविताको यस हरफले उदाङ्गो पारेको छ। नङग्याएको छ। यही हो कवि हुनुको कवित्व र कवि चेतना। राजनीतिमा मौलाएको स्वभावलाई कविले यस हरफमा राम्ररी चित्रण गरेका छन्। तैपनि कवितामा शालीन विद्रोह हुनुपर्ने भएकाले यो हरफको विद्रोह अलि बढी ठानिन्छ।

तिमी आऊ
मलाई आफ्नो बनाऊ

तिमीविना कुनै मेरो
अस्तित्व छैन

उसो त म नभए पनि
दुनियाँ रित्तिँदैन

तर तिमी नहुँदा
म रित्तिन्छु । (तिमीविनाको मेरो अस्तित्व कविताबाट) 

प्रेमको बहकाव हो या हृदयको आदर्श हो, यो हरफ छुट्याउन भने कठिन नै छ। सायद यो प्रेमको बहकाव र मोह हो। यहाँ कोहीबिना कोही रित्तिँदैन तर एकजनाबिना कोही अवश्य रित्तिन्छ। एक स्त्रीबिना पुरुषको जीवन रित्तिन्छ। एक पुरुषबिना एक स्त्रीको जीवन रित्तिन्छ । तर कोही नहुँदा पनि दुनियाँ चलि नै रहन्छ। यसो हेर्दा यो हरफमा बहकाव, मोह, आकर्षणका साथै आदर्श देखिए तापनि यो हरफ वास्तविक हरफ हो। यो नै प्राकृतिक कविता हो।  

मृत्युको प्रेममा नपरुन्जेलसम्म
तेरो र मेरोमा अल्झँदै

हरेक समय साँचेको भानमा
गुमाउँदै छौँ आफ्नै आयु । (विवशता कविताबाट) 

वर्तमानमा मनुष्यको धेरै समय अरूको चियोचर्चो गर्नमै बितेको छ। जो अरुको चियोचर्चो र अरूको वाद-उपवादमा नलागी निरन्तर आफ्नो कर्ममा खटिएका छन्। तिनीहरू सबै सफल छन्। यहाँ मृत्युलाई जीवनको अन्तिम बिन्दुका रूपमा नभई समयमा हेरौँ। कविले पनि यहाँ समयको गतिलाई लेख्न खोजेका हुन्। संसारका अधिकतर मान्छे आज वाद, उपवाद र प्रतिवादको पक्षमा होमिएका छन् तर संसारका बिरलै मान्छे अर्थात् सफल मान्छे वाद, उपवाद र प्रतिवादभन्दा पर रहेर आफ्नो कर्म गरिरहेछन्।

हामी वाद, उपवाद, प्रतिवाद मात्र नभई मपाइँत्वमा छौँ। तपाईंत्व अर्थात् मेरो–तेरो भनी हिँड्नु नै जीवन अन्धकारतर्फ मोडिनु हो। जो लाग्छ म र तँ शब्द भुली कर्ममा उही सफल हुन्छ, उसैले जोगाउँछ आफ्नो आयु र समय। जो लाग्छ तँ र म शब्दका पछाडि उसले आफैँले सिध्याउँछ आफ्नो समय र आयु। 

मनसँग हुन्न समय
अथवा सोच


कुनै कलिलो कोपिलातिर लागोस्
या कुनै पत्थरसित ठोक्कियोस्
बस् ! 

मन त मन नै हो, जता पनि बगिहाल्ने । (मन कविताबाट)

संसारमा केही पनि नभएको चिज केही छ भने त्यो मन हो। मनसँग केही पनि छैन। चिन्तनद्वारा मनलाई जहाँ लगायौँ, मन त्यही पग्लिन्छ । मनलाई चिन्तन, विचार, बुद्धि र विवेकद्वारा जहाँ लगाउँछौँ, त्यहीँ जान्छ मन। त्यहीँ बग्छ मन, त्यहीँ बहकिन्छ मन, न मनसँग समय छ। न मनसँग कुनै शब्द नै। मन त मन हो। ऊ केवल विचार र चिन्तनद्वारा बग्छ र मान्छेलाई भड्काउँछ। अनि सुरु हुन्छ जीवनमा यातनाको।

सरल भाषा लेखिएका कवि बसन्त चौधरीका कविताहरूभित्र प्रेमको माधुर्यता, हृदयको आवाज, मिलनको उत्कर्ष, बिछोडको वेदना/विरह, खुसीको मूल्य, संस्कारको औचित्य, मानवीय संवेदना, सद्भावना, राजनीतिक अवस्थाले निम्त्याएको समस्या, महामारीको सन्त्रासले मनुष्यलाई बन्दी बनाएको जर्जर अवस्थालगायतका आयाम भेटिन्छन् । तिमीबिनाको म हुनु भनेको दुनियाँबिनाको म हुनु हो। म नभए पनि दुनियाँ चल्छ तर दुनियाँ नै नभए भने म चल्न सक्दिनँ। यही कविता–सङ्ग्रहको सारगत रस हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .