बिर्सन्छु भनेर मलाई सम्झनुपर्ला
फेरि कुनै बिन्दुमा हामी भेटिनुपर्ला
उम्लेर हुँदैन मित्र दूध जसरी
फलाम हुँ भन्दै हिँड्छौँ छाती पिटेर
यो आगोमा परेपछि पग्लिनुपर्ला
डुल्दै हिँडुनुपर्ने म त्यो याद रहेछु
म त्यही आमा हुँ घरबाट निस्किएको
छोराले बोलायो भने फर्किनुपर्ला
ए फूल दिल खोलेर नमुस्कुराउन न है
फेरि कुनै भगवानका लागि भाँचिनुपर्ला
मुग्लान पस्नेसँग मन नसाट छोरी
फर्किएन भने जीवनभर पर्खिनुपर्ला
२
तिमी जुन हौ त्यो दाग हैन
यो मैले चाहेको जवाफ हैन
निदाउनुपर्नेछ चितामाथि पनि
हुन त यो आमाको काख हैन
नभेटिन सक्छन् तिम्रा तस्बिर
यो दिल हो दिल दराज हैन
उसले मागेको तिम्रो जिन्दगी हो
तिम्रो जिन्दगीको हिसाब हैन
कसैको मृत्युमा पनि हाँसिरहरेछौ
अरे पागल यो कुनै मजाक हैन
३
सोच्दा पनि जीवन हजुरबिनाको
कहालिन्छ यो मन हजुरबिनाको
लेखेकी छु एउटा नाटक जिन्दगीको
भो गरिएन मञ्चन हजुरबिनाको
चलेकै छ मुटु धमनी र सिरा
सुनिएन धड्कन हजुरबिनाको
दैलोमाथि राखे नि हजुरको तस्बिर
रितो हुन्छ आँगन हजुरबिनाको
याद आउँदा सधैँ दिल उध्रिरह्यो
हुँदै भएन जतन हजुरबिनाको
Shares
प्रतिक्रिया